कैलाली । सुदूरपश्चिम प्रदेशमा आज नयाँ सरकार गठन हुँदैछ । शुक्रबार मुख्यमन्त्री दीर्घराज सोडारीले राजीनामा दिएपछि प्रदेश प्रमुख नजिर मियाँले आइतबार साँझ ५ बजेसम्म नयाँ सरकार गठनका लागि समय दिएका थिए । सोहीअनुसार कांग्रेस–एमालेले नयाँ सरकार गठन गर्न लागेका हुन् ।
संघमा कांग्रेस र एमालेको सत्ता समीकरण हुँदा सुदूरपश्चिमको मुख्यमन्त्री कांग्रेसले पाउने सहमति भएको थियो । सोहीअनुसार एमालेको समर्थनमा कांग्रेसले मुख्यमन्त्रीमा दाबी पेस गर्दैछ ।
सुदुरपश्चिमबाट फेरि कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाह नै मुख्यमन्त्री बन्ने भएका छन् । पार्टी सभापति शेरबहादुर देउवाकाे निर्देशनपछि उनी मुख्यमन्त्री बन्ने पक्का भएको हो । यसअघि पनि शाह मुख्यमन्त्री बनेका थिए । सभापति देउवा निकट भएकाले शाह फेरि मुख्यमन्त्री बन्ने अवसर पाएका हुन् ।
सुदूरपश्चिम प्रदेशमा ५३ जना प्रदेशसभा सदस्य छन् । मुख्यमन्त्रीलाई बहुमत पुराउन २७ सांसद आवश्यक पर्छ । यहाँ कांग्रेसका १८ र एमालेका ११ सांसद छन् । यी दुई दलमात्रै मिल्दा पनि बहुमत पुग्छ । आज साँझसम्म यी दुई दलबाहेक नागरिक उन्मुक्ति पार्टीले पनि समर्थन गर्ने जनाइएको छ ।
कांग्रेसले अहिले ११ बजे संसदीय दलको बैठक बोलाएको छ । उक्त बैठकमा यस विषयमा ठोस निर्णय हुने बताइएपनि मुख्यमन्त्री शाह नै हुने निश्चित भइसकेको कांग्रेस नेताहरूको भनाइ छ ।