यस वर्षको साउन महिना नेपालको पर्यटन उद्योगका लागि निकै दुःखदायी र पीडादायी रह्यो । केही दिनको अन्तरालमा पर्यटन क्षेत्रका दुई अग्रणी व्यक्तित्वहरू अम्बिका श्रेष्ठ (होटल द्धारिका) र श्यामबहादुर पाण्डे (होटल सांग्रिला)को दुःखद निधनले सिंगो पर्यटन क्षेत्र शोकाकूल बन्यो ।
श्यामबहादुर पाण्डे सैनिक परिवारमा जन्मे पनि केही वर्ष तत्कालीन श्री ५ को सरकारको गृह मन्त्रालयमा शाखा अधिकृत भइ काम गर्नुभयो । र, पछि स्वेच्छिक अवकाश लिएर निजी व्यवसायतिर अग्रसर हुनुभयो ।
उहाँ एक अत्यन्त मिजासिला र सबैप्रति सद्भाव राख्ने हँसिलो व्यक्तित्व हुनुहुन्थ्यो । घरेलु चेन होटल सांग्रिलाका संस्थापक अध्यक्ष पाण्डेमा कहिल्यै पनि अहम् थिएन । यो पंक्तिकारले स्व. पाण्डेसित कहिले उहाँको कार्यकक्षमा, कहिले साम्वला गार्डेनमा, कहिले कन्फ्रेन्स हलमा बिताएका रमाइला क्षणहरू झलझल्ती सम्झिरहेको छु ।
कुराकै सिलसिलामा एक पटक उहाँलाई तपाईं यो क्षेत्रमा कसरी प्रवेश गर्नुभयो ? भनेर प्रश्न गर्दा उहाँले हाँस्दै मनको कुरा गर्नुभयो, जाबो शाखा अधिकृतको तलवले परिवार राम्ररी चलाउन नसकिने देखेपछि आफैँ केही व्यवसाय गर्ने विचारले सरकारी नोकरीबाट राजीनामा दिए ।
चिनियाँ सहयोगमा बन्दै गरेको सुनकोशी जलविद्युत परियोजनालाई चाहिने सामानहरूको सप्लाई गर्न थालेँ । र, त्यससँगै चीनको स्वशासित क्षेत्र तिब्बतमा खाद्यान तथा जुट बोराको सप्लाई पनि सुरु गरेँ । पछि टेलिकम क्षेत्रमा हात हाले । विश्व प्रसिद्ध अल्काटेललाई उनले नेपाल भित्र्याए । जसले नेपालको टेलिकम क्षेत्र दक्षिण एसियामै उत्कृष्ट बन्यो ।
पाण्डेका पूर्खाहरूको उद्योग, व्यापारसँग टाढाको नातासमेत थिएन । तर, उहाँमा दूरदृष्टि, लगनशीलता तथा इमान्दारितामा कुनै पनि कमी थिएन, जुन एउटा सफल व्यवसायीमा हुनुपर्ने गुण थियो । काठमाडौंमा सन् ६० को दशकमा बहुचर्चित ‘फ्लावर जेनेरेशन’ भनिने हिप्पीहरू आउन थाले । विदेशी पर्यटकहरूको चहलपहल देखिन थाल्यो । त्यस्ता अमेरिकी युवाहरू भियतनाम युद्धमा संलग्न हुनुको साटो शान्त, सुन्दर नेपालजस्तो विछट्टै मौलिक संस्कृतिको रस्वास्वादन गर्नेहरूको लर्को लाग्न थाल्यो ।
अमेरिका भियतनाम युद्धमा अनाहकमा फसेको र चरम भौतिकवादमा रुम्लिएको युवा पिँढीहरूलाई यहाँ सस्तो गाँजा तथा चरेशको मज्जा लिन पल्केका थिए । आफ्नो सबै तनावबाट मुक्त भएको महसुस गर्दै झोंछे तथा मरुहिटीका नेवार बाहुल्य भएका बस्तीहरूमा तीनताक लठ्ठिएर हिँडेको देखिन्थ्यो ।
त्यसताका काठमाडौंको खुलापन, पातलो जनसंख्या, शान्त वातावरण अनि नेपालीहरूको मैत्रीपूर्ण व्यवहारको चर्चा संसारभरी फिँजियो । र, त्यसैको फलस्वरुप ख्याती प्राप्त गायक क्याट स्टेभेन्स तथा बब सेगन काठमाडौंको मौलिक संस्कृति तथा यहाँको प्राकृतिक सौन्दर्यताबाट प्रभावित भए । ‘आइ थिंक, आई एम गोइन टु काठमाडौं, द्याट इज रियल्ली रियल्ली ह्वयर आइएम गोइङ टु’ भाकामा गितार धन्काउन थाले ।
झण्डै हिप्पीहरूको सम्मोहन काठमाडौंका एक दशकसम्म चल्यो । र, त्यसपछि सन् ७० को दशकको प्रारम्भमा झोँछेको गल्लीहरूमा फस्टाएको पर्यटन व्यवसाय ठमेल क्षेत्रमा स्थान्तरण हुन थाल्यो । र, ब्याक प्याकर्स (झोले पर्यटकहरू) जो अन्नपूर्ण क्षेत्रको टे«किङ गर्नेहरूको घुइँचो ठमेल र यसका गल्लीहरूमा होटल, लज, रेष्टुरा, पव, सोभेनियर सप तथा बुक सपहरू देखिन थाल्यो । यसैको सेरोफेरोमा वन कार्यालयको जागिर छाडेर कर्ण शाक्यले आफ्नो बुबाले खरिद गरेको एउटा राणाको दरबारलाई काठमाडौं गेष्ट हाउसको नाम दिएर होटल सञ्चालनमा ल्याए ।
तर, एउटा पर्यटन व्यवसायी जसले झोंछे र ठमेलको पर्यटकीय गतिविधिहरूलाई सुक्ष्म ढंगले नियालिरहेका थिए, तिनले ठूला तारे होटल र सस्ता होटल लजभन्दा गुणस्तरीय सेवा, सुविधा सम्पन्न ‘होम अवे फ्रम होम’को मूलमन्त्र पछ्याउँदै एउटा नयाँ पर्यटन व्यवसायीको रुपमा श्यामबहादुर पाण्डे प्रकट भए ।
पहिले निजामति कर्मचारी, स्वेच्छिक अवकाश लिएपछि वाणिज्य व्यापार गर्दा गर्दै एउटा गुणस्तरीय होटल जो अन्यभन्दा विल्कुलै भिन्न, जहाँ अतिथिहरूलाई विशेष आतिथ्य दिएर उनीहरूलाई आफ्नै घरमा बसिरहेको अनुभूति दिलाउने कल्पना गर्दै होटल खोल्ने निधो गरे । र, पाण्डेको नविन सोचलाई यथार्थमा ढाल्न आइरिस मुलका तत्कालीन ब्रिटिस इन्डियामा जन्मेका डेसमण्ड डोइगसितको सम्पर्कमा पुगे ।
डोइग एउटा बहुमुखी प्रतिभाका व्यक्ति थिए । र, उनी लेखक, सम्पादक र कलाकारका साथै डिजाइनरसमेत थिए । जसले उहाँ (पाण्डे)को मौलिक संस्कृतिको एउटा गुणस्तरीययुक्त होटल स्थापनाको सपनालाई व्यवहारमा उतार्न महत्वपूर्ण भूमिका खेले ।
चर्चित ‘लस्ट होराइजन’का लेखक जेम्स हिल्टनको थिमलाई उतार्दै एउटा सिद्धहस्त कलाकार झै आफ्नो ड्रिम प्रोजेक्टअनुरुप होटल हुनुपर्छ भन्ने मान्यता राख्दै सांग्रिला होटल भनि न्वारन पनि गरिदिए ।
त्यसैगरी युरोपेली पर्यटकलाई गुणस्तरीय खानपानका लागि ‘काकनोर’ नाम राखेर छुट्टै फ्रेन्च शैलीको रेष्टुरा खोले । र, त्यहाँ बस्ने अतिथिहरूलाई हरियो दुबोयुक्त रमणीय चौर र अनेकौँ प्रजातिका फूलहरूको सुन्दर बगैँचा बनाउन लगाए । जसको नामाकरण ‘सम्बला’ गार्डेन राखियो । जुन तिब्बली भाषामा भू–स्वर्गलाई भनिन्छ ।
पाण्डेको जीवनमा यो प्रोजेक्ट एउटा ठूलो ‘टर्निङ प्वाइन्ट’ थियो र उनी भोलि के हुन्छ भन्ने कुरा चटक्कै बिर्सेर आफुसँग जे जति रकम छ, त्यो सबै एउटा जुवाडेलेझैँ सांग्रिला होटलको सिर्जनामा लगाए । उनी यो व्यवसायबाट विलकुल अनविज्ञ थिए । तर पनि एउटा उत्कृष्ट होटलको स्थापनाको कल्पना गर्दै लाजिम्पाटमा एउटा गुणस्तरीय होटल चलाइछाड्ने दृढ निश्चय गरे ।
कुनै पनि व्यवसायमा डराएर सफलता हासिल हुँदैन, रिक्स त व्यवसायमा लिनैपर्छ, त्यसका साथै समयको उचित मूल्यांकन गर्दै लगानीका साथ इमान्दारिपूर्वक अघि बढ्ने हो भने सफलता निश्चित छ भन्ने बुझेर पाण्डे अगाडि बढे । जबकि, दरबारमार्ग जस्तो प्राइम लोकेशनमा रहेको शेर्पा होटल, ललितपुरको पुल्चोकमा रहेको नारायणी होटल दशकौँ अघि बन्द भए । र, पछिल्लो समय दरबारमार्गकै पाँचतारे डेला अन्नपूर्ण होटलसमेत बन्द भए ।
४५ वर्षअघि यही जुलाइ महिनामा सञ्चालनमा आएको सांग्रिला होटल निर्माणको क्रममा १५ घरपरिवारको जग्गा किनेर उक्त जग्गाका कान्ला, गह्राहरू नखारेर जे जस्ता अवस्थामा छन्, त्यहीअनुरुपका भवनहरू ठडाए । र, लाजिम्पाटदेखि महाराजगञ्जसम्मका कूटनीतिक नियोगका उच्च अधिकारीहरूको फुर्सदका समयहरू रमाइलो गरी ब्यतित गर्ने हबको रुपमा सांग्रिला होटल बन्यो ।
प्रसिद्ध स्वीस् भू–गर्भविद ट्वनी हागन र उनका परिवारको त यो दोस्रो घर झैँ नै थियो । उनी नेपाल आउँदा बस्ने, खाने र आफ्ना मित्रहरूसँग घण्टौँ साम्ब्ला गार्डेनमा बिताउने गर्दथे । पाण्डे अन्य होटल व्यवसायी झै थिएनन् । उनी गुणस्तरीय सेवामा कहिल्यै पनि सम्झौता गर्दैन थिए ।
त्यसै कुरालाई ख्याल गर्दै राजधानीपछिको अर्को पर्यटकीय गन्तव्य पोखरामा सांग्रिला भिलेज र बेगनास तालमा ‘द लस्ट होराइजन रिसोर्ट एण्ड स्पा’ सञ्चालनमा ल्याए । र, चितवनको मेघौलीमा पुग्ने पर्यटकका लागि उत्कृष्ट सेवा दिन एउटा बेग्लै खालको रिसोर्ट निर्माणाधीन छ । उहाँका दुई छोरा प्रसिद्धबहादुर पाण्डे र प्रवीणबहादुर पाण्डेले अहिले बुबाको सपना साकार पार्दै विश्व प्रशिद्ध ‘कन्टिनेन्टल’ ब्राण्ड नेपाल भित्र्याएका छन् । जसले गर्दा गुणस्तरीय पर्यटक भित्रिने आशा गरिएको छ ।
स्व. श्याम दाई भौतिक रुपले हामीमाझ अहिले हुनुहुन्न । तर, उहाँले नेपालको पर्यटन उन्नयनका लागि गर्नुभएको योगदान चीरस्मरणीय रहने छ ।