Logo
Logo

राष्ट्रपिताका छोरीको दु:खद अन्त्य


1.1k
Shares

काठमाडौं । बंगलादेशका प्रधानमन्त्री शेख हसिनाले विद्यार्थी आन्दोलन, हिंसा र सयौंको मृत्युका बिच पद र देश छाड्न बाध्य भए । सरकारी जागिरमा आरक्षणको विरोधमा शुरू भएको विद्यार्थी आन्दोलनले अन्ततः हसिनाको सरकार पतन गरिदियो । यससँगै बंगलादेशमा शेख हसिनाको १५ वर्ष लामो शासन अन्त्य भएको छ । हसिना नेतृत्वको अवामी लिग सन् २००९ देखि लगातार सत्तामा थियो ।

गत पुसको निर्वाचनबाट झन् शक्तिशाली प्रधानमन्त्रीको रुपमा उदाएकी शेख हसिनाको पतन हुनुमा उनको शासकीय कार्यशैली जिम्मेवार छ । बंगलादेशको लोकतन्त्रको लागि लडेकी शेख हसिना कसरी लोकतान्त्रिक आवरणको बलमा अधिनायकवादी बाटोमा हिँड्दै मुलुकै छोड्ने अवस्थामा पुगे ? यसका लागि उनको विगत खोतल्नु पर्छ । 

को हुन शेख हसिना ? 

शेख हिसना देशका संस्थापक प्रधानमन्त्री बङ्गबन्धु शेख मुजिबुर रहमानकी छोरी हुन् । उनले जन्म सन् १९४७ मा पूर्वीबंगालमा भएको थियो । सन् १९७१ मा देशलाई पाकिस्तानबाट स्वतन्त्र गराएर मुजिबुर रहमान देशको पहिलो राष्ट्रपति बनेका थिए । पाकिस्तानबाट स्वतन्त्र भएको चार वर्षपछि सन् १९७५ अगस्ट १५ मा बंगलादेशका दोस्रो दर्जाका अधिकारीहरूले सैनिक ‘कू’ गरे । त्यस क्रममा प्रधानमन्त्री तथा बंगलादेशका राष्ट्रपिता मुजिबुर रहमान र उनको परिवारका अधिकांशले ज्यान गुमाए । उनका दुई छोरी शेख हसिना र उनकी कान्छी बहिनी जर्मनीमा रहेकाले बच्न सफल भएका थिए ।

पारिवारिक सदस्य गुमाएपछि उनीहरूले पश्चिम जर्मनीस्थित बंगलादेशका राजदूतको घरमा शरण लिएका थिए । पछि भारतीय प्रधानमन्त्री इन्दिरा गान्धीको आह्वानमा उनीहरूले भारतमा राजनीतिक शरण लिए । 

भारतमा निर्वासित जीवन बिताएपछि शेख हसिना सन् १९८१ मा बंगलादेश फर्किए र आफ्नो बुबाको राजनीतिक दल अवामी लिगको नेता भइन् । उनले अन्य राजनीतिक दलहरूसँग मिलेर जनरल हुसेन मोहम्मद एरशादको सैन्य शासनविरुद्ध सडकमा प्रदर्शन गर्दै लोकतन्त्रको माग गरेका थिए । देशमा भएको विद्रोहले हसिनालाई चाँडै राष्ट्रिय राजनीतिमा स्थापित गरायो । लोकतन्त्र स्थापित भएपछिको आमचुनावमार्फत सन् १९९१ देखि खालिदा जियाले पाँच वर्ष शासन सत्ता सम्हाले ।  

शेख हसिना पहिलो पटक सन् १९९६ मा निर्वाचित भएर सत्तामा आए । २००१ को चुनावमा उनी बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी)का खालिदा जियासँग हारे ।  यसबीचमा दुई नेतृहरूबीचको द्वन्द्व राजनीतिक प्रतिस्पर्धामा मात्र सीमित रहेन, प्रतिशोधतर्फ अघि बढ्न थाल्यो ।

दुई नेतृबीचको राजनीतिक प्रतिशोधसँगैका विरोध प्रदर्शन, हिंसा र झडपहरूका कारण तोकिएको चुनाव हुन नसकेपछि सेनाले सत्ता हातमा लिएको थियो । पछि सेना प्रमुख जर्नेल मोहिन उद्दिन अहमदले अर्थशास्त्री फकरुद्दिन अहमदलाई प्रमुख सल्लाहकारका रूपमा कामचलाउ सरकारको नेतृत्वको जिम्मा दिएका थिए । अहमद नेतृत्वको सरकारले जियालाई भ्रष्टाचार र हसिनालाई जबर्जस्ती असुलीसम्बन्धी मुद्दा लगाएर जेल हालेको थियो । 

मुद्दा फिर्ता लिइएपछि हसिना २००८ को जुन र जिया सेप्टेम्बरमा रिहा भए । सोही वर्षको डिसेम्बर २९ मा भएको चुनाव अवामी लिगले भारी मतले जितेपछि हसिना प्रधानमन्त्री बने । २००९ यता उनी लगातार सत्तामा थिए । 

मुस्लिम बहुल बंगलादेश एक समय विश्वको सबैभन्दा गरिब देश थयो । उनकै नेतृत्वमा २००९ देखि विश्वसनीय आर्थिक प्रगति हासिल गरेको छ । पछिल्लो दशकमा बंगलादेशको प्रतिव्यक्ति आय तीन गुणाले बढेको छ । विश्व बैंकको अनुमान अनुसार बंगलादेशमा विगत दुई दशकमा २ करोड ५० लाख मानिस गरिबीबाट बाहिर निस्किएका छन् ।

देश छाड्न बाध्य 

पछिल्लो आन्दोलन हसिनाले सत्ता ग्रहण गरेपछि सामना गर्नुपरेको सबैभन्दा गम्भीर संकट हो । सत्ता हातमा लिएपछि हसिनाले भोगेको सबैभन्दा गम्भीर चुनौती थियो, हालको प्रदर्शन । आरक्षण खारेज गर्न माग गर्दै सुरु भएको विद्यार्थी आन्दोलन सरकारविगरोधी बन्न पुग्यो । 

गत २३ जेठमा उच्च अदालतले स्वतन्त्रता सेनानीका सन्तानलाई निजामती सेवामा ३० प्रतिशत आरक्षणको व्यवस्था गर्ने आदेश दिएसँगै बंगलादेशमा विद्यार्थी आन्दोलन सुरु भएको थियो । लगत्तै त्यहाँका प्रमुख विश्वविद्यालयहरूमा आरक्षणको विरोधमा विद्यार्थीले शान्तिपूर्ण प्रदर्शन गरे, तर सरकारले सुनुवाइ गरेन । 

आरक्षण हटाउने विद्यार्थीको आन्दोलनलाई प्रधानमन्त्री शेख हसिनाले गम्भीर रूपमा लिएनन् । बरु आन्दोलन गरेर विद्यार्थीले व्यर्थमा समय खेर फालेको आरोप लगाए । जसले आन्दोलनमा ‘आगोमा घिउ’ थपेझैँ गर्‍यो । राजीनामाको माग चर्किरहँदा उनले ‘आतंकवादी’ भने र समर्थकहरूलाई ‘कठोरतापूर्वक आतंकवादीलाई दमन गर्न’ आह्वान गरे । त्यसपछि हिंसात्मक आन्दोलन झनै चर्कियो । 

ढाका र देशका अन्य भागहरूमा सरकारी जागिरहरूमा आरक्षण खारेज गर्ने मागका साथ सुरु भएको विरोध प्रदर्शन व्यापक सरकार विरोधी आन्दोलनमा परिणत भयो । विरोध प्रदर्शन र हिंसात्मक झडपका लागि हसिना र विपक्षीहरूले एक–अर्कालाई दोष लगाउँदै आएका थिए । विरोधी दलका कार्यकर्तामाथि प्रतिशोध साध्ने क्रम हसिनाले जारी राखे । विरोधी तथा प्रतिद्वन्द्वीलाई पक्राउ गर्ने तथा झूटा मुद्दा लगाउने काम पछिल्ला दिनमा झन् तीव्र भयो । 

विद्यार्थीले आरक्षण प्रणाली खारेजी आन्दोलनका क्रममा पक्राउ परेकाहरूको रिहाइ तथा मृतकका परिवारलाई क्षतिपूर्तिसहितका माग राख्दै सरकारविरुद्ध असहयोग आन्दोलन गर्दै आएका थिए । प्रधानमन्त्री हसिनाले आन्दोलनकारीलाई बेवास्ता गरे । तर, उनले आइतबार वार्तामा बोलाए पनि आन्दोलनकारीले हसिनाको राजीनामा माग्दै आन्दोलन चर्काए । 

सोमबार देशव्यापी आन्दोलन चर्किएपछि हसिनाले देशवासीका नाममा भिडियो सन्देश पनि जारी गर्न नपाउँदै देश छाड्न बाध्य भइन् । शक्तिशाली प्रधानमन्त्री हसिनाको बहिर्गमनसँगै प्रदर्शनकारीहरूले राजधानी ढाका र देशैभरि विजयोत्सव मनाएका थिए । 

विजय मनाउने क्रममा ढाकामा प्रधानमन्त्री निवास, संसद् भवन, मन्त्रीहरूको घर तथा राष्ट्रपिता शेख मुजिबुर रहमानका सालिकहरू पनि प्रदर्शनकारीले ढालेका छन् । देश छोडेसँगै प्रधानमन्त्री हसिनाको डेढ दशकको सत्तारोहण समाप्त भएको छ । उनको सत्ता बहिर्गमनले लोकतान्त्रिक आवरणमा नेतामा हुर्किने अधिनायकवादी महत्त्वाकांक्षा र कार्यशैलीको कसरी पतन हुन्छ भन्ने तस्बिर देखाइदिएको छ ।

अब राजनीतिमा नआउने

हसिना अब राजनीतिमा नआउने भएका छन् । हसिनाको छोरा तथा प्रधानमन्त्री रहँदा हसिनाको पूर्व आधिकारिक सल्लाहकार समेत रहेका सजीव वाजेद जोयले सोमबार बीबीसीसँगको एउटा अन्तरवार्तामा हसिना राजनीतिमा नआउने जानकारी दिएका हुन् । 

पछिल्लो घटनाक्रमका कारण आफ्नी आमा निराश बनेको पनि उनले बताएका छन् । लड्खडाइरहेको राज्यलाई हसिनाले एसियाको उदीयमान अर्थतन्त्र बनाएको तर आफूले दिएको योगदानको यो फल मिलेकोमा उनी निराश बनेको बताइएको छ । बङ्गलादेशमा हिंसा भड्काउन पाकिस्तानको गुप्तचर एजेन्सी आइएसआइएको हात रहेको आफ्नो आशङ्का भएको जोयले बताका छन् । ‘शेख हसिनाले देशलाई उत्तम सरकार दिएकी थिइन्, अब उनी आफ्ना नातिनातिनाहरूसँग समय बिताउनेछिन्, राजनीतिमा फर्कने छैनन् ।’ जोयले भनेका छन् । 

प्रतिक्रिया दिनुहोस्