काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पेरिमिटिरभित्र गत साता (२०८१ साउन ९ गते बुधबार) जहाज दुर्घटना भएपछि तत्काल उद्धारमा ढिलासुस्ती भएको प्रस्ट थियो । विमानस्थलको पेरिमिटरभित्र विमान दुर्घटना हुँदा त्यहाँ उद्धार कार्यका लागि आवश्यक पर्ने सबै व्यवस्था गरिएको हुनुपर्नेमा दमकल समेत १५ मिनेट ढिलो पुग्नुमा लापरबाही प्रस्ट थियो ।
नागरिक उड्डयन प्राधिकरणका अनुसार बिहान ११ः११ बजे जहाज दुर्घटनामा परेको हो । सिसिटिभी फुटेजमा पनि जहाज दुर्घटना भएको देख्न सकिन्छ । प्रहरीले विमान दुर्घटनामा परेको डेढ मिनेटमै थाहा पाएको थियो ।
प्रहरीले तुरुन्तै सञ्चार सेटमार्फत नागरिक उड्डयन प्राधिकरणसहित सबै निकायलाई दुर्घटनाको खबर गरिसकेको अवस्थामा विमानस्थल परिसरमा रहेका दमकल भने समयमा परिचालन हुन सकेन । उनीहरू त्यहाँ पुगिसक्दा विमान जलिसकेको थियो, विमानमा रहेका यात्रुहरूको मृत्यु भैसकेको थियो ।
विमान दुर्घटना भएको १५ मिनेटमा बल्लतल्ल दमकल दुर्घटनास्थलमा पुग्यो । दुर्घटनास्थलमा दमकल कताबाट लैजाने भन्ने छलफल गर्दागर्दै ढिला भयो भनिन्छ । दमकल चालकले गेटको चाबी खोज्न थाले, गेट तोड्न चाहेनन् ।
दुर्घटनाको कारण छानबिन समितिले खोज्ला । तर दुर्घटनास्थलमा समयमै दमकल नपुग्नुमा विमानस्थल प्रशासन र प्राधिकरणको गम्भीर लापरबाही देखिएको छ । असहज परिस्थितिमा चाबी खोज्ने होइन तोड्ने हो भन्ने विषयलाई प्रशासनिक पक्षले बुझ्न सकेन ।
आइकाओको अन्तर्राष्ट्रिय मापदण्डअनुसार विमानस्थलको पेरिमिटरभित्र विमान दुर्घटना भए कम्तीमा ५९ सेकेन्ड र बढीमा दुई मिनेटभित्र दमकल पुगिसक्नुपर्छ । तर गत बुधबार १५ मिनेटपछि दुर्घटनास्थलमा दमकल पुगेर काम गरेको पाइएको छ । करिब–करिब जहाज जलिसकेपछि दमकल पुगेको थियो ।
यसमा नेपाल नागरिक उड्डयन प्राधिकरणको नियमन र व्यवस्थापन पक्षको कमजोरी प्रस्ट देखिएको छ। ‘सेफ्टी रेगुलेसन’मा प्राधिकरण चुकेको छ । दमकल पुगेपछि पनि आगो निभाउन कम्तीमा २५ मिनेट लागेको थियो । आगो नियन्त्रणमा आउँदा करिब–करिब ११ः५५ भएको थियो । तर विमानस्थल प्रशासनले ११ः४० बजे नै नियन्त्रणमा आएको भनेर प्रचार ग¥यो ।
दुर्घटना भएको पाँच मिनेटमै नेपाली सेनाको बम डिस्पोजल टोलीका प्रमुख सेनानी (कर्णेल) रामज्योति बोहोरा परिचालित भएका थिए । उनकै टोलीले पाइलट मनिष शाक्यलाई उद्धार गरेको हो । शाक्यको उद्धार गरेर अस्पताल पुर्याउँदासम्म दुर्घटनास्थलमा दमकल पुगेको थिएन ।
प्रहरीको तर्फबाट सबैभन्दा पहिला डिएसपी सुकदेव खनालको टोली पुगेको थियो । उनको टोलीमा रहेको पाँच जनालाई नेपाल प्रहरीले पुरस्कार पनि दिइसकेको छ । पाइलट मनिष शाक्यको उद्धार ११ः३० बजे भएको थियो ।
शाक्यसँगै अन्य तीनजनालाई पनि सोही समयमा उद्धार गरी त्रिवि शिक्षण अस्पतालमा पठाइएको थियो । त्यस बेलासम्म विमानस्थलमा रहेका दमकल घटनास्थलमा नपुग्नुले गम्भीर लापरवाही भएको पुष्टि हुन्छ ।
गत जेठ २८ गते मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विमान दुर्घटना भए कसरी उद्धार गर्ने भन्ने अभ्यास गरिएको थियो । विमानस्थलमा आपत्कालीन अवस्थामा सम्बन्धित निकायले प्रभावकारी रूपमा उद्धारको काम गर्न सक्छन् कि सक्दैनन् भन्ने जाँच गर्न एयरपोर्ट इमरजेन्सी प्लानअनुसार यस्तो अभ्यास गरिएको हो ।
अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ) को एयरपोर्ट सर्भिस म्यानुअल ९८४७ अनुसार विमानस्थलको सीमाबाट ४ किलोमिटरसम्मको दुरीमा हुने हवाई दुर्घटनामा उद्धारको कमान्ड र कन्ट्रोल रेस्क्यू एण्ड फायर फाइटिङ सर्भिसेस डिभिजनले लिनु पर्छ ।
म्यानुअलअनुसार विमानस्थलको सीमाभित्र घट्ने कुनै पनि दुर्घटनामा १ देखि ३ मिनेटभित्र रेस्पोन्स गरिसक्नु पर्छ । तर, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सीमाभित्र १८ जनाको ज्यान जाने गरी सौर्य एयरको विमान दुर्घटना हुँदा रेस्क्यू एण्ड फाइर फाइटिङ डिभिजनले उद्धारका काम सुरु गर्न १२ मिनेट बढी समय लगाएको पाइएको छ ।
ठूला ढुंगा राखेर इमर्जेन्सी गेटमा अवरोध भएपछि विमानस्थलको तारबार तोडेर दमकल लैजानु परेका दमकललाई दुर्घटनास्थल पुग्न समय लागेको थियो । ‘विमानस्थलभित्र रहेको फायर प्वाइन्टबाट ५०० मिटरको दुरीमा दुर्घटना हुँदासमेत उद्धार सुरु गर्न समय लाग्नु निकै गम्भीर विषय हो,’ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका एक अधिकारीले भने, ‘सिंगापुरको विमानस्थलमा उद्धार समय घटाउन विमानस्थलभित्र विभिन्न स्थानमा फायर प्वाइन्ट बनाइएको छ । यहाँ फायरको नजिकै दुर्घटना हुँदा १५ मिनेटपछि दमकल पुग्नु ठूलो लापरबाही हो ।’
प्रोटोकलअनुसार दुर्घटना भएको २ मिनेटभित्र फायर फाइटर घटना स्थलमा पुग्दै आगो निभाउन सुरु गर्नुपर्छ । कुनै पनि दुर्घटना देख्ने बित्तिकै टावरले साइरन बजाउने गर्छ । सँगै टावरले नै फायर बाच टावरलाई खबर गर्छ । गत बुधबार साइरन बजेपछि पनि आगो लागेको ठाउँसम्म पुग्दै १५ मिनेट लाग्यो । जसले गर्दा घाइते अवस्थामा अस्पताल पुगेका ३ जना बचाउन सकिएन ।
प्रोटोकलअनुसार फायर फाइटर आगो निभाउन सुरु गरेपछि सेना र प्रहरी पुग्ने यात्रुलाई निकाल्ने काम हुन्छ । तत्काल अस्पताल पु¥याउने अवस्थाका यात्रुलाई डाक्टरको सिफारिस अस्पताल लैजाने गरिन्छ । प्रोटोकलअनुसार फायर टिम विमान उडान र अवतरण हुँदा सधैँ नै अलर्ट पोसिजनमा बस्नु पर्छ ।
विमानस्थलभित्र रहेका ३ वटा दमकलले आगो नियन्त्रणमा लिन सकेनन् । नेपाल आयल निगमको फम फाल्ने दमकल आगो नियन्त्रणमा लिन पर्याप्त भएन । रेस्क्यू एण्ड फाइर फाइटिङ डिभिजन अन्तर्गत फायर बाच टावर र विमानस्थलभित्रका अन्य पूर्वाधार प्रभावकारी नबनाएको परिणाम दुर्गति देखिएको थियो ।
संकटमा एयरलाइन्स उडान बन्द
दुर्घटनापछि शोकमा परेको यो वायुसेवाले तत्कालका लागि उडान बन्द गरेको छ । उडान सुरु गरेको ६ वर्षमा सौर्यको विमान भयानक दुर्घटनामा उच्च व्यवस्थापन तहका कर्मचारीसहित कार्यालय हाँक्ने कर्मचारीसमेत परेपछि एयरलाइन्स शोकमा डुबेको हो ।
शोकमा परेको वायुसेवाले आफ्नो अनुकूलमा केही दिन उडान नगर्नुलाई स्वाभाविक मानिन्छ । तर, यो वायुसेवालाई आर्थिक संकटसमेत परेकोले उडान व्यवस्थापन धान्न निकै मुस्किल परिरहेको थियो । एकातर्फ आर्थिक संकट गहिरिँदै जानु र अर्कोतर्फ जहाजका कर्मचारीसहितका उच्च व्यवस्थापन एकैपटक दुर्घटनामा परि निधन हुनेले यो वायुसेवाको उडान बन्द हुनु स्वाभाविक हो । यो वायुसेवासँग सीआरजे २०० नामक ५० सिट क्षमतका ३ वटा जहाजमध्ये अझै २ वटा छन् । एउटा जहाज एयरवर्दी (उडान योग्य) र अर्को एउटा भने मर्मतमै छ ।
यो वायुसेवा शोकमा डुबेकोले अर्को सूचना जारी नभएसम्को लागि उडान बन्द गरेको भए पनि यसलाई उडान गर्नमा कुनै बाधा नभएको नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले जानकारी दिएका छन् ।
हरेक ५ वर्षमा पर्यटन मन्त्रालयबाट लिनुपर्ने उडान सञ्चालनको इजाजतपत्र (लाइसेन्स)को अवधि भने सौर्य एयरलाइन्सको साउन २५ गतेसम्मलाई मात्रै छ । यो समयावधिभित्र इजातपत्र नवीकरण गराएर नेपाल नागरिक उड्डन प्राधिकरणबाट एओसी नवीकरण गराउनुपर्छ ।
नेपालको हवाई क्षेत्र सन् २०१३ देखि युरोपेली युनियन (ईयूको) कालोसूचीमा छ । युरोपेली युनियनले नेपालको वायुसेवालाई उड्डयन सुरक्षा सूची (कालोसूची)मा राखेका कारण नेपालको उड्डयन क्षेत्रमाथि अन्तर्राष्ट्रिय निकायले प्रश्न उठाइरहेका छन् ।
नेपाली वायुसेवा कम्पनीलाई ईयूले कालोसूचीमा राख्नु भनेको नेपालमा दर्ता भएका वायुसेवालाई युरोपेली मुलुकमा उडानमा रोक लाग्नु हो । यो व्यवस्थाले नेपाली वायुसेवा जोखिमपूर्ण भएकोले नचढ्न युरोपेली पर्यटकको लागि ट्राभल एड्भाइजरी जारी गरेको छ ।
नेपाली वायुसेवा कालोसूचीमा पर्नुको असर एक त अन्तर्राष्ट्रिय स्तरमा नेपालको उड्डयन छवि कमजोर हुँदै जान्छ भने अर्कोतर्फ नेपाली वायुसेवा युरोप जान पाउँदैनन् । यसको असर आन्तरिक वायुसेवामा विदेशी नचढ्ने, चढ्ने परे बिमा रकम बढी तिर्नुपर्ने, वायुसेवा कम्पनीले बिमा शुल्कमै चर्को रकम तिर्नुपर्ने, नेपालबाट बाहिर जाने उडानमा स्वीकृति नपाउने हुन्छ । कालोसूचीकै असरका कारण नेपाल वायुसेवा निगमले लामो समयदेखि युरोप, कोरिया र अस्ट्रेलिया उडान अनुमति पाएको छैन ।
क्यानका महानिर्देशक राजीनामा माग
विमानस्थल पेरिमिटरमै यत्रो ठूलो दुघर्टना हुँदा विमानस्थल प्रशासनको लापारवाही रहेको प्रष्ट भएपछि संसदीय समितिको बैठकमा नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारीलाई निलम्बन गर्न माग गरिएको थियो ।
सौर्य एयरलाइन्सको विमान दुर्घटना भएको भोलिपल्ट बिहीबार बैठक बोलाएको समितिले पर्यटनमन्त्री, नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक लगायतका अधिकारीलाई बोलाएर अधिकारीको राजीनामा माग गरिएको थियो । तत्कालीन प्रधानमन्त्री प्रचण्ड र हालका प्रधानमन्त्री केपी ओली दुवैसँग उत्तिकै सम्बन्ध रहेका अधिकारीलाई निलम्बन गर्ने त के छुन पनि सकेका छैनन् ।
अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिका सदस्य सांसद उदयशमशेर राणाले दुर्घटनाको सन्दर्भमा छानबिन आयोग बनिसकेको अवस्थामा स्वार्थ जोडिने भएकाले प्राधिकरणका महानिर्देशकलाई सरकारले निलम्बन गर्नुपर्ने माग राखेका थिए । संसदीय समितिको बैठकमा ‘दुर्घटनाको सन्दर्भमा छानबिन आयोग बनिसकेको अवस्थामा स्वार्थ जोडिन सक्ने भएकाले प्राधिकरणका महानिर्देशकलाई सरकारले निलम्बन गर्नुपर्छ,’ सांसद जबराले भनेका थिए ।
यस्तै, समितिको बैठकमा सांसद जबराले महानिर्देशक अधिकारीले जिम्मेवारी लिए यता मात्रै सात वटा जहाज दुर्घटना परिसकेको बताउँदै यसको जिम्मेवारी लिनुपर्ने धारणा राखेका थिए । ‘आन्तरिक सबैजसो एयरलाइन्सका जहाज दुर्घटनामा परेका छन्, तपाईँको नेतृत्व यता मात्र सात वटा जहाज दुर्घटनामा परिसकेका छन्’, बैठकमा सांसद जबराले महानिर्देशक अधिकारीलाई प्रश्न गर्दै भने, ‘यसको जिम्मेवारी लिनुपर्दैन? कि दोष जति सधैँ अरूलाई नै लगाउने ?’
उनले नेपालको आकाशमा आन्तरिक मात्र होइन विदेशी जहाजहरू पनि दुर्घटनामा परेका र सन् १९९६ यता साना ठूला गरी ६० वटा जहाज दुर्घटनामा परिसकेको बताउँदै ६० वटामध्ये आठ वटा विदेशी जहाज दुर्घटनामा परेको बताएका थिए ।
सांसद जबराले अन्य देशमा यस्तो भएको भए नेतृत्व आफैले राजीनामा दिन्थे वा सरकारले हटाइसक्थे भन्दै प्राधिकरणको नेतृत्व फेर्नेबारेमा सोच्ने बेला आएको तर्क गरे । यसका साथै सांसद जबराले महानिर्देशक अधिकारीको क्षमतामाथि पनि प्रश्न उठाएका थिए ।
अधिकारीले प्राधिकरणको नेतृत्व सम्हालेपछि मात्रै सात वटा हवाई दुर्घटना भइसकेको बताउँदै उनको क्षमतामाथि सांसद जबराले प्रश्न उठाएका हुन् । सांसद जबराले उनको कार्यकालमा भएका सबै हवाई दुर्घटनाको तथ्य पेस गर्दै महानिर्देशक अधिकारीलाई यसको जिम्मेवारी लिनुपर्ने भन्दै अडान राखेका थिए ।
यस्तै १८ जनाको मृत्यु हुने गरी भएको सौर्य एयरलाइन्सको दुर्घटनामा बच्चासहित बाहिरका व्यक्तिहरू कसरी परे भन्ने पर्यटन तथा अन्तर्राष्ट्रिय सम्बन्ध समितिका सभापति राजकिशोर यादवले महानिर्देशक अधिकारीलाई प्रश्न गरेका थिए । संसदीय समितिमा सौर्य एयरलाइन्सको दुर्घटना र बाहिरी व्यक्तिहरूको सहभागिताका विषयमा सभापति यादवसहितले समितिको बैठकमा प्रश्न गरेपछि महानिर्देशक अधिकारी पन्छिएका थिए ।
गत बुधबार त्रिभुवन विमानस्थलको पेरिमिटरमै सौर्य एयरलाइन्सको विमान दुर्घटना भयो । यो दुर्घटनमा परी १८ जनाको मृत्यु भयो । संयोगवश क्याप्टेन मनिष शाक्यको घाइते अवस्थामा उद्धार गरिएको छ । उनी खतरामुक्त अवस्थामा उपचार गराइरहेका छन् । सरकारले यसलाई गम्भीर रुपमा लिएर विहिबार आधा झण्डा झुकाएर राष्ट्रिय शोक मनाउने भएको छ । नेपालको हवाई दुघर्टनाका संख्या दिनानुदिन बढिरहेको छ । मानवीय क्षति हुनेगरी सौर्य एयरलाइन्सको यो पहिलो दुर्घटना हो ।
यसअघि यति एयरलाइन्सको पोखरामा २०७९ माघ १ गते दुघर्टना भएको थियो । यतिको पहिलो दुर्घटना सन् २००१ तिलिङ्टारमा डी एचसी ६÷३०० जहाज दुर्घटना भएको थियो । त्यसको ३ वर्षपछि अर्थात् सन् २००४ मा यती एयरलाइन्सको विमान लमजुङमा दुर्घटना हुँदा ३ जनाले ज्यान गुमाएका थिए ।
यस्तै सन् २००६ मा जुम्लामा यती एयरको दुर्घटना भएको थियो । उक्त दुर्घटनामा ९ जनाले ज्यान गुमाएका थिए । सन् २००६ मै यती एयरलाइसको विमान लुक्लामा दुर्घटना हुदा १९ जनाले ज्यान गुमाएका थिए । त्यही वर्ष यती डीएचसी ६÷३१० विमान बाजुरा एयरपोर्टमा दुर्घटना भएको थियो । मंगलबार भएको दुर्घटना नेपालको हवाई इतिहासको १०९औं हवाई दुर्घटना हो ।
नेपालमा पहिलो हवाई दुर्घटना बाराको सिमरामा भएको थियो । सन् १९५५ मा कालिका एयरको विमान दुर्घटना हुँदा २ जनाले ज्यान गुमाएका थिए । यस्तै, सन् १९५६ र १९५८ भारतीय एयरलाइन्सका २ विमान दुर्घटना भएका थिए । दुर्घटनामा ३४ यात्रुको ज्यान गएको थियो । यस्तै, ५ नोभेम्बर १९६० मा भैरहवामा नेपाल वायुसेवा निगमको मल्टी इन्जिन विमान दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको थियो ।
नेपालमा भएको सबैभन्दा ठूलो दुर्घटना ललितपुरमा भएको थियो । २८ सेप्टेम्बर १९९२ मा पाकिस्तान एयरलाइन्सको विमान ललितपुरको भट्टेडाँडामा दुर्घटना हुदा १७६ जनाको ज्यान गएको थियो । नेपालमा अर्को ठूलो हवाई दुर्घटना नुवाकोटको घ्याङफेदीमा ३१ जुलाई १९९२ मा भएको थियो। उक्त दुर्घटनामा ११३ जनाले ज्यान गुमाएका थिए ।
यस्तै, १९९२ मा थाई एयरको विमान दुर्घटना हुँदा ११३ जनाको ज्यान गएको थियो । सन् १९९२ मै पाकिस्तान एयरलाइन्सको विमान दुर्घटनामा १५७ जनाले ज्यान गुमाएका थिए । सन् १९९० मा लुफ्थान्सा एयरको विमान दुर्घटनामा हुँदा ५ जनाले ज्यान गुमाएका थिए ।
सन् २०१४ मा अवतरणको क्रममा टर्किस एयरको विमान दुर्घटनामा प¥यो । उक्त दुर्घटनामा मानवीय क्षति भएन । ५ नोभेम्बर १९६० मा नेपाल वायुसेवा निगमको जहाज भैरहवामा दुर्घटना हुँदा चारजनाको मृत्यु भयो । त्यसपछि सन् १९८४ सम्म निगमका जहाज ६ पटक निरन्तर दुर्घटनामा परे ।
१२ जुलाई १९६९ मा निगमको जहाज हेटौँडानजिकै दुर्घटना हुँदा ३५ यात्रुले ज्यान गुमाएका थिए । नेपालमा निगम, नेकोन एयर, एयर काष्ठमण्डप र मकालु एयरका सिंगल इन्जिनका सात जहाज दुर्घटनामा परे, जहाँ २५ यात्रुको मृत्यु भयो भने १८ जना घाइते भए । सिंगल इन्जिन जहाज दुर्गम भेगमा कार्गाे र चार्टर्ड उडान गर्दा दुर्घटनामा परेका थिए । पछिल्लो समय १६ मे २०१८ मा मकालु एयरको जहाज सिमकोटमा दुर्घटनामा परेपछि नेपालमा सिंगल इन्जिन जहाज उडानमा रोक लगाइएको थियो ।
नेपालमा अहिलेसम्म यात्रुको ज्यान जाने गरी १७ वटा हेलिकोप्टर दुर्घटना भएका छन् । नेपालमा भएको हेलिकप्टर दुर्घटनामा हालसम्म ८५ जनाले ज्यान गुमाएका छन् । नेपालमा सबैभन्दा ठुलो हेली दुर्घटना ताप्लेजुङको घुन्सामा भएको थियो । सन २००६ मा भएको श्री एयरलाइन्सको उक्त दुर्घटनामा २४ जनाको मृत्यु भएको थियो । फिस्टेल एयरको हेलिकोप्टर ८ ठाउँमा दुर्घटनामा परेको छ । अधिकांश हेलिकोप्टर दुर्घटना पहाड र हिमाली भेगमा भएको देखिन्छ । सबैभन्दा पहिले २७ डिसेम्बर १९७९ मा उच्च पदस्त व्यक्ति (भीभीआईपी) चढेको हेलिकोप्टर लाङटाङमा दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको थियो ।
–मे २०२३ः संखुवासभाको सिप्रुङमा सिम्रिक एअरको हेलिकप्टर दुर्घटनामा एक यात्रुको उद्धारका क्रममा मृत्यु
–जुलाई २०२३ः सोलुखुम्बु जिल्लामा मनाङ एअरको हेलिकप्टर दुर्घटनामा मेक्सिकोबाट सगरमाथा हेर्न आएका एकै परिवारका पाँच जनासहित छ जनाको मृत्यु
–जनवरी २०२३ः काठमाडौबाट चालकदलका चार र ६८ यात्रुसहित उडेको यती एअरलाइन्सको विमान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलनजिकै दुर्घटनामा सबै जनाको मृत्यु
–मे २०२२ – पोखराबाट जोमसोमका लागि उडेको तारा एअरको यात्रुवाहक ट्विनअटर विमान दुर्घटनामा २२ जनाको मृत्यु
–अप्रिल २०१९ – सोलुखुम्बु जिल्लाको लुक्ला विमानस्थलमा समिट एअरको एउटा विमान धावनमार्गको छेउमा रहेका दुईवटा हेलिकप्टरमा गएर ठोकिँदा तीन जनाको मृत्यु
–फ्रेबुअरी २०१९ – एअर डाइनेस्टीको हेलिकप्टर ताप्लेजुङमा पाथीभरानजिकै दुर्घटनामा पर्दा तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित सात जनाको मृत्यु
–सेप्टेम्बर २०१८ – गोर्खाबाट काठमाडौं आउँदै गरेको एल्टिट्यूड एअरको हेलिकप्टर धादिङ र नुवाकोटबीच रहेको एउटा जंगल दुर्घटनाग्रस्त, एक जापानी पर्यटक र अन्य पाँच जनाको मृत्यु
–मार्च २०१८ – बंलादेशबाट नेपाल आएको यूएस–बंगला एअरलाइन्सको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनाग्रस्त, ५१ जनाको मृत्यु
–फ्रेबुअरी २०१६ – पोखराबाट जोमसोम उडेको तारा एअरको विमान दुर्घटनाग्रस्त, २३ जनाको मृत्यु
–मे २०१५ – भूकम्पपछिको राहत तथा उद्धारकार्यमा खटिएको अमेरिकी सेनाको हेलिकप्टर चरीकोटनजिकै दुर्घटनाग्रस्त ६ अमेरिकी सैनिक, दुई नेपाली सेनाका अधिकारी र पाँच सर्वसाधारणको मृत्यु
–जुन २०१५ – सिन्धुपाल्चोकमा भूकम्पको राहत तथा उद्धारमा गएको डक्टर्स विदआउट बोर्डसले चार्टर गरेको हेलिकप्टर दुर्घटना हुँदा चार जनाको मृत्यु
–मार्च २०१५ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हुस्सुका कारण टर्किश एअरको विमान धावन मार्गबाट चिप्लिँदा चार दिन विमानस्थल बन्द
–फ्रेबुअरी २०१४– पोखराबाट जुम्ला उडेको नेपाल वायुसेवा निगमको विमान अर्घाखाँचीमा दुर्घटनाग्रस्त हुँदा १८ जनाको मृत्यु
–सेप्टेम्बर २०१२ – काठमाडौंबाट लुक्ला उडेको सीता एअरको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलनजिकै दुर्घटनाग्रस्त, विमानमा रहेका सबै १९ जनाको मृत्यु
–मे २०१२ – भारतीय तीर्थयात्री बोकेर पोखराबाट जोमसोम उडेको अग्नि एअरको विमान जोमसोम विमानस्थलनजिकै दुर्घटनाग्रस्त, १९ जनाको मृत्यु
–सेप्टेम्बर २०११ – हिमालको दृश्यावलोकन अर्थात् माउन्टेन फ्लाइटका लागि उडेको बुद्ध एअरको एउटा विमान काठमाडौं जिकै कोतडाँडामा दुर्घटनाग्रस्त; नेपाली, भारतीय, र अन्य देशका नागरिकसहित १४ जनाको मृत्यु
–डिसेम्बर २०१० – लामीडाँडाबाट काठमाडौं उडेको विमान ओखलढुंगामा दुर्घटनामा पर्दा १९ यात्री र चालकदलका तीन सदस्यको मृत्यु
–अगस्ट २०१० – काठमाडौंबाट लुक्लातर्फ उडेको विमान दुर्घटनामा पर्दा १४ जनाको मृत्यु
–अक्टोबर २००८ – लुक्ला विमानस्थलमा अवतरण गर्ने बेला दुर्घटनामा १८ जनाको मृत्यु, एक जना घाइते
–सेप्टेम्बर २००६ – संखुुवासभाको घुन्सामा श्री एअरको हेलिकप्टर दुर्घटनामा पर्दा २४ जनाको मृत्यु, मृत्यु हुनेमा वन तथा भूसंरक्षण राज्यमन्त्री गोपाल राई, संरक्षणविद् डा. हर्क गुरुङ, डा. सीबी गुरुङ, तीर्थमान मास्के