काठमाडौं । मोरङको उर्लाबारीमा छुरा प्रहारबाट एक युवकको हत्या भएको छ । उर्लाबारी नगरपालिका ४ का २१ वर्षीय कुशल दाहालको छुरा प्रहार गरी हत्या गरिएको हो ।
छुरा प्रहारबाट गम्भीर घाइते भएका दाहालको बिर्तामोडस्थित बी एन्ड सी अस्पतालमा उपचारका क्रममा राति ९ बजे मृत्यु भएको मोरङ प्रहरी उपरीक्षक नवराज काकीले जानकारी दिए ।
उर्लाबारी नगरपालिका–५ मा स्थित सुवास तामाङले आफ्नै घरमा छुरा प्रहार गरी दाहालको हत्या गरेको प्रारम्भिक अनुसन्धामा देखिएको काकीले बताए । घटनापछि तामाङ फरार छन् । तामाङ कर्तव्य ज्यान मुद्दामा १० वर्ष सजाय भुक्तान गरी करिब तीन महिनाअघि मात्रै छुटेका थिए ।
प्रहरीका अनुसार अपराधिक पृष्टभूमिका तामाङले २०७१ साल असोज ८ गते राति साथी नविन राईको ढुंगाले हानेर हत्या गरेका थिए । मंगलबार राति दाहालसँगै तामाङको घर पुगेका अन्य युवकहरुलाई नियन्त्रणमा लिएर सोधपुछ भइरहेकोे प्रहरीले जनाएको छ ।