काठमाडौं । सामाजिक सञ्जालमा चर्चित ज्योतिष पुष्कर खतिवडा पक्राउ परेका छन् । प्रहरी नियन्त्रणबाटै उनले सामाजिक सञ्जालमार्फत आफु पक्राउ परेको जानकारी दिएका हुन् ।
एक धार्मिक अनुष्ठानमा सहभागी हुँदै गर्दा काठमाडौं प्रहरी परिसरबाट खटिएको प्रहरी टोलीले उनलाई उठाएर लगेको थियो ।
यो अनुष्ठानको प्रयोजन आपत्तिजनक भएको भन्दै प्रहरीले पक्राउ गरेको बताइएको छ ।
खतिवडाले चार दिनअगाडि नै राजनीतिक दलका नेताहरूको मृत्युको कामना गर्दै एउटा अनुष्ठान आयोजना गर्न लागेको र त्यसमा सबैले साथ दिन भन्दै भिडिओ पोष्ट गरेका थिए । भिडियो पोष्टमा आएका समर्थकका कमेन्टहरूले हौसिएका खतिवडाले आज साँच्चिकै सो अनुष्ठानको आयोजना गरेका थिए ।
केही युट्युवरहरू अनुष्ठानको भिडिओ खिच्न पुगेका थिए । खतिवडाले आफ्नो फेसबुक पेजमा समेत अनुष्ठानको लाइभ गरेका छन् । पूजा सामग्रीहरूको बीचमा प्रधानमन्त्री केपी शर्मा ओलीसहित नेताहरूको फोटो राखेर खतिवडाले मन्त्रोच्चारण गरिरहेको भिडिओमा देखिन्छ ।