Logo
Logo
सुदूरपश्चिम प्रदेश

मुख्यमन्त्री सोडारीले आज विश्वासको मत लिने


693
Shares

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ सोडारीले आज विश्वासको मत लिने भएका छन् । प्रदेश सभाबाट विश्वासको मत लिने विषयको पत्र बुधबार सोडारीले प्रदेशसभा सचिवालय पठाएका थिए । मुख्यमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि आज शुक्रबार अपराह्न ४ बजे प्रदेशसभा बैठक बोलाइएको छ ।

संघमा नेपाली कांग्रेस र नेकपा एमालेको सरकार बनेपछि सुदूरपश्चिममा पनि एमालेले असार २० गते प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री सोडारी अल्पमतमा परेका छन् । मुख्यमन्त्री सोडारीले विश्वासको मत नपाउने निश्चित छ । किनकि उनीसँग माओवादीका १०, नेकपा एकीकृत समाजवादी पार्टीका ४ र १ स्वतन्त्र सांसद गरी १५ सांसदको मात्रै समर्थन छ ।

विश्वासको मत प्राप्त गर्न न्युनतम २७ सांसदको समर्थन आवश्यक हुन्छ । ५३ जना सांसद रहेको सुदूरपश्चिममा नेपाली कांग्रेसका १८, नेकपा एमालेका ११ र नागरिक उन्मुक्तिमा २ सासंद छन् । विश्वास मत नपाउने निश्चित देखिएपछि सोडारीले प्रदेशसभालाई सम्बोधन गरेर राजीनामा दिने तयारी गरेको माओवादीका सांसदहरूले बताएका छन् । तर, सोडारीले त्यसबारे केही बताएका छैनन् ।

यसअघि बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल र लुम्बिनीका मुख्यमन्त्री जोखबहादुर महराले पनि प्रदेशसभालाई सम्बोधन गरेर राजीनामा घोषणा गरेका थिए ।

जेठ ६ गते नेकपा एमाले, माओवादी, नागरिक उन्मुक्ति र एक स्वतन्त्र सांसदको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका सोडारीले दुई महिना १२ दिन सरकारको नेतृत्व गर्ने अवसर प्राप्त गरे । यस बीचमा उनले चारपटक मन्त्रिमण्डल हेरफेर गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्