काठमाडौं । काभा वुमन्स सन्स लिगको पहिलो खेलमा नेपालले श्रीलंकालाई ३-० को सोझो सेटमा पराजित गरेको छ ।
नेपालले श्रीलंकालाई २५-१९, २५-१८ र २५-१९ ले पराजित गरेको हो । पहिलो सेटमा एकतर्फी जित निकालेको नेपालले दोस्रो सेटमा भने केही गल्ती गर्न पुग्यो। तर श्रीलंकन टिमको रिसिभ र ब्लकमा समस्याका कारण फराकिलो अन्तरले जित्यो ।
जीतसँगै नेपालले ३ अङ्क जोडेको छ । आजको खेलमा नेपालका सुमित्रा रेग्मी र आरती सुवेदीले राष्ट्रिय टोलीबाट डेब्यु गरेका छन् । आजै अर्को खेलमा बेलुकी सवा ६ बजे इरान र भारत खेल्दैछन् ।
अब नेपालले दोस्रो खेलमा भोलि भारतसँग, तेस्रो खेलमा २ गते आइतवार माल्दिभ्ससँग र चौथो खेलमा २१ गते सोमवार इरानसँग खेल्ने तालिका छ । लिग चरणको खेलपछि शीर्ष चारमा रहने टोलीबीच सेमिफाइनल हुनेछ । लिगमा पहिलो र चौथो तथा दोस्रो र तेस्रो टोलीबीच अन्तिम चारमा प्रतिस्पर्धा हुनेछ । फाइनल खेल २३ गते बुधवार हुनेछ ।
प्रतियोगितामा नेपालसहित भारत, श्रीलङ्का, माल्दिभ्स र इरान गरी पाँच वटा देशले प्रतिस्पर्धा गर्दैछन् ।