काठमाडौं । ललितपुरमा चार जनामा हैजाको सङ्क्रमण पुष्टि भएको छ । ललितपुरको गोदावरी नगरपालिका–१४ मा रहेको सुधार केन्द्रका युवामा हैजा पुष्टि भएको हो ।
उनीहरुको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको परीक्षणमा हैजाको सङ्क्रमण पुष्टि भएको इपिडिमियोलोजी तथा महामारी व्यवस्थापन शाखाका प्रमुख डा. मुकेश पौडेलले जानकारी दिए ।
उनीहरुमध्ये दुई जना उपचारका क्रममा भागेका छन् भने अरु दुई जनामध्ये एक जना शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल र अर्को एक जनाको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।
ललितपुर जनस्वास्थ्य कार्यालयका प्रमुख डा.भुवन पौडेलले सुधार केन्द्रमा रहेका युवामा एक्कासी झाडापखाला देखिएको र परीक्षण गराउँदा हैजा पुष्टि भएको बताए । उनले झाडापखाला फैलिएको क्षेत्रमा सङ्घ, प्रदेश र पालिकाको सहयोगमा सङ्क्रमण रोकथाम गरिएको जानकारी दिए । उक्त सुधार केन्द्रमा इनारको पानी प्रयोग गरिएको र यो पानी दुषित रहेको पाइएको छ ।