काठमाडौं । संघीय संसद्अन्तर्गत चार समितिको बैठक आज बस्दैछ । संसद सचिवालयका अनुसार उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, विकास, आर्थिक मामिला तथा सुशासन समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्ने भएको हो ।
उद्योग समितिको बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । बैठकमा विद्युतीय व्यापार विधेयक, २०८० का सम्बन्धमा संशोधन प्रस्तावकर्तासँग छलफल हुने कार्यसूची छ ।
विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक पनि बिहान ११ बजे नै बस्दैछ । बैठकमा लोकतान्त्रिक शासन व्यवस्थाको सुदृढीकरणका लागि अनिवार्य शर्त रहेको ‘सुशासन’ र यसको प्रवर्धन गर्न ‘राष्ट्रिय सदाचार नीति’ जारी गर्ने विषयमा छलफल हुनेछ ।
बिहान ११ बजे नै बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा प्राविधिक शिक्षालय सञ्चालनका लागि सम्बन्धन स्वीकृति सम्बन्धमा परेको उजुरीका विषयमा सम्बन्धित मन्त्रालय, चिकित्सा शिक्षा आयोग र प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषदसँग छलफल हुनेछ ।
सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक दिउँसो १ बजे बस्दैछ । बैठकमा राष्ट्रिय सभामा दलित समुदायबाट प्रतिनिधित्व गर्ने सदस्यहरूसँग ‘संकल्प प्रस्ताव’ सम्बन्धमा छलफल हुने संसद् सचिवालयले जनाएको छ ।