Logo
Logo

नागरिकको मृत्युमा पनि वर्गीय विभेद किन ?


441
Shares

जन्मेपछि सबैले मर्नै पर्छ । यो शाश्वत सत्य हो । र, नजितिने जिन्दगीको अन्तिम लडाइँ पनि हो । मृत्यु लिएरै जन्मिन्छौँ । तर, अनुभव गर्न कहिल्यै पाइँदैन । सायद, यही होला मृत्युको सौन्दर्य !

जन्मने बाटो सबैको एउटै हुन्छ– आमाको कोख । तर, मर्ने बाटो अनेक । कसै कालगतिले मर्छन् । कसै दुगर्तिले । मर्ने रहर कसैलाई हुँदैन । तर, नमरेको प्रहर हुँदैन । त्यसैले यसको भय सबैलाई हुन्छ ।

मृत्युले कहिले कसैप्रति भेदभाव गर्दैन । केही पनि हेर्दैन । सबै समान हुन्छ । अग्लो भएपनि, होचो भएपनि । धनी भएपनि, गरिब भएपनि । जमिनमा भएपनि, आकाशमा भएपनि । मृत्यु मात्र मृत्यु बन्छ । तर, राज्यले त्यही मृत्युमा पनि विभेद गरेको छ ।

पछिल्ला समय देशमा दुई ठूला दुर्घटना भए । गत असार २८ गते नारायणगढ–मुग्लिङ सडकअन्तर्गत भरतपुर महानगरपालिका–२९ सिमलतालमा दुई बस र ६५ यात्रु त्रिशूलीमा खस्यो । तीन जनाले पौडिएर ज्यान जोगाए । अझै ३८ जना बेपत्ता छन् । २४ जनाको मात्रै शव भेटिएको छ ।

बस दुर्घटनाको आलो घाउ सेलाएको थिएन । साउन ९ गते काठमाडौंमा जहाज दुर्घटना भयो । काठमाडौंबाट पोखरा उड्ने क्रममा सौर्य एयरको ९ जहाज दुर्घटना हुँदा १८ जनाको मृत्यु भयो । यी दुई दुर्घटनामा राज्यको व्यवहार आकाश पातलको फरक भयो ।

बस दुर्घटनामा हराएका आफन्तको शवका लागि नागरिक शोकमा हुँदा दलहरू सरकार जोगाउने र आफ्नो नेतृत्वमा बनाउने खेलमा व्यस्त थिए । नागरिक त्रिशूलीमा बग्दा नेताहरू सत्ताको खेलमा रमाइरहेका थिए ।

जनताले आफन्तको मृत्युमा नुन छोड्दा नेताहरूले मन्त्री÷प्रधानमन्त्रीको शपथ खाए । जनता किरियापुत्री घर छिर्दा नेता सिंहदरबार छिरे । लड्डु बाडेँ । भोजभतेर लगाए । नेताको गला खाँदा र मालाले भरिँदा जनता सेतो कपडामा बोरिए ।

सिमलतालमा बस दुर्घटना भएकै दिन जनताको आवाज उठाउने मुख्य थलो प्रतिनिधिसभा बैठक पनि बसेको थियो । तर, उक्त त्यहाँ दुर्घटनाप्रति सांसद्हरूको ध्यानै गएन । त्यस दिन तत्कालीन प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने कार्यसूची थियो ।

सोही कारण संसद् बैठकको अधिकांश समय नेताहरूले एक अर्कामाथि गाली गरेर बिताए । अहिलेसम्म पनि सरकारका कुनै पनि मन्त्रीले बस दुर्घटनाको पीडित परिवारलाई भेटेर सान्त्वना समेत दिएका छैनन् सायद ।

तर, विमान दुर्घटनामा राज्यको व्यवहार फरक देखियो । उड्ने र गुड्ने दुर्घटना सरकारले पनि आकाश र पातलको व्यवहार ग¥यो । जहाज दुर्घटना हुने बित्तिकै प्रधानमन्त्री मन्त्रीहरू लावालस्करसहित दुर्घटना स्थल पुगे । त्यही दिन प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को आकस्मिक बैठक राखे । शोक मनाउन एकदिन राष्ट्रिय झन्डा आधा झुकाइयो ।

जनता एउटै देशका । मृत्यु एकै प्रकृतिका । फरक भनेको उड्ने र गुड्नेबीचको मात्रै हो । तर, राज्यले त्यही उड्ने र गुड्नेमा फरक व्यवहार देखायो । यो विभेद हुनेखाने र हुँदा खानेबीचको हो । राज्यको विभेदकारी व्यवहारले बस दुर्घटनाका परिवारमाथि थप पीडा थपिएको छ ।

सडक मार्गमा हुने ठूला दुर्घटनामा मारिने नागरिकप्रति राज्य सधैँ असंवेदनशिल हुँदै आएको छ । यसअघि २०७९ मा काठमाडौंबाट पोखराका लागि उडेको यति एयर दुर्घटना भयो । ६८ यात्रुको निधन भए । त्यसबेला पनि सरकारले राष्ट्रिय शोक घोषणा गर्दै एकदिन सार्वजनिक बिदा दियो । त्यसबेला पनि नागरिक स्तरबाट सरकारको व्यापक आलोचना भएको थियो ।

संख्यात्मक रुपमा बस दुर्घटना निकै ठूलो हो । विमान दुर्घटनामा भौतिक क्षति बढी हुन्छ । तर मानवीय क्षति मापन गर्ने भनेको मृतकको संख्याले नै हो । जति बढी मानिसको मृत्यु भयो, त्यसबाट प्रभावित परिवारको संख्या बढी हुन्छ । ६२ भन्दा ठूलो १८ पक्कै होइन ।

जनता एउटै देशका । मृत्यु एकै प्रकृतिका । फरक भनेको उड्ने र गुड्नेबीचको मात्रै हो । तर, राज्यले त्यही उड्ने र गुड्नेमा फरक व्यवहार देखायो । राज्यको यो विभेदकारी व्यवहारले बस दुर्घटनाका परिवारमाथि थप पीडा थपिएको छ ।

सरकारले विमान दुर्घटनालाई गम्भीरतापूर्वक लिने तर सडक दुर्घटनालाई सामान्य रूपमा हेरेर विभेदकारी नीति लिएको छ । यो विभेद हुनेखाने र हुँदा खानेबीचको हो । गुड्नेमा यात्रा गर्नेलाई गरिबी र उड्नेमा यात्रा गर्नेलाई सम्पन्नता रुपमा हर्ने गरिन्छ ।

यहाँ तिनवटा वर्ग छुट्याइएको छ । निम्न, मध्यम र उच्च । सोही अनुसार व्यवहार गरिन्छ । पैसा हुनेले सम्मान पाएका छन् । नहुने अपहेलित भएका छन् । हिजोेको जातीय विभेदजस्तै आज वर्गीय विभेद छ । यो विभेद राज्यले नै गरिरहेको छ । यसको पुष्टि माथिका दुई दुर्घटनाले पनि गरेको छ ।

हिजो जात हुनेको राज थियो । आज ‘गाँठ’ हुनेको छ । आज किन सबैले डाक्टर पढ्न पाएनन् ? सबैले किन राम्रो उपचार पाएनन् ? सुत्केरी आमा र बच्चा उपचार नपाएर किन मरे ? गरिबले किन उच्च शिक्षा पढ्न सक्दैन ? विवाहको लागि किन हेरिन्छ सम्पत्ति ? यो वर्गीय असमानता हो । यसमा मुलुक चुर्लुम्म डुबेको छ ।

हिजो समाजमा जसरी तल्लो र माथिल्लो जातिअनुसार व्यवहार गरिन्थ्यो । आज त्यही परम्परा वर्गीय संस्कारमा रूपान्तरण भएको छ । हिजो दलितले बाहुनको घर पस्न आँट गर्दैन थिए । आज गरिबले महँगा अस्पताल, निजी स्कुल पस्न आँट गर्दैनन् । हिजो भनिन्थ्यो– ‘नेपालको कानुन दैवले जानुन !’ तर आज ‘नेपालको कानुन पैसाले किनुन’ भएको छ ।

परिवर्तनका नाममा गरिने भौतिक विकास मात्रै विकास होइनन् । विकास हुनका लागि सामाजिक सोचमा पनि परिवर्तन हुन जरुरी छ । साँच्चिकै विकसित अनि सभ्य समाजको परिकल्पना गर्छौ भने त्यो विभेद रहित हुनुपर्छ ।

विभेद रहित समाज तबसम्म बन्न सक्दैन जबसम्म समाजमा वर्गीय विभेद रहन्छ । वर्गीय विभेदको अन्त्य गरी समाजवाद उन्मुख समृद्ध राष्ट्र नेपाल निर्माणका लागि सबै जुट्नुपर्छ । राज्यको विभेदकारी व्यवहारविरुद्ध खबरदारी गर्न जरुरी छ । ०००

प्रतिक्रिया दिनुहोस्