काठमाडौं । संसदीय सुनुवाइ समितिले निर्वाचन आयुक्तमा सिफारिस कृष्णमान प्रधानको नाम अस्वीकृत गरेको छ ।
आज बसेको सुनुवाइ समितिको बैठकले प्रधानको नाम अस्वीकार गर्ने निर्णय गरेको संसदीय सुनुवाइ समिति सदस्यसमेत रहेका एमाले सचेतक सुनिता बरालले जानकारी दिए । उनले भने, ‘समितिको कार्यविधिमा स्वीकृत गर्ने वा अस्वीकृत गर्ने भन्ने व्यवस्था मात्रै रहेकाले उहाँको नाम सर्वसम्मतिले अस्वीकृत गरिएको छ ।’
बैठक बस्नुअघि नै प्रधानले निर्वाचन आयुक्तबाट नाम फिर्ता लिएको भन्दै समितिमा निवेदन दिएका थिए । समितिले सोही निवेदनलाई आधार बनाएर अस्वीकृत गर्ने निर्णय गरेको बरालले जानकारी दिए ।
प्रधानमाथि एक महिलाले यौन शोषण गरेको र अदालतमा मुद्दा दायर गरेपछि पैसा दिएर मिलापत्र गराएको भन्दै उजुरी गरेका थिए । पीडित महिला आफै संसदीय सुनुवाइ समितिमा उपस्थित भएर बयान दिएका थिए ।