काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महामन्त्रीबाट हटाइएका डा. मुकुल ढकाल निर्वाचन आयोग पुगेका छन् । आफुलाई कारबाही गर्ने पार्टीको निर्णय अवैधानिक रहेको भन्दै उनी निर्वाचन आयोग पुगेका हुन् ।
असार २५ गतेको रास्वपा केन्द्रीय समिति बैठकमार्फत आफूलाई महामन्त्री र प्रवक्ताको जिम्मेवारीबाट हटाएको जानकारी पाएको तर, हटाइएको पत्र प्राप्त नगरेको भन्दै उनले कारबाही अध्यावधिक नगर्न निर्वाचन आयोगमा निवेदन दिएका हुन् ।
‘असार २५, २०८१ मा मैले सञ्चारमाध्यमबाट मलाई पार्टी महामन्त्री, पार्टी प्रवक्ता एवं केन्द्रीय समितिको सदस्यबाट पदमुक्त गरिएको जानकारी पाएँ । यद्यपि, मैले पदमुक्तबारेमा पार्टीबाट कुनै पनि पत्र हालसम्म प्राप्त गरेको छैन,’ उनले भनेका छन्, ‘यस सम्बन्धमा यदि त्यसप्रकारको निर्णय भएको रहेछ भने त्यो अवैधानिक रहेको र त्यस अवैधानिक निर्णयलाई राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ५१ बमोजिम तीस दिनभित्र अध्यावधिक गर्नका लागि त्यस आयोगमा रास्वपाबाट कुनै पत्र आए त्यसलाई अवैधानिक ठहर गर्दै अध्यावधिक नगर्नका लागि यो पत्र पेस गरेको छु ।’
राजनीतिक दलसम्बन्धी ऐनको दफा १८ को उपदफा २ बमोजिम आफूलाई सफाइ पेस गर्ने मौका समेत नदिइएको भन्दै ढकालले राजनीतिक दलसम्बन्धी ऐन, २०७३ मा त्यस्तो व्यवस्था रहेकाले सफाइको मौका नदिई गरिएको कुनै कारबाही अवैधानिक ठहर्ने जिकिर गरेका छन् ।