Logo
Logo

‘हामी गरीबलाई कसले हेर्छ र ?’


504
Shares

मकै पोलेर बेच्न थालेको ठ्याक्कै ३५ वर्ष भयो । अझै उनी थाकेकी छैनन् । नक्सालको नागपोखरीस्थित नन्दीरात्री विद्यालयनजिक मकै बेच्दै आएकी शारदा पुन मगर भन्छिन्, ‘यही मकै पोलेकै भरमा घरमा चुलो बलेको छ ।’ उनलाई वरीपरिका व्यक्तिले ‘मकै पोल्ने दिदी’का रुपमा चिन्छन् । हिउँद–बर्खाको कुनै प्रवाह छैन शारदालाई । ‘एकदिन मकै पोलिएन भने चुलो बल्न धौ–धौ हुन्छ’, उनी भन्छिन्, ‘उमेरले ६० लागिसकेँ । खै, मेरा लागि सुखका दिन कहिले आउला ?’

पछिल्लो समय आगोको रापमा शान्तले मकै पोलेर बेच्नसमेत नपाएको उनको दुखेसो छ । ‘एक्कासी महानगरका प्रहरी आउँछन्, दुःख दिन्छन्’ उनी भन्छिन्, ‘हामी गरिबलाई गरिखान पनि सुख छैन ।’ उमेरमा ‘रंगमञ्च’मा काम गर्ने इच्छा भएपनि दुःखले त्यो रहर पूरा नभएको शारदा बताउँछिन् । यिनै ‘मकै पोल्ने दिदी’ शारदासँग रेजिना पाण्डेको जम्काभेट :

वर्षौँदेखि मकै पोल्दै आएको ठाउँबाट महानगरले हटाउँदा कतिको दुःख लाग्यो ?
दुःखको त कुरै नगर्नाेस, मन साह्रै रोएको थियो । महानगरपालिकाले मकै पोलिरहेको ठाउँमा आएर एक्कासी पानी हालेर घोप्टाइदियो । रोई–कराई गर्दा पनि सुनेनन् । उल्टै मेरो पेटमा लात्तीले हाने । यो उमेरमा अब म कहाँ जाउँ ? नाती–नातीनीलाई मैले खुवाउने ? अहिले यही स्कुल (नन्दिरात्री)कै कुनामा बसेर मकै पोलिरहेको छु । यहाँ कसैले देख्दैन । थाहा पाउने मात्र मकै किन्न आउँछन् । यहाँ खासै व्यापार हुँदैन ।

यहाँ चाहीँ महानगरपालिकाले देख्दैन ?
स्कुलको कमाउन्डभित्र भएकोले होला, त्यति वास्ता गरेको छैन । विद्यालयकै सहयोगमा ढोकाको कुनामा बसेर मकै पोलिरहेकी छु । मैले कसैलाई असर गरेकी छैन । महानगरालिकाले हामी जस्ताका लागि पनि उचित व्यवस्था गरिदिए भोको मर्न पदैन थियो । यत्तिका वर्ष सरकारी काम गरेको भए पेन्सन पाइन्थ्यो । तर, हामीलाई मकै पोेलेर बेचेको पनि देख्न सक्दैन । अरु काम पनि जानेको छैन ।

सडकपेटीमा मकै पोलेर बेच्ने काम कसरी सुरु गर्नुभयो ?
घरमा आयस्रोत केही थिएन । जिम्मेवारी थपिरहेको थियो । एकजना साथीले ‘काठमाडौं आइज, यहाँ आएर काम गर’ भनिन् । सुरुमा उसैको सहयोगमा मकै पोल्न थालेको हुँ । यही ठाउँमा मकै पोलेर बेच्न थालेको ३५ वर्ष पूरा भएछ । उमेर बितेको पत्तै भएन ।

मकै पोल्ने काम नै किन रोज्नुभयो ?
पढे लेखेको थिइनँ । चिनजानका कोही थिएनन् । हामी गरीबलाई कसले मद्दत गर्छ र ? त्यसैले थोरै लगानीमा मकै पोल्ने काम सही लाग्यो ।

मकै बेच्न सुरु गर्दा एक घोघाको कति लिनु हुन्थ्यो ?
सुरुमा दुई रुपैयाँमा बेच्थेँ । अहिले ३० देखि ३५ रुपैयाँसम्ममा बेच्छु । पहिला त दिनमा सय वटासम्म बेच्थेँ । तर, अहिले दिनमा बीस घोघा बेच्न धौं–धौैं छ ।

मकै पोलेर बेच्न पनि दुःख है ?
दुःख छ नि । बिहान चार बजे उठ, कालिमाटीबाट मकैको भारी बोकेर ल्याउ, दाउरा खोज, तातो घामको रापमा बस्दा कति पिडा हुन्छ भन्ने कसलाई के थाहा ? घाम, झरीको वास्ता नगरी काम गर्नुपर्छ । आज थाकेँ, जिउ दुख्यो भन्न पाइदैन । मकै पोलेरै आँखा खराब भइसक्यो । जीवन यस्तै रहेछ ।

घरमा कमाउने अरु को–को हुनुहुन्छ ?
कोही छैन । मै हुँ । छोराहरू लाखा–पाखा लागिसके । श्रीमानले मद्दत गर्दैनन् । बुहारी पोइल गई । चिचिला नाती–नातीनी छन् । अब त छोराहरूले केही गर्लान् र सुख होला कि भनेको, झन दःुख । उनीहरूलाई पढाउन, खान दिनलाई पनि राम्रोसँग सकेको छैन ।एकजोर कपडा पनि राम्रो किनेर लगाउन सकेकी छैन ।

तपाईँको दैनिक कमाई कति हुन्छ ?
पहिला त चार÷पाँच सय हुन्थ्यो । अहिले दुईसय कमाउन पनि गाह्रो छ । तर, सबै यही मकै पोलेको कमाइले अहिलेसम्म पुराएकी छु । अब के हुन्छ थाहा छैन ।

३५ वर्ष मकै बेचेर अलिअलि त सम्पत्ति जोड्नुभएको होला नि ?
बिहान कमायो, साँझ खायो के सम्पत्ति जोड्नु । उमेरमा कमाएको धन सन्तानकै लालन–पालनमा सबै सिद्धियो ।

बुढेसकालको लागि के सोच्नुभएको छ ?
आजसम्म केही सोचेको छैन । दिनको गुजरा, दिनै चलिरहेको छ । के सोच्नु ? पेन्सन आउँदैन । कुनबेला महानगर प्रहरीले पोलिरहेको मकैमा पानी हाल्दिन्छन्, थाहा हुन्न ।

यो बाटो ‘ठूलाबडा’हरू पनि धेरै हिड्छन् । गाडीबाट ओर्लेर तपाईंले पोलेको मकै खाएका छन् कि छैनन् ?
यो बाटो राष्ट्रपतिदेखि मन्त्री, व्यापारी सबै हिँड्छन । तर, कसैले आजसम्म गाडीबाट ओर्लेर मेले पोलेको मकै किनेर खाएका छैनन् । र, तिमीलाई कस्तो छ भनेर सोधेका पनि छैनन् ।

उहाँहरूप्रति तपाईंको भनाइ के छ ?
देशका ठूला व्यक्तिहरू धेरै यो बाटो आहोरदोहोर गर्छन् । मेरो यो ठाउँमा आएर मैले पोलेको मकै खाईदिइइोस भन्ने लाग्छ ।

तपार्इँलाई थाहा छ, अहिले देशमा प्रधानमन्त्री को छ ?
खोई, थाहा छैन । हामीलाई केही गर्ने होइन । जाने बुझेर पनि के गर्ने ? मकै नपोली गुजारा चल्दैन ।

तपाईँले भोट दिनुभएको छ कि छैन ?
पहिला–पहिला दिएँ । अहिले दिनै मन लाग्दैन । धेरै भयो मैले भोट हालेको छैन ।

तपाईँ सिनेमा हेनुहुन्छ ?
खासै हेर्दिनँ । पहिला पहिला नाटकहरू धेरै हेर्थेँ । हिन्दी सिनेमा पनि कुनै बेला हेर्थेँ । हिन्दी फिल्मकी हिरोइन रेखा मलाई खुवै मनपर्छ ।

अनि नेपाली फिल्मको हिरोइन नि ?
नेपाली फिल्म नै हेरेको छैन । नेपाली फिल्मका कोही हिरोइन चिन्दिनँ ।

प्रतिक्रिया दिनुहोस्