काठमाडौं । संसदीय सुनुवाइ समितिबाट अस्वीकृत हुने भएपछि निर्वाचन आयोगको आयुक्तमा प्रस्तावित कृष्णमान प्रधानले आफ्नो नाम फिर्ता लिएका छन् ।
प्रधानले नाम फिर्ता लिएको भन्दै संसदीय सुनुवाइ समितिमा निवेदन दिएको समितिका सचिवसमेत रहेका संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिए ।
प्रधानबारे निर्णय लिन संसदीय सुनुवाइ समितिको बैठक बिहान ११ बजे बोलाइएको थियो । तर, कुनै पनि सांसद आफ्नो पक्षमा नदेखिएपछि प्रधानले ‘बरु म आफैँ नाम फिर्ता लिन्छु, अस्वीकृत नगरिदिनुहोस्’ भनी अनुरोध गरेका थिए । त्यसपछि समितिको बैठक साँझ ५ बजे तोकिएको थियो ।
गएको असार २ गते बसेको संवैधानिक परिषद्को बैठकले प्रधानलाई निर्वाचन आयुक्तमा नियुक्त गर्न सिफारिस गरेको थियो। उनको संसदीय समितिले सुनुवाइ गरिसकेको छ।
प्रधान यौन आचरणको विवादमा परेका कारण संविधानले तोकेको ‘उच्च नैतिक चरित्र’को मापदण्डभित्र नपर्ने निष्कर्षमा संसदीय समितिका सदस्यहरू एकमत थिए ।
उनले एक महिलालाई जागिर लगाइदिन्छु भनी यौन शोषण गरेको र पछि ठूलो रकम तिरेर अदालतको मुद्दामा मिलापत्र गरेको उजुरी तथा अन्य प्रमाणहरू संसदीय समितिमा पुगेका थिए ।
सुनुवाइ समितिले असार ७ मा प्रधानका विषयमा उजुरी आह्वान गर्दा ५ उजुरी प्राप्त भएका थिए । तीमध्ये एक महिलाले प्रधानले आफूलाई यौन शोषण गरेको व्यहोरा उल्लेख गरेका थिए ।
समितिले असार २० मा उजुरीकर्ता महिलासँग छलफल गरेको थियो। २० गते छलफल भइसकेपछि २१ गते हुने भनिएको सुनुवाइ रोकेर साउन ९ मा मात्रै समितिले बैठक गरेको थियो । साउन ९ मा समितिले प्रधानसँग छलफल गरे पनि कुनै निर्णय गर्न सकेको थिएन ।