काठमाडौं । नेपाल प्रहरीका वरिष्ठ नायब निरीक्षक (वरिष्ठ सई) को तलब बढाउन सर्वोच्च अदालतले परमादेश दिएको छ ।
बुधबार सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठ र शारङगा सुवेदीको संयुक्त इजलाशले बरिष्ठ सईका पक्षमा परमादेश जारी गरेको हो ।
सईबाट बरिष्ठ सईमा बढुवा भएकाहरुले २ सय ६२ रुपैयाँ कम तलब पाउने व्यवस्था भएपछि विनय बहादुर चन्द, रामसिंह बोहरा, विनोद बहादुर डिसी, रामबहादुर कार्की, कृष्ण कुमार यादब, चन्द्रकान्त जोगी, चन्द्र शेखर वली क्षेत्री, विश्वनाथ अधिकारी, राजु रिजाल, ईश्वर बहादुर थापा, अरुण कुमार सिंह, यज्ञराज शर्मा, राजु थापा, सूर्य भान चौधरीलगायत सर्वोच्च पुगेका थिए ।
उनीहरुले बढुवा भएकै बेलादेखिको तबल बृद्धिको माग गरी १६ पुस २०८० र १३ असार २०८१ मा दुई वटा छुट्टा–छुट्टै रिट दायर गरेका थिए । उनीहरुको मागअनुसार बुधबार सर्वोच्चले परमादेश र अन्तरिम आदेश जारी गरेको हो ।
प्रहरीको तल्लो तहमा वर्षौंसम्म बढुवा नभएको भन्दै प्रहरी नियमावली संशोभन गरेर बरिष्ठ सई, वरिष्ठ हबल्दार र सहायक हबल्दार पद सिर्जना गरिएको थियो । दुई वर्षअघि २०७९ मा मात्रै १ हजार १७१ बरिष्ठ सईको दरबन्दीमा सिनियर सईहरु बढुवा भएका थिए ।
तर वरिष्ठको तीन तारे फुली लगाएका उनीहरुले तलब भने सई हुँदा भन्दा २६२ रुपैयाँ कम पाए । सईमा ८ ग्रेड खाएकाहरुको तलब ४३ हजार ९९४ रुपैयाँ थियो, अहिले पनि त्यही छ । तर वरिष्ठ सईमा बढुवा भएपछि उनीहरुले २६२ रुपैयाँ कम अर्थात् ४३ हजार ७३२ रुपैयाँ बुझ्दै आएका छन् ।