काठमाडौं, २० बैशाख । पश्चिमा मिडियाले अनेक अड्कलबाजी गरिरहकेकै बेला उत्तर कोरियाली सर्वोच्च नेता किम जङ उन सार्वजनिक कार्यक्रममा देखिएका छन् । २० दिनसम्म सार्वजनिक नदेखिएपछि उनीमाथि विभिन्न अनुमान गरिएको थियो । यतिसम्मकी उनको मृत्यु भएको समेत भन्न भ्याएका थिए । यसैबेला उत्तर कोरियाको सरकारी सञ्चारमाध्यमले किम सार्वजनिक कार्यक्रममा सहभागी भएको जनाएको छ ।
उत्तर कोरियाको सरकारी सञ्चार संस्था केसीएनएका किम जोन उन एक रासायनिक मल उद्योगको उद्घाटन कार्यक्रममा सहभागी भएका छन् । उनले उक्त कार्यक्रममा रिबन काटिरहेको तस्बिर समेत सार्वजनिक गरिएको छ । शुक्रबार किम उपस्थित हुँदा उद्योगमा उपस्थित मानिसहरू ‘खुशीले रुन थालेको’ केसीएनएले जनाएको छ ।
१२ अप्रिलमा सरकारी सञ्चारमाध्यममा अन्तिम पटक देखिएयता किमको स्वास्थ्य अवस्थालाई लिएर विश्वव्यापी अड्कलबाजीहरू भइरहेका छन् । तर उत्तर कोरियाली सञ्चारमाध्यमले किम सार्वजनिकरूपमा देखिएको बारेमा रिपोर्टलाई स्वतन्त्र रूपमा पुष्टि भने गरिएको छैन । केसीएनएका अनुसार कार्यक्रममा किम सहभागी हुँदा उनीसँग बहिनी किम यो जङसहित थुप्रै उत्तर कोरियाली बरिष्ठ अधिकारीहरू उपस्थित थिए । उत्तर कोरियाली नेताले उत्तरी प्योङयाङ क्षेत्रस्थित एउटा उद्योगको कार्यक्रममा रिबन काटेका थिए ।
तर, यता किम सार्वजनिक रूपमा देखिएको भनिएकोबारे अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले टिप्पणी गर्न नचाहेको अन्तर्राष्ट्रिय मिडियाले जनाएका छन् । – एजेन्सी