रोल्पा । रोल्पामा पहिरोमा पहिरोम पुरिएर हजुरआमा र नातिनीको मुत्यु भएको छ । शुक्रबार राति माथिबाट झरेको पहिरोले देउसिंह कामीको एकतले कच्ची घर पुरिएको थियो ।
घरसँगै पुरिएर बेपत्ता रहेका हजुरआमाको शनिबार बिहान शव भेटिएको छ । ७० वर्षीया हजुरआमा बसुना सुनारको शव शनिबार बिहान पहिला फेला परेको हो । पहिरो पन्छाउने क्रममा चार वर्षीया नातिनी माया सुनारको शव पनि फेला परेको रोल्पाका प्रहरी प्रमुख डिएसपी भरत लामाले जानकारी दिए ।
सुनछहरी गाउँपालिका–४ कामी डाँडामा २४ वर्षीय देउसिंह कामीको घर पहिरोले पुर्दा उनकी आमा र छोरी बेपत्ता भएका थिए । देउसिंह र उनकी श्रीमती भने घरमा थिएनन् । उनीहरू कामको शिलशिलामा बाहिर रहेका कारण जोगिएको प्रहरीले जनाएको छ ।
घटनाबारे स्थानीयले प्रहरी चौकी सिउरीमा राति पौने १० बजेतिर जानकारी गराएका थिए । सूचना पाउनासाथ प्रहरी निरीक्षक केशरबहादुर थापाको कमाण्डमा चार जना प्रहरी घटनास्थलमा खटाइएको थियो । शनिबार बिहान घटनास्थलमा इलाका प्रहरी कार्यालय पोवाङ र सुलिचौरबाट प्रहरी निरीक्षक सन्तोष घिमिरेको कमाण्डमा थप प्रहरी खटाइएको थियो ।