गुलरिया । बर्दिया राष्ट्रिय निकुञ्जमा पाटेबाघको संख्या १२५ को हाराहारीमा पुगेको छ । यो निकुञ्ज पाटेबाघका निम्ति दोस्रो ठूलो वासस्थान मानिन्छ । चितवन राष्ट्रिय निकुञ्जमा १२८ पाटेबाघ रहेको बताइएको छ ।
जैविक विविधता संरक्षणमा समुदायसँगको सहकार्यमा सफलता पाएसँगै सन् २०१० मा १८ पाटेबाघ रहेको बर्दियामा २०२२ सम्म तीन गुणा बढेको निकुञ्जका संरक्षण अधिकृत पुरुषोत्तम वाग्लेले जानकारी दिए । उनका अनुसार, बर्दिया राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा विगत दुई वर्षदेखि बाघ आक्रमणको घटना न्यून छ ।
‘अबचाहिँ बाघ संरक्षणका लागि कदम चाल्ने समय आयो’ भन्ने नारासहित आज बाघ दिवस विविध कार्यक्रम आयोजन गरी मनाइँदै छ ।
अधिकृत वाग्लेले बाघलगायत वन्यजन्तु वृद्धिसँगै यिनीहरूको वासस्थान, समुदायमा चेतना, मानव–वन्यजन्तुबीच द्वन्द्व रोक्न विद्युतीय तारबार, कंक्रिट पर्खाललगायत पूर्वाधारसँगै व्यवस्थापनमा जोड दिइएको बताए । वनजंगलको संरक्षणपछि बर्दियामा उल्लेख्य मात्रामा बाघको संख्या र खाता जैविकमार्ग एवं वनक्षेत्रमा बाघको विचरण पनि बढेको छ ।
गत वर्ष वनक्षेत्रमा बाघ र चितुवाको आक्रमणमा परी पाँचजनाको मृत्यु भएको डिभिजन वन कार्यालय बर्दियाका वरिष्ठ अधिकृत टंक गुरुङले बताए । बाघबाट वनक्षेत्रमा मानवीय क्षतिको परिमाण बढ्दै गएको छ ।
उनले भने, ‘वन्यजन्तु भएका क्षेत्रमा मानवीय गतिविधि रोक्न वन कार्यालयले विभिन्न क्याम्प गर्दै आएकाले चालु वर्षमा मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्न विभिन्न तयारी गरेको छ ।’