काठमाडौं । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेस सांसद जीवन परियारले सरकारले विभिन्न १८ वटा देशमा राजदूत सिफारिस गर्दा समावेशीतालाई ख्याल नगरिएको भन्दै प्रश्न गरेका छन् ।
मंगलबार प्रतिनिधि सभामा आकस्मिक समय लिएर बोल्दैसांसद परियारले समावेशिताको विषय संविधानमै रहेको स्मरण गराए । ‘हिजो मात्र नेपाल सरकारले मन्त्रिपरिषदबाट एउटा निर्णय गरेको छ’, सांसद परियारले भने, ‘उक्त निर्णयमा संविधानको धारा २८२ र संविधानको धारा २८३ आकर्षित हुन्छ कि हुँदैन म सरकारसँग जोडदार माग गर्न चाहन्छु ।’
संविधानको धारा २८३ मा समावेशी सिद्धान्त बमोजिम नियुक्ति गर्नु पर्ने व्यवस्था छ । ‘संवैधानिक अंग र निकायका पदमा नियुक्ति गर्दा समावेशी सिद्धान्त बमोजिम गरिनेछ’ संविधानको धारा २८३ (१) मा छ । संविधानको यो मर्म अनुसार राजदूत सिफारिस हुनुपर्ने सांसद परियारको माग छ ।