काठमाडौं । पार्टीबाट प्रतिस्पर्धी, विद्रोही तथा वरिष्ठ नेताहरू बाहिरिएपछि नेकपा एमालेमा केपी शर्मा ओली निर्विकल्प छन् । अहिले एमालेमा उनकै रजगज चलेको छ । एमाले भनेकै ओली र ओली भनेकै एमाले भएको छ । ओलीले जे भने एमालेमा त्यही लागू हुन्छ ।
एमालेमा लगाइएको उमेरहद पनि ओलीकै चाहना हटाइएको थियो । फेरि देशको कार्यकारी प्रमुख बन्ने महत्वकांक्ष बोलेका ओलीले तीन वर्षअघि विधान अधिवेशनमार्फत ७० वर्षे उमेरहद हटाएका थिए । जसले ओलीलाई तेस्रो पटक अध्यक्ष हुँदै प्रधानमन्त्री बन्ने बाटो खुलेको थियो । त्यही कारण अहिले उनी चौथो पटक प्रधानमन्त्रीको कुर्सीमा आसीन छन् ।
२०७१ सालमा भएको नवौँ महाधिवेशनले पार्टीको सबै तहको कार्यकारी कमिटीको पदाधिकारी वा सदस्यमा निर्वाचित वा मनोनीत हुन ७० वर्ष उमेर पूरा नभएको हुनुपर्ने व्यवस्था गरेको थियो ।
यस्तो व्यवस्थालाई निरन्तरता दिने कि नदिने भन्ने विषयमा एमालेभित्र छलफल हुँदै आएको थियो । तर, पार्टी विभाजनलगत्तै भएको विधान अधिवेशनमा ७० वर्षे उमेरहदलाई ओलीको जन्म मिति हेरेर संशोधन गरियो । जसमा ‘७० वर्ष पूरा नभएकाले कमिटीमा रहन पाउने’ व्याख्या गरियो । त्यही व्याख्याले ओलीलाई अध्यक्ष दोहोरिन बाटो खुल्यो ।
अहिले पनि एमालेमा ‘एक व्यक्ति, एक पद’ को व्यवस्था छ । तर, ओलीलाई भने यो व्यवस्था लागू हुने छैन । हुन त ओली यस्तो व्यवहार पहिलो पटक देखिएको होइन ।
यसअघि पनि बारम्बार देखिएका थिए । २०७० सालमा झलनाथ खनाललाई संसदीय दलको नेता र २०७१ माधव नेपाललाई पार्टी अध्यक्षमा पराजित गर्ने क्रममा ओलीले दुई प्रस्ताव र प्रतिबद्धता गरेका थिए– एक व्यक्ति, एक पद र एक कार्यकालभन्दा बढी नेतृत्वमा नरहने ।
तर, आफू पावरमा आउनेबित्तिकै उनले प्रतिविद्धताको धज्जी उडाए । ‘एक व्यक्ति एक पद’ को मान्यता विपरीत उनी पार्टी अध्यक्ष र प्रधानमन्त्री बनेका थिए ।
त्यस्तै अहिले ओलीले आफू निकटहरूलाई उपाध्यक्ष र इन्चार्जहरू सबै आफू निकटहरूलाई बनाएका छन् । रिक्त एक केन्द्रीय उपाध्यक्ष र पार्टीका सात प्रदेश इन्चार्ज मनोनीत गर्दा ओली आफू निकटहरूलाई प्राथमिकता दिएका हुन् ।
उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनपछि रिक्त स्थानमा गुरु बराललाई मनोनीत गरिएको छ । पार्टी कार्यालय च्यासलमा बाढी पसेर बैठक बस्नै नसक्ने भएपछि सिंहदरबारनजिकै होटेल बसेरामा बिहीबार बसेको एमाले सचिवालय बैठकले उपाध्यक्षमा गुरु बराललाई मनोनीत गरेको हो । झापाका बराल लामो समयदेखि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीनिकट रहेर काम गर्दै आएका छन् । बराललाई अध्यक्ष ओलीले यसअघि राष्ट्रपतिको उम्मेदवार बनाउन खोजेका थिए । तर, माओवादी केन्द्रले एमालेसँगको गठबन्धन तोड्दै राष्ट्रपति निर्वाचनमा कांग्रेससँग गठबन्धन गरेपछि ओली सुवासचन्द्र नेम्वाङलाई बनाएका थिए ।
त्यस्तै सचिवालय बैठकले पार्टीका सातै प्रदेश इन्चार्जको जिम्मेवारीसमेत तोकेको छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशबाहेक पाँच प्रदेशको इन्चार्जमा नयाँलाई अवसर दिइएको छ । लुम्बिनीमा पद्मा अर्याल र सुदूरपश्चिम प्रदेश इन्चार्जमा लेखराज भट्टलाई दोहोर्याएको छ ।
अन्य पाँच प्रदेशमा भने अध्यक्ष ओलीले नयाँ नेताहरूलाई अघि सारेका छन् । कोसीमा शेरधन राई, मधेशमा लीलानाथ श्रेष्ठ र बागमतीमा राजन भट्टराईलाई इन्चार्जको जिम्मेवारी दिइएको छ ।
त्यसैगरी गण्डकीमा किरण गुरुङ र कर्णालीमा गोरख बोगटीलाई जिम्मेवारी दिइएको छ । बिहीबार मात्रै स्थायी समिति सदस्यमा बढुवा भएकी लीलानाथ श्रेष्ठले मधेश प्रदेशको इन्चार्जको जिम्मेवारी पाएका छन् ।
यसरी ओली व्यक्तिकेन्द्रीत भएपछि पछिल्लो समय एमालेमा गुटबन्दी मौलाउँदै गएको छ । केन्द्रीय राजनीतिमा एमाले भित्रको आन्तरिक गुट वाह्य रुपमा नदेखिए पनि आन्तरिक रुपमा चरम गुटबन्दी भएको एमाले नेताहरूले नै स्वीकार गर्ने गरेका छन् ।
एमाले भित्रै मौलाउँदै गएको गुटका कारण लुम्बिनी प्रदेश संसदीय दलका नेता लिला गिरी लुम्बिनी प्रदेशको मुख्यमन्त्री बन्न सकेनन् भने फरक गुटको नेता भएकै कारण उपनेता चेतनारायण आचार्य लुम्बिनी प्रदेशको मुख्यमन्त्रीको रुपमा नियुक्त भए । उपनेतालाई मुख्यमन्त्री बनाएपछि एमाले संसदीय दलको नेताबाट लीला गिरीले राजीनामा नै दिइसकेका छन् ।
यसअघि एमालेका नेता पदम गिरीले नेपाल लिटरेचर फेस्टिभलमा पार्टीमा गुटबन्दी समस्याका रूपमा रहेको स्वीकार गर्दै लोकतान्त्रिक विधि र प्रक्रिया निर्माणमा जाँदा सबै समस्या समाधान हुने बताएका थिए ।
पार्टीमा गुटबन्दी मौलाएको कारण ओलीलो पार्टीमा कुनै पनि हिसाबको गुटबन्दी स्वीकार्य नहुने चेतावनी दिन थालेका छन् । आइतबार नवनियुक्त केन्द्रीय सदस्यहरूको शपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले गुटबन्दीका कारण एमाले विभाजन भएको भन्दै अव एमालेमा गुटबन्दी स्वीकार्य नहुने चेतावनी दिएका हुन् ।
उनले भने, ‘हाम्रो पार्टीमा लामो समयदेखि गुटबन्दी थियो । या त हामीले गुटबन्दी नियन्त्रण गर्न सक्नुपर्थ्यो, सकिएन भने अन्ततः विभाजनमा जान्थ्यो हाम्रो पार्टीमा त्यस्तै भयो, हाम्रो पार्टीमा गुटबन्दी स्वीकार्य छैन ।’ यसले एमालेभित्रको झाँगिएका प्रस्ट हुन्छ ।
एमालेमा महासचिव शंकर पोखरेल र उपाध्यक्ष विष्णु पौडेलको नेतृत्वमा दुई गुट सक्रिय छन् । पार्टी विभाजनसम्म माधव नेपाललाई साथ दिएर १० बुँदे सहमति गरेर एमालेमै रहेको समूह छ । जसको नेतृत्व उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले गर्छन् । अर्को गुट पूर्व माओवादीहरूको छ । उपाध्यक्ष रामबहादुर थापा बादलले यो समूहको नेतृत्व गर्छन् ।
यी चारै गुटको व्यवस्थापन गर्न अध्यक्ष ओलीलाई गाह्रो पारेको छ । पोखरेल र पौडेल गुटले उनलाई कार्यसम्पादनमा थप समस्या दिएको देखिन्छ । त्यस्तै पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पनि एमालेमा आफ्नै गुट छ । उनी सक्रिय राजनीतिमा आए एमालेभित्रको गुटगत दुबो थप झाँगिने निश्चित छ ।