काठमाडौं । काठमाडौं उपत्यकाका नदीहरुमा जलसतह बढेको छ । गएरातिदेखि भारी वर्षा भइरहँदा बागमती र यसका सहायक नदीहरु हनुमन्ते, मनोहरा, धोबीखोला, विष्णुमती, नख्खु, बल्खुखोलालगायतमा जल सतह बढेको हो ।
काठमाडौंको धोबीखोला, चाबहित र बाग्मती गौरीघाट जलमापन केन्द्रहरूमा जलसतहले सतर्कता तह पार गरेको महाशाखाले जनाएको छ । यस्तै भक्तपुरको हनुमन्ते खोलाले जगाती जलमापन केन्द्रको जलसतह सतर्कता तह पार गरेको छ ।
ललितपुरको गोदावरी खोला थाइबाको जलमापन केन्द्रमा हालको जलसतह खतराको तह पार गरेको छ । बाढी पुर्वानुमान महाशाखाले खोलाको बाढी किनारको सडकसम्म आउने र बस्ती डुबानमा पर्नसक्ने खतरा बढेको भन्दै सडक किनारबाट यात्रा नगर्न आग्रह गरेको छ । ती क्षेत्रमा रहनेहरूलाई बिहान १० बजेसम्म सुरक्षित स्थानमा रहन समेत महाशाखाको आग्रह छ ।