Logo
Logo

भक्तपुर क्यान्सर अस्पतालको गम्भीर लापर्वाही


3.1k
Shares

काठमाडौं । भक्तपुर क्यान्सर अस्पतालले जनस्वास्थ्यमा गम्भीर खेलबाड गरेको पाइएको छ । अस्पतालले रेडियोथेरापी मेसिनको पुराना पारमाणविक सोर्सको व्यवस्थापन नै नगरी नयाँ सोर्स जडान गरेको हो । 

दुई वर्षदेखि थन्किएर बसेको अनुदानको थेरापी मेसिनलाई आन्तरिक स्रोत जुटाएर नयाँ सोर्स जडान गरेको अस्पतालका कार्यकारी निर्देशक डा. उज्ज्वल चालिसे जानकारी दिएका छन् । उनका अनुसार नयाँ सोर्स भारतले तीन महिनाअघि मात्रै हस्तान्तरण गरेको थियो । 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भ्रमणमा आउँदा भक्तपुर अस्पताललाई अत्याधुनिक रेडियो थेरापी मेसिन उपलब्ध गराउने घोषणा गरेका थिए । सोहीअनुसार भारत सरकारले दुई वर्षअघि उक्त मेसिन त दियो । तर, त्यसको मुख्य उपकरण पारमाणविक सोर्स भने दिएको थिएन । 

भारतले उक्त सोर्स नदिनुको एउटै मात्रै कारण थियो– पुरानो सोर्सको व्यवस्थापन नेपालले गर्न नसक्नु । यो सोर्स जनस्वाथ्यका लागि एकदमै हानिकारक हुने भएकोले पुरानो सोर्स व्यवस्थापन नगरी नयाँ सोर्स नदिने भारतले बताउँदै आएको थियो । कार्यकारी निर्देशक डा. चालिसेले पनि पुरानो सोर्स व्यवस्थापन नगरीकनै नै नयाँ सोर्स जडान गरेको स्वीकार गरेका छन् ।  

दृष्टि न्यूजसँग कुरा गर्दै उनले भने, ‘नयाँ सोर्स भारत सरकारले तीन महिनाअघि दिएको हो । पुरानो सोर्स व्यवस्थापन भइसकेको छैन । त्यसको व्यवस्थापन गर्ने करोडौँ खर्च लाग्छ । अहिले अस्पताल परिसरमै राखेका छौँ । त्यसको रेखदेख व्यवस्थापनले गरिरहेका छौँ ।’

निर्देशक डा. चालिसेले भारतलाई झुक्क्याएर नयाँ सोर्स जडान गरेको स्रोतको दाबी छ । तर, उनले भने अस्पतालमा आउने बिरामी चाप धान्न र पालो दिन महिनौँसम्म कुर्नुपर्ने बाध्यता हटाउन नयाँ सोर्स जडान गरिएको दाबी गरेका छन् । 

पारमाणविक सोर्स खतरनाक भएकाले यहाँ स्टोर गरेर राख्न नमिल्ने उनै निर्देशक चालिसे बताउँछन् । सोर्स व्यवस्थापनको लागि पहल भइरहेको भन्दै उनले भने– ‘सोर्स व्यवस्थापन गर्ने तेस्रोपाटी पनि हुन्छ । अन्तर्राष्ट्रिय परमाणु एजेन्सिहरूसँग पनि सोर्स व्यवस्थापनको लागि कुरा गरिरहेको छौँ । हामीले यहाँ स्टोर गरेर राख्न मिल्दैन ।’

सोर्स व्यवस्थापनको लागि यसअघिको दुई आर्थिक वर्षको बजेटमा सरकारले  चार/चार करोड रुपैयाँ विनियोजन समेत गरेको थियो । पहिलो वर्षमा सोर्स व्यवस्थापनको लागि टेन्डर नै नपरेको र दोस्रो वर्ष बजेट नआएको निर्देशक डा. चालिसे बताउँछन् । अहिले पनि व्यवस्थापनको लागि सरकारसँग बजेट माग गरेको उनले बताए । 

स्रोतका अनुसार पुरानो सोर्स अस्पतालको पुरानो क्यान्टिन पछाडिको ठाउँमा गाडिएको छ । जुन जनस्वास्थ्यको हिसाबले  एकदमै खतरापूर्ण छ । यसले अस्पतालमा कार्यरत कर्मचारी र वरिपरिका जनतालाई क्यान्सरको खतरा बढेको जानकारहरू बताउँछन् । 

पुरानो सोर्स इटालियन कम्पनीबाट ल्याइएको थियो ।  तर, अहिले उक्त कम्पनी नै कोल्याप्स भइसेको छ । त्यसैले पुरानो सोर्स व्यवस्थापन गर्न चुनौती बनेको छ । उक्त सोर्स ‘गुच्चा’भन्दा सानो भए पनि कहीँ फाल्न मिल्दैन । जुन कम्पनीबाट सोर्स ल्याइएको हो त्यही कम्पनीले उक्त सोर्सको गर्नुपर्ने हुन्छ । तर, अहिले उक्त कम्पनी नै कोल्याप्स भइसकेको  छ । 

खतरा के-के हुन्छ ? 

विकिरण निकाल्ने पदार्थ वा यन्त्र नै पारमाणविक तथा रेडियोधर्मी पदार्थ हुन् । तिनले अविच्छिन्न रूपमा विकिरण उत्पादन गरिरहेका हुन्छन् । कुनै एउटा रेडियोधर्मी स्रोतको १० वर्ष जीवन छ भने त्यसले लगभग ५० वर्ष विकिरण फालिरहेको हुन्छ ।

यसको सही प्रयोगले यो वरदान हुन्छ भने सही प्रयोग गर्न नसके विनाश निम्त्याउँछ । पारमाणविक तथा रेडियोधर्मी पदार्थका विकिरणले क्यान्सरको उपचार मात्रै गर्दैन, क्यान्सरको खतरा पनि बढाउँछ । 

यसको प्रयोग बमजस्ता हतियार बनाउन पनि प्रयोग हुन्छ । पारमाणविक तथा रेडियोधर्मी पदार्थलाई ‘डर्टी बम’ पनि भन्ने गरिन्छ । यो सानो हुने भएकोले कसैले निकालेर मानिसहरूको भिडमा राखिदियो भने यसले नराम्रो असर गर्छ । 

विकिरण गन्धविहीन हुन्छ र देखिँदैन । यसको असर तुरुन्तै नदेखिने भएकाले यसले थाहै नपाई जनमानसमा खतरा बनाइरहेको हुन्छ । 

सुरक्षित विसर्जन भनेको रेडियोधर्मी पदार्थको विकिरण फाल्ने समय नसकिएसम्म सुरक्षित विकिरण बाहिर नजानेसित राख्नु हो । 

रेडियोधर्मी स्रोत आयात गर्दाखेरि यसको विसर्जन गर्ने पनि सोही कम्पनीले लिने गरेको हुन्छ । निर्माता कम्पनीहरूले फिर्ता लगेर सुरक्षित विसर्जन गर्छन् । तर, भक्तपुर क्यान्सर अस्पताले ल्याएको कम्पनी नै अहिले कोल्याप्स भइसकेको छ । 

नेपालमा केही रेडियोधर्मी पनि जमिनमुनि गाडिएका छन् । भरतपुर क्यान्सर अस्पताले पनि एउटा सोर्स जंगलमा गाडेको थियो । त्यसबेला पनि उक्त कार्यको व्यापक विरोध भएको थियो । तर, भक्तपुर क्यान्सर अस्पताले भने मानव वस्तीको बिचैमा राखेकाले यसले अस्पताल वरवरको ठाउँमा खतरा बढाएको जानकारहरू बताउँछन् । यो चोरी भए अझ खतरा निम्तिने छ । 

त्यसैले यस्तो संवेदनशिल कुरामा स्वास्थ्यमन्त्री प्रदीप पौडेलेको समयमै ध्यान जानुपर्छ । उक्त पुरानो सोर्सको बेलैमा व्यवस्थापन गरे मानवस्वास्थ्यमा ठूलो असर गर्ने निश्चित छ । 

प्रतिक्रिया दिनुहोस्