Logo
Logo

बंगलादेशमा आन्दोलनकारीले रोजेकै सरकार, को हुन मोहम्मद  युनुस ? 


1.5k
Shares

काठमाडौं । प्रधानमन्त्री शेख हसिनाले प्रधानमन्त्रीबाट राजीनामा दिएर देश छाडेपछि बंगलादेशमा अन्तरिम सरकार बनेको छ । 

हसिनाका कट्टर आलोचक नोबेल पुरस्कार विजेता डाक्टर मोहम्मद युनुस अन्तरिम सरकारको प्रमुखमा नियुक्त भएका हुन् । अर्थशास्त्री समेत रहेका ८४ वर्षीय युनुसलाई विद्यार्थी नेताहरूले समर्थन गरेका छन् । उनले बंगलादेशमा प्रजातन्त्र पुनर्स्थापना र सन्तुलनमा ल्याउन सक्ने विद्यार्थीहरूको विश्वास छ । 

को हुन् मोहम्मद युनुस ? 

युनुस बंगलादेशका गरिबहरुका लागि ब्याकंर मानिन्छन् । उनलाई ‘गरिबका ब्यांकर’ समेत भनिन्छ । उनले सन् १९७० को दशकमा लघुवित्तको थालनी गरेका थिए । चटगाउँ विश्वविद्यालय नजिकैको गरिब गाउँमा घुम्न गएको समयमा उनी लघुवित्तको अवधारणाबाट प्रेरित भए । 

त्यसपछि उनले गाउँलेहरूलाई थोरैथोरै पैसा दिएर लघु व्यवसायको उद्यमी बन्न प्रस्ताव गरेका थिए । उनले सुरु गरेको लघुवित्तको अवधारणाले देशका कतिपय मानिसहरूलाई गरिबीको चरम अवस्थाबाट माथि उठ्न सहयोग पुग्यो । 

उनको सहयोगमा सुरु गरिएका स्थानीय लघु उद्यमहरू निकै छिटो फस्टाए । सन् १९८० को दशकमा त्यसमा दशौँ हजार मानिसहरू सदस्य भए र त्यो ग्रामीण बैंक बन्यो । लघु ऋण आन्दोलनका प्रणेता मानिने युनुसले स्थापना गरेको ग्रामीण ब्यांकले सन् २००६ को नोबेल शान्ति पुरस्कार पाएको थियो । 

सय डलरभन्दा कमको रकम ऋण उपलब्ध गराएर दसौँ लाख ग्रामीण गरिबलाई गरिबीबाट मुक्त गरेको भन्दै उनीहरूलाई पुरस्कृत गरिएको थियो । 

युनुसले नोबेल पुरस्कार पाएको महिनाबाटै आफ्नो राजनीतिक संलग्नता बढाए । तर सरकारको प्रखर आलोचक बनेका उनको लागि शत्रु कमाउने काम मात्रै भयो । 

युनुसजस्तो लोकप्रिय मान्छे राजनीतिमा आए आफू सत्ताच्यूत हुने डरले हसिनाले युनुसमाथि निशाना साँध्न थालिन् । पछिल्ला दशकमा शेख हसिनामा तानाशाही मात्रै नभएर अहंकार र दम्भ पनि बढैको थियो । आफूभन्दा कोही धेरै लोकप्रिय भएको उनले  सहनै छोडेकी थिइन् । 

युनुसले बंगलादेशमा तेस्रो राजनीतिक शक्ति स्थापना गर्ने प्रयास गरेपनि हसिना र उनकी प्रतिस्पर्धी बेगम खालेदा जियाले दशकौँसम्म माथि उठ्न दिएनन् । त्यसपछि विचलित भएकाले उनले बीचैमा राजनीतिक यात्रा छाडेका थिए । त्यसबेला उनले आफू राजनीतिक व्यक्ति नभएको र पार लगाउन नसक्ने भएकाले तत्काल राजनीतिक पार्टी नबनाउने घोषणा गरेका थिए । 

राजनीतिमा लागेपछि शेख हसिना सरकारले सन २०११ मा उनलाई गरिबको रगत चुसेको भन्दै ग्रामीण ब्यांकको प्रमुखबाट हटाएर विभिन्न मुद्धा लगाएको थियो । शुरूमा उनले देशमा अवकाश पाउने उमेर ६० भए पनि युनुस ७३ वर्षसम्म ग्रामीण बैंकको प्रमुख रहेको भन्दै उनलाई प्रमुखबाट हटाइएको थियो । 

सरकारको यो निर्णयका विरुद्ध मानव साङ्लो बनाएर प्रदर्शन समेत भएको थियो । साथै युनुसलाई गत जनवरीमा श्रम कानुन उल्लंघन गरेको भन्दै ६ महिना जेल सजाय सुनाइएको थियो भने २० लाख डलर ठगी गरेको आरोप पनि लगाइएको थियो । त्यसपछि राजनीतिक प्रतिशोध साँधेको भन्दै गत वर्ष संयुक्त राष्ट्रसंघे बंगलादेशलाई सचेत समेत गराएको थियो ।

गत जुनमा बंगलादेशको एउटा अदालतले युनुसले आर्थिक अपचलन गरेको ठहर ग¥यो । तर, उनको समर्थकहरुले भने राजनीतिक दुराशयका कारण युनुसलाई मुद्दा हालिएको दाबी गर्दै आएका आएका छन् । 

गत वर्ष जुलाईमा बंगलादेशको माथिल्लो अदालतले युनुसलाई १० लाख अमेरिकी डलर कर तिर्न आदेश दियो । गत जनवरीमा श्रम कानुन उल्लङ्घन गरेको अभियोगमा दोषी ठहर भएरका उनले तीन सहकर्मीसँगै ६ महिना जेल सजाय पाएका थिए । 

आफू निर्दोष रहेको बताउने उनीहरू पछि धरौटीमा छुटेका थिए । तर समयचक्र यसरी घुम्यो कि हसिनाले राजीनामा दिएर देश छोडेपछि उनै युनुस देशको कार्यकारी प्रमुख बनेका छन् । 

हसिनाको सरकार ढाल्ने विद्यार्थी नेताहरूले देशको राजनीतिलाई स्थिरता दिन सक्ने व्यक्तिको अपेक्षा गरेका छन् । अब उनले अन्तरिम प्रशासन तयार गरेर शक्ति शून्यता र देशमा जारी अशान्ति अन्त्य गनुपर्ने चुनौती रहेको छ । अन्तर्राष्ट्रिय सहयोग पाउँदै आएका युनुसका लागि यो काम सबैभन्दा महत्त्वपूर्ण हुन सक्ने ठानिएको छ । 

प्रतिक्रिया दिनुहोस्