काठमाडौं, १९ बैशाख ।
सचिवालय बैठकको पूर्वसन्ध्यामा नेकपाभित्र भेटवार्ता बढेको छ ।
नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र बरिष्ठ नेता माधवकुमार नेपालबीच शुक्रबार भेट भएको छ। शुक्रबार साँझ नेपाल निवास कोटेश्वरमा दुई नेताबीच नेकपाभित्र देखिएको पछिल्लो विवादबारे छलफल भएको हो। पार्टीमा आफुभन्दा जुनियर नेतालाई भेट्न आफैं जानुलाई अर्थपूर्ण रुपमा लिइएको छ ।
नेकपाभित्र गहिरिँदै गएको राजनीतिक संकटमा प्रचण्ड(नेपाल अहिलेसम्म सँगै छन्। सचिवालय बैठकमै दुवैले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजिनामा माग गरेका छन् । प्रधानमन्त्री ओलीले आफूले कोरोनाको संक्रमणबाट पार पाएपछि सत्ता छोड्ने तर प्रधानमन्त्री वामदेव गौतम बन्नुपर्ने प्रस्ताव गरेका छन्।
प्रधानमन्त्रीको यस्तो प्रस्ताव आएपछि शनिबार बस्ने सचिवालय बैठकमा कसरी प्रस्तुत हुने भन्नेबारे रणनीति बनाउन छलफल भएको हो । नेपाललाई भेट्नुअघि प्रचण्डले बालुवाटारमा प्रधानमन्त्री ओलीसँग पनि छलफल गरेका थिए ।
आफुले राजिनामा दिने लिखित प्रतिबद्धता जनाउन ओलीलाई दबाब दिने प्रचण्ड र माधव नेपाल पक्षको तयारी छ ।
उता प्रधानमन्त्री बनाउने ओलीको प्रस्तावपछि नेता वामदेव गौतम पनि आफु निकट नेता तथा कानुन व्यवसायीहरुसँग परामर्शमा लागेका छन् ।