Logo
Logo

संघीय संसदका दुबै सदनको बैठक बस्दै, यी हुन् कार्यसूची


1k
Shares

काठमाडौं । संघीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ । संसद सचिवालयका अनुसार प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे बस्ने छ भने राष्ट्रिय सभा बैठक दिउँसो सवा १ बजे बस्ने छ ।

प्रतिनिधिसभाको बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्र पढेर सुनाउने कार्यसूची छ ।

त्यसैगरी बैठकमा सभामुखले संघीय संसद्को संयुक्त बैठक र (संयुक्त समिति कार्य सञ्चालन) नियमावली, २०८० को नियम २८ को उपनियम (२) बमोजिमको राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिमा रहने सदस्यको नाम प्रस्ताव गर्ने कार्यसूची छ ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राष्ट्रियसभामा उत्पत्ति भएको सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८१ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउन प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची पनि रहेको संसद् सचिवालयले जनाएको छ ।

त्यसैगरी राष्ट्रिय सभा बैठकमा अध्यक्षले संयुक्त समितिमा सदस्यहरूको नाम मनोनयन गर्नेछन् ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले ‘तिलगंगा नेत्र विश्वविद्यालय विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची पनि रहेको संसद् सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्