काठमाडौँ । विशेष अदालतले भ्रष्टाचार मुद्दामा निलम्बित मुख्यसचिव वैकुण्ठ अर्याललाई धरौटीमा रिहा गर्न आदेश दिएको छ ।
विशेष अदालतका अध्यक्ष टेकनाराण कुँवर, न्यायाधीशहरू रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले अर्याललाई ५० हजार धरौटीमा रिहा गर्ने आदेश दिएका हुन् । यो सँगै उनी धरौटी बुझाएर रिहा भएका छन् ।
अन्तःशुल्क स्टिकरको भ्रष्टाचार मुद्दामा अर्याल आइतबार अदालत उपस्थित भएका थिए । असार ९ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन मुख्यसचिवसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सचिव हुँदा भएको अन्तःशुल्क स्टिकर छपाइमा घोटाला प्रकरणलाई लिएर अर्यालसहितका पदाधिकारीविरुद्ध अख्तियारले भ्रष्टाचारले मुद्दा दर्ता गरेको थियो ।