धनगढी । कञ्चनपुरमा एक महिलाको ज्यान लिएको बाघलाई आज नियन्त्रणमा लिइएको छ । बाघलाई शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र बर्दिया राष्ट्रिय निकुञ्जको प्राविधिक टोलीले शुत्रबार बिहान डार्ट गरेर नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) उमेश जोशीका अनुसार प्राविधिक टोलीले बाघलाई महिलामाथि आक्रमण गरेकै स्थान दोधाराचाँदनी नगरपालिका–२ को उखुबारीबाट नियन्त्रणमा लिइएको हो । बाघलाई अहिले शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालयमा राखिएको छ भने कहाँ पठाउने भन्ने विषयमा सल्लाह भइरहेको उनले बताए ।
बिहीबार बिहान घरनजिकै उखुबारीमा घाँस काट्ने क्रममा दोधारा चाँदनी नगरपालिका–२ बस्ने २३ वर्षीया हिरा शाहलाई बाघले आक्रमण गरेको थियो । शाहको घटनास्थलमै मृत्यु भएको थियो ।
तत्कालै बाघको खोजीका लागि शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट हात्तीसहितको प्राविधिक टोली खटिएको थियो । तर, बिहीबार दिनभर प्रयास गर्दासमेत बाघलाई नियन्त्रणमा लिन सकिएको थिएन ।