काठमाडौं । ज्योति विकास बैंकले स्थापनाको १६औं वार्षिकोत्सव सम्पन्न गरेको छ । वार्षिकोत्सवका अवसरमा बैंकले परिमार्जित, परिष्कृत तथा प्रयोगकर्तामैत्री नयाँ आधिकारिक वेबसाइटको पनि औपचारिक शुरुआत गरेको छ ।
उक्त वेबसाइट प्रकाशनपश्चात् बैंकले प्रदान गरिरहेको सेवा सुविधाको जानकारीमा सहज पहुँच, अनलाइनबाटै कर्जा आवेदन दिने व्यवस्था, भिडियो बैंकिङमार्फत अनलाइनबाटै खाता खोल्ने, क्यूआर कोड लगायत विभिन्न बैंकिङ सेवाको लागि अनलाइन निवेदन दिने सुविधा सम्बन्धित सबैलाई उपलब्ध हुने बैंकले जनाएको छ ।
वार्षिकोत्सवको अवसरमा बैंकले केन्द्रीय कार्यालय परिसरमा रक्तदान कार्यक्रमसमेत आयोजना गरेको छ, जसमा कर्मचारी, ग्राहक र अन्य सर्वसाधारण गरी जम्मा ५० जनाले रक्तदान गरेका छन् ।
अध्यक्ष हरिचन्द्र खड्का तथा प्रमुख कार्यकारी अधिकृत कपिल ढकालले संयुक्त रूपमा विगत १० वर्ष तथा १५ वर्षदेखि अनवरत रूपमा कार्यरत रही योगदान दिएका २७ जना कर्मचारीलाई पदक तथा कदरपत्र प्रदान गरेका थिए ।
अध्यक्ष खड्काले बैंक सामाजिक समृद्धिको साथै कर्मचारी विकासको लागि पनि अनवरत रूपमा सक्रिय रहेको र कर्मचारी दक्षता विकासका निम्ति विभिन्न वैदेशिक लगायतका तालीममा सहभागी भएको कुरालाई उजागर गरेका थिए । उनले आगामी दिनमा पनि अझ गुणस्तरीय बैंकिङ सेवा दिँदै थप उत्कृष्ट सुविधा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे ।
त्यसैगरी, समारोहमा बैंकका प्रमुख कार्यकारी अधिकृत कपिल ढकालले बैंकका विभिन्न कार्यक्रम उपलब्धि र संस्थागत सामाजिक उत्तरदायित्वमा प्रकाश पार्दै बैंकले बोकेको उद्देश्य र ध्येय प्राप्तिमा थप सशक्त हुने प्रतिबद्धता व्यक्त गरे । उनले बैंकद्वारा उद्यमशीलता विकास, रोजगार सृजना, शीप अभिवृद्धि र समाज परिवर्तनको परिकल्पनाका साथ गरिएका विभिन्न कार्यक्रममा पनि प्रकाश पारे ।