एजेन्सी । बंगलादेशका प्रधानमन्त्री शेख हसिनाले विद्यार्थी आन्दोलन, हिंसा र सयौँको मृत्युका बिच पद र देश छाड्न बाध्य भए । सरकारी जागिरमा आरक्षणको विरोधमा सुरु भएको विद्यार्थी आन्दोलनले अन्ततः हसिनाको सरकार पतन गरिदियो ।
यससँगै बंगलादेशमा शेख हसिनाको १५ वर्ष लामो शासन अन्त्य भएको छ । हसिना नेतृत्वको अवामी लिग सन् २००९ देखि लगातार सत्तामा थियो । गत पुसको निर्वाचनबाट झन् शक्तिशाली प्रधानमन्त्रीको रुपमा उदाएकी शेख हसिनाको पतन हुनुमा उनको शासकीय कार्यशैली जिम्मेवार छ ।
देशै छाड्न बाध्य किन ?
पछिल्लो आन्दोलन हसिनाले सत्ता ग्रहण गरेपछि सामना गर्नुपरेको सबैभन्दा गम्भीर संकट हो । सत्ता हातमा लिएपछि हसिनाले भोगेको सबैभन्दा गम्भीर चुनौती थियो, हालको प्रदर्शन । आरक्षण खारेज गर्न माग गर्दै सुरु भएको विद्यार्थी आन्दोलन सरकारविरोधी बन्न पुग्यो ।
गत २३ जेठमा उच्च अदालतले स्वतन्त्रता सेनानीका सन्तानलाई निजामती सेवामा ३० प्रतिशत आरक्षणको व्यवस्था गर्ने आदेश दिएसँगै बंगलादेशमा विद्यार्थी आन्दोलन सुरु भएको थियो । लगत्तै त्यहाँका प्रमुख विश्वविद्यालयहरूमा आरक्षणको विरोधमा विद्यार्थीले शान्तिपूर्ण प्रदर्शन गरे, तर सरकारले सुनुवाइ गरेन ।
आरक्षण हटाउने विद्यार्थीको आन्दोलनलाई प्रधानमन्त्री शेख हसिनाले गम्भीर रूपमा लिइनन् । बरु आन्दोलन गरेर विद्यार्थीले व्यर्थमा समय खेर फालेको आरोप लगाए । जसले आन्दोलनमा ‘आगोमा घिउ’ थपेझैँ गर्यो ।
राजीनामाको माग चर्किरहँदा उनले ‘आतंकवादी’ भने र समर्थकहरूलाई ‘कठोरतापूर्वक आतंकवादीलाई दमन गर्न’ आह्वान गरे । त्यपछि हिंसात्मक आन्दोलन झनै चर्कियो । ढाका र देशका अन्य भागहरूमा सरकारी जागिरहरूमा आरक्षण खारेज गर्ने मागका साथ सुरु भएको विरोध प्रदर्शन व्यापक सरकार विरोधी आन्दोलनमा परिणत भयो ।
विरोध प्रदर्शन र हिंसात्मक झडपका लागि हसिना र विपक्षीहरूले एक–अर्कालाई दोष लगाउँदै आएका थिए । विरोधी दलका कार्यकर्तामाथि प्रतिशोध साध्ने क्रम हसिनाले जारी राखिन् । विरोधी तथा प्रतिद्वन्द्वीलाई पक्राउ गर्ने तथा झूटा मुद्दा लगाउने काम पछिल्ला दिनमा झन् तीव्र भयो ।
विद्यार्थीले आरक्षण प्रणाली खारेजी आन्दोलनका क्रममा पक्राउ परेकाहरूको रिहाइ तथा मृतकका परिवारलाई क्षतिपूर्तिसहितका माग राख्दै सरकारविरुद्ध असहयोग आन्दोलन गर्दै आएका थिए । प्रधानमन्त्री हसिनाले आन्दोलनकारीलाई बेवास्ता गरे ।
तर, उनले आइतबार वार्तामा बोलाए पनि आन्दोलनकारीले हसिनाको राजीनामा माग्दै आन्दोलन चर्काए । सोमबार देशव्यापी आन्दोलन चर्किएपछि हसिनाले देशवासीका नाममा भिडियो सन्देश पनि जारी गर्न नपाउँदै देश छाड्न बाध्य भए ।
शक्तिशाली प्रधानमन्त्री हसिनाको बहिर्गमनसँगै प्रदर्शनकारीहरूले राजधानी ढाका र देशैभरि विजयोत्सव मनाएका थिए । विजय मनाउने क्रममा ढाकामा प्रधानमन्त्री निवास, संसद् भवन, मन्त्रीहरूको घर तथा राष्ट्रपिता शेख मुजिबुर रहमानका सालिकहरू पनि प्रदर्शनकारीले ढालेका छन् ।
देश छोडेसँगै प्रधानमन्त्री हसिनाको डेढ दशकको सत्तारोहण समाप्त भएको छ । उनको सत्ता बहिर्गमनले लोकतान्त्रिक आवरणमा नेतामा हुर्किने अधिनायकवादी महत्त्वाकाङ्क्षा र कार्यशैलीको कसरी पतन हुन्छ भन्ने तस्बिर देखाइदिएको छ ।
२६ वर्षे युवाको नेतृत्वमा आन्दोलन
बंगलादेशका प्रधानमन्त्री शेख हसिना वाजेदलाई १५ वर्ष लामो सत्ताबाट हटाउने आन्दोलनको नेतृत्व गरेका २६ वर्षीय युवक नहिद इश्लाम को हुन् भन्ने प्रश्न अहिले उठिरहेको छ ।
ढाका विश्वविद्यालयमा सोसियोलोजीका विद्यार्थी इश्लामले ‘स्टुडेन्ट एगेन्स्ट डिस्क्रिमिनेसन मुभमेन्ट’को राष्ट्रिय संयोजकको भूमिका निर्वाह गर्दै आएका थिए । उनकै नेतृत्वमा आरक्षण विरोधी आन्दोलन बंगलादेशमा सुरु भएकोमा सो आन्दोलन पछि प्रधानमन्त्रीको राजीनामामा केन्द्रित भएको थियो ।
उनलाई १९ जुलाई २०२४को मध्यरातमा कम्तीमा २५ जनाको एउटा समूहले ढाकाको सबुजबागस्थित घरबाट समातेर अज्ञातस्थलमा लगेर विद्यार्थी आन्दोलन सुरु गर्नुको कारणबारेमा सोधेको थियो ।
उनलाई पूर्वाकाल्फको पुल मुनि २१ जुलाई २०२४मा अचेत अवस्थामा भेटिएको थियो । उनलाई २६ जुलाईमा गोनोशास्थ्य नगर अस्पतालमा प्रहरीले लगेको जनाइएको छ । उनले मंगलबार मात्रै सेनाले गर्ने सरकारको नेतृत्व स्वीकार नगर्ने भन्दै नोबेल पुरस्कार विजेता अर्थशास्त्री मोहम्मद युनुसलाई सरकार प्रमुख बनाउनुपर्ने माग राखेका छन् ।
उनले सोमबार विद्यार्थीहरुलाई सम्बोधन गर्दै आफूहरुले आफूहरुको कारणले रगत बगाउने शहिदहरुलाई धोका नदिने बताएका थिए । १९९८मा ढाकामा जन्मेका उनी विवाहित हुन् र एक जना भाइ नकिव पनि छन् । उनका बाबु शिक्षक हुन् भने आमा ‘होममेकर’ हुन् ।
जानकारहरुका अनुसार उनी देशमा परिवर्तन हुनुपर्छ भन्ने गर्दथे । उनको नेतृत्वको आन्दोलनका क्रममा बंगलादेशमा करिब ३०० जनाको मृत्यु भएको छ ।