काठमाडौं । अविरल वर्षाका कारण ललितपुरका विभिन्न स्थान डुबानमा परेका छन् । ललितपुर प्रहरी परिसरका सूचना अधिकारी नरेशराज सुवेदीका अनुसार ललितपुर महानगरपालिका–९ स्थित नेकपा एमालेको कार्यालय र च्यासल फुटबल मैदान जलमग्न भएको छ ।
डुमान भएको स्थानहरुमा बुधबार बिहान १ बजेदेखि प्रहरी परिचालन गरिएको छ । उनका अनु्सार बाढीको चपेटामा परेका तीन बालक, आठ महिला र १३ पुरूषगरी ललितपुरको विभिन्न स्थानबाट २४ जनाको उद्धार गरिएको छ । अझै उद्धारकार्य जारी रहेको उनले बताए ।
ललितपुर महानगरपालिका–२ सानेपा, वडा नं ९ शंकमुल, वडा नं १ कुपण्डोल, महालक्ष्मी नगरपालिका–७ चाँगाथलीलगायत क्षेत्रमा बाढी पसेको छ । महालक्ष्मी नगरपालिका–९ लाकुरीभञ्ज्याङको सिस्नेखर्कमा पहिरो खस्दा काभ्रेपलाञ्चोकतर्फ जाने सडक अवरूद्ध भएको छ ।
बाढीका कारण गोदावरी नगरपालिका–१ दमाइटार सातथलीमा बाढी पस्दा खुकुरा फार्मका चार सयभन्दा बढी कुखुरा मरेका छन् । उक्त फार्म खड्कनन्द दाहालले सञ्चालन गरेका हुन् ।
बाढीका कारण महालक्ष्मी नगरपालिका–८ लुभुको तल्लो चौतारास्थित पिपलको बोट ढलेर सडक अवरुद्ध भएको छ । बाढी पहिरोले बागमती गाउँपालिका–३ पाङ्दुरडोल र टार्कुचेमा पहिरो खस्दा कान्तिलोकमार्ग पूर्ण रूपमा अवरुद्ध भएको भट्टेडाँडा प्रहरी चौकीका प्रमुख उद्धव महतले जानकारी दिए ।