Logo
Logo

 तानासाही बन्न खोज्दा लखेटिए शेख हसिना, किन गए भारत ?


3.8k
Shares

एजेन्सी । बंगालादेशमा गत  जनवरीमा निर्वाचन भएका थियो । उक्त निर्वाचनबाट शेख हसिना देशको प्रधानमन्त्री चुनिएका थिए । यो उनको पाँचौँ कार्यकाल थियो । यद्यपि उनको सरकार एक वर्ष पनि टिकेन । 

३०० भन्दा बढीको मृत्युपछि हसिना राजीनामा दिएर देशबाटै भाग्न बाध्य भए । प्रदर्शनकारीहरू उनको सरकारी निवासमा समेत प्रवेश गरेका छन् । २००९ देखि मुलुकमा शासन गरिरहेकी ७६ वर्षीया हसिना राजीनामा घोषणा पनि रेकर्ड गर्न नपाई सेनाको हेलिकोप्टरमा चढेर भारततर्फ लाग्नुपर्याे ।  

प्रधानमन्त्री भागेपछि सेनाप्रमुख जर्नेल वकर उज जमानले अन्तरिम सरकार गठन गरिने बताएका छन् । बंगलादेशमा घातप्रतिघातको राजनीति लामो समय चल्दै आएको छ । सत्ताबाहिर रहेका नेताहरू जेल पर्नु अनौठो होइन । तर, केही महिनाअघिसम्म शेख हसिनाले यतिछिटै यो दिन देख्नुपर्ला भन्ने कल्पना सायदै कसैले गरेको थियो ।

बंगलादेशको आर्थिक उन्नति गरेको भाष्यका बीच राज्यका संयन्त्रहरूमा उनको कब्जा कायम भएको थियो। उनी तानासाही बन्न थालेको आरोप लागेको थियो । 

पछिल्लो विवाद

सत्ता हातमा लिएपछि हसिनाले भोगेको सबैभन्दा गम्भीर चुनौती थियो, हालको प्रदर्शन। त्यो पनि निकै विवादास्पद चुनावलगत्तै । राजीनामाको माग चर्किरहँदा उनले अटेर गरे । आन्दोलनकारीलाई उनले ‘आतंकवादी’ भने र समर्थकहरूलाई ‘कठोरतापूर्वक आतंकवादीलाई दमन गर्न’ आह्वान गरे ।  

आरक्षण खारेज गर्न माग गर्दै सुरु भएको आन्दोलन सरकारविगरोधी बन्न पुग्यो । महामारीपछि बंगलादेश महँगीसँग जुधिरहेको थियो । विदेशी मुद्रा सञ्चिति खुम्चेको थियो। विदेशी ऋण २०१६ पछि दोब्बर भएको थियो । 

आलोचकहरूले उनको सरकारले कुप्रबन्ध गरेको आरोप लगाएका थिए । यसअघिको आर्थिक उन्नतिले पनि हसिनाका आसेपासे मात्र पोसिएको उनीहरूको भनाइ थियो ।

त्यस्तै, लोकतन्त्र र मानव अधिकारको मूल्यमा सो समृद्धि आएको उनीहरूको ठहर थियो । हुन पनि हसिना विपक्षी, आलोचक र सञ्चारमाध्यमप्रति असहिष्णु बन्द गएको थियो । 

को हुन् शेख ? 

उनी देशका संस्थापक प्रधानमन्त्री बङ्गबन्धु शेख मुजिबुर रहमानकी छोरी हुन् । शेख हसिनाका बुवा शेख मुजिबुर रहमान र उनको परिवारका अधिकांश सदस्यको सन् १९७५ मा सैन्य कूका बेला हत्या भएको थियो । 

त्यतिबेला हसिना र उनकी बहिनी विदेश यात्रामा थिए । उनीहरू निर्वासनमा बस्न भारत गए । सन् १९८१ मा उनीहरू स्वदेश फर्किए । अरू राजनीतिक पार्टीसँग मिलेर प्रजातन्त्रका लागि सैन्य सरकारविरुद्ध गरेको आन्दोलनपछि हसिनाको राष्ट्रिय छवि बन्यो ।

सन् १९९६ मा पहिलो पटक प्रधानमन्त्री बनेकी उनी त्यसपछिको निर्वाचनमा बेगम खालेदा जियासँग सन् २००१ मा पराजित भए । सन् २००९ यता उनले निरन्तर सत्ताको नेतृत्व गर्दै आएका थिए । उनी बंगलादेशमा सर्वाधिक समय शासन गर्ने नेता हुन् ।

सन् २००४ मा चुनावी अभियानका क्रममा हसिनामाथि बम आक्रमण हुँदा उनी घाइते भएका थिए भने कम्तीमा २० जनाको मृत्यु भएको थियो । 

भारत किन पलायन ? 

हसिना ढाकाबाट हेलिकप्टर चढेर भारत आएका छन् । पदत्याग गर्नुअघि उनको भारतसँग कस्तो सल्लाह भयो भन्ने स्पष्ट भइसकेको छैन । तर, उनको भारतसँग राम्रो सम्बन्ध भएको मानिन्छ ।

बंगलादेशलाई तीनतिर भारतले घेरेको छ । भारतका लागि बंगादेश छिमेकी मुलुक मात्रै होइन, रणनीतिक साझेदार र निकटको सहयोगी पनि हो । पूर्वोत्तरका भारतीय राज्यहरूको सुरक्षाका लागि बाङ्ग्लादेशसँगको सम्बन्धले महत्त्व राख्छ । 

सन् १९९६ मा पहिलो पटक निर्वाचित भएदेखि नै हसिनाले भारतसँग निकट सम्बन्ध राखेका थिए । उनले सधैँ दिल्लीसँग ढाकाको निकट सम्बन्धको महत्त्वमा जोड दिँदै आएका थिए । 

सन् २०२२ मा दिल्ली भ्रमणका क्रममा उनले बङ्ग्लादेशको स्वतन्त्रतामा भारत सरकार, भारतीय जनता र सुरक्षा फौजले सहयोग गरेको स्मरण गर्दै बङ्ग्लादेशले कहिल्यै पनि भारतलाई भुल्नु नहुने बताएका थिए । 

विपक्षी बीएनपीले भने हसिनाको दल अवामी लीगलाई भारतले दिएको समर्थनका लागि कडा आलोचना गर्ने गरेको  छ।  बङ्ग्लादेशमा शेख हसिना निर्वाचित नभए अतिवादी इस्लामिस्ट समूह सत्तामा फर्किने त्रासमा दिल्ली भएको ठानिएको थियो । 

सन् २००९ मा सत्तामा आएपछि हसिनाले बंगलादेशभित्रबाट भारतको उत्तरपूर्वी राज्यहरूमा विद्रोह गरिरहेका विद्रोही समूहमाथि कारबाही गरेर दिल्लीको विश्वास जिते । 

भारत र बङ्लादेशबीच निकट सांस्कृतिक, जातीय र भाषिक सम्बन्ध छ । दिल्लीले सन् १९७१ मा पाकिस्तानबाट बङ्ग्लादेशलाई स्वतन्त्र हुन प्रमुख भूमिका खेलेको थियो । त्यस बेला उसले बङ्गाली फौजलाई सहयोग गर्न आफ्नो सेना पनि पठाएको थियो । 

भारतले बङ्ग्लादेशलाई पूर्वाधारहरू निर्माण गर्न सन् २०१० यता सात अर्ब अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण पनि उपलब्ध गराएको छ । तर दशकौँदेखि पानीको प्रयोगबारे दुई देशबीच द्वन्द्व चलिरहेको छ र एकअर्काको आन्तरिक मामिलामा चलखेल गर्ने गरेको भन्ने पनि आरोप लाग्ने गरेको छ ।

भारतले बङ्गलादेश हुँदै उसका पूर्वोत्तर राज्यहरूमा सडक, जल र रेल मार्गमार्फत् ढुवानीको सुविधा पाउँदै आएको छ । तर बङ्ग्लादेशले अझै पनि भूपरिवेष्टित मुलुकहरू नेपाल र भुटानसँग त्यस्तै खाले यातायातको पहुँच नपाएको आलोचकहरू बताउँछन् । 

ढाकामा आफूअनुकूल सरकार हुनुमा भारतका अन्य रणनीतिक कारणहरू पनि छन् । दिल्लीले बङ्गलादेश हुँदै आफ्ना सातवटा पूर्वोत्तर राज्यका लागि सडक र जल यातायातमा पहुँच चाहन्छ ।

दिल्लीका अधिकारीहरूलाई भारतको प्रतिद्वन्द्वी चीनसँगको सम्भावित द्वन्द्वमा यो क्षेत्र रणनीतिक रूपमा कमजोर हुन सक्ने डर छ । कैयौँ पश्चिमा देशहरूले बङ्ग्लादेशी अधिकारीहरूमाथि मानवाधिकार हनन र गैरन्यायिक हत्याको आरोपमा थप प्रतिबन्ध लगाउन चाहेका भए पनि भारतले त्यसलाई प्रत्युत्पादक हुन सक्ने भन्दै रोक्दै आएको छ। बेइजिङ पनि उक्त क्षेत्रमा आफ्नो प्रभाव विस्तार गर्न बङ्ग्लादेशमा आफ्नो उपस्थिति बढाउन चाहन्छ ।

प्रतिक्रिया दिनुहोस्