काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी निवासमा पार्टीका कुनै पनि बैठक नराख्ने घोषणा गरेका छन्।
आज बिहान सामाजिक सञ्जालमार्फत नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्य अवस्थाले साथ दिएसम्म कुनै पनि पार्टीका बैठक सरकारी निवास बालुवाटारमा नराख्ने घोषणा गरेका हुन् ।
एमालेले आज सचिवालय बैठक बोलाएको छ । तर, सोमबार राति आएको भीषण वर्षाले पार्टी मुख्यालय च्यासलमा बाढी पसेपछि आजको बैठक होटल बसेरामा राखिएको छ ।
उनले भनेका छन्, ‘मेरो स्वास्थ्य अवस्थाले साथ दिएसम्म सरकारी निवास बालुवाटारमा पार्टीको बैठक नराख्ने जानकारी गराउँछु । आज हाम्रो पार्टीको सचिवालय बैठक छ । मनोहरा खोलामा आएको बाढीको डुबानले बैठक पार्टी कार्यालयमा बस्न नसक्ने भएका कारण यसपटक बैठक अन्यत्र राखिएको छ । यसरी नै मलाई सुझाव दिँदै जानुहोला ।’