मान्छेलाई सामान्य जीवन जिउनु पनि कहाँ सजिलो हुन्छ र ! केही समयदेखि आफ्नै स्वास्थ्य समस्याले ग्रस्त थिएँ । विदेशमा सरसहयोग गर्ने आफन्त, साथीहरू धेरै थिएनन् । बुढा एकदम व्यस्त । पढाई र अस्पतालको कामले एकछिन फुर्सद पाउने होइन । मेरो आफ्नो पढाई त्यति धेरै गाह्रो नभए पनि छोरीको पनि हेरचाहको ख्याल राख्नु पर्ने ।
‘गृहिणीको काम पनि देखिँदैन, फुर्सद पनि हुँदैन’ भन्छन् । चीन पुगेपछि म फेरि विद्यार्थी हुन त पाएँ, तर आमा भएकै कारण पनि गृहिणीको भूमिका पनि अझै छँदैथियो ।
आमाको भूमिकाले भित्री आनन्द पनि दिन्थ्यो । र, बेला बेलामा त अरु रमाइलो पनि दिन्थ्यो । मार्च आठका दिन चिनियाँ महिलाहरू धुमधामले विश्व श्रमिक महिला दिवस मनाउँछन् । छोरीले स्कूलमा सिकेकी होली, त्यही अवसरमा पहिलो पटक आफ्नै हातले कार्ड बनाएर मलाई पठाई ।
हिसी परेको उसको कार्डले अलि अलि बिरामी जस्तो भइरहेको बेलामा मनलाई सञ्चो बनायो । छोरी आफै फूल जस्ती छे, उसको मन पनि कोमल छ । करुणा भाव उहिलेदेखि नै थियो । भविष्यमा के हुन्छे भन्ने थाहा थिएन । केवल असल मान्छे भए पुग्छ भन्ने लाग्थ्यो ! यस्तो होस्, उस्तो होस् कुनै विशेष आकांक्षा राखेकी थिइनँ ।
चीनमा बच्चाहरूलाई पढाउने तरिका राम्रो भएकाले उसको बौद्धिक जग बलियो नै बन्दै होला भन्ने विश्वास थियो । र, त्यो विश्वास पुरा भएको पनि छ ।
त्यो बेला मेरो पेट बेला बेलामा दुखिरहन्थ्यो । के भएको थाहा थिएन । रातभरी पेटमा हात राखेर सुत्थेँ । निद्रा छैन केवल मनमा चिन्ता छ ।
शाङ्हाईमा त्यतिबेला हेपाटाइटिसको प्रकोप चलिरहेको थियो । धेरैजना बिरामी परेका थिए । अस्पतालहरूमा पनि धैरै बिरामी भर्ना भएर बेड पाउनै गाह्रो भएको कुरा सुन्थेँ । आफूलाई पनि केहीगरी अस्पतालमा जानु पर्यो भने त जीवन अझै चौपट हुन्छ भन्ने चिन्ताले सताइहेको थियो । अलिअलि ठीक भएजस्तो हुन्थ्यो, फेरि के अड्के जस्तो भएर सुत्नै गाह्रो हुन्थ्यो ।
मेरो होस्टलका धेरै जापानी विद्यार्थीहरू विभिन्न उमेरका थिए र प्रायः अविवाहित थिए । सबैजस्तो नै मेरो निम्ति असल थिए । भेट्दा मुस्कुराउने उनीहरूको राम्रो संस्कार हो ।
बरु चिनियाँहरू अलि भिन्दै लाग्थे । म विसञ्चो हुँदा माया गर्ने एकजना जापानी मित्रसँग मैले प्याच्च सोधिहालेँ ‘किन जापानका धेरै केटीहरू विवाह गर्न चाहँदैनन् ?’ वास्तविकता यस्तो नभएको पनि हुन सक्छ, तर मैले चिनेका प्रायः अविवाहित नै देख्थेँ ।
एकजना इरानी साथी र म दुईजना मात्र विवाहित थियौँ । अझ मेरो त बच्चा पनि थियो । मेरो प्रश्नको जवाफमा ती साथीले भनिन् – ‘जापान पुरुष प्रधान देश भनेर थाहा छैन तिमीलाई ?’
मनमनै सोचेँ– त्यसो त नेपाल झनै पुरुष प्रधान देश हो । तै पनि मैले त बिहे गरेँ मन मिलेको मान्छे भेटे पछि …। तर, मुखले यसो भन्नु अघि नै उनले कुरा थपिन्– ‘जापानी महिलाहरू अब स्वतन्त्रता चाहन्छन् । श्रीमानको सेवा सुसार गरेर जिन्दगी बिताउन चाहँदैनन् ! महिलाहरू सक्षम पनि भएका छन् । आफू खुसीले बाच्न चाहन्छन् …’
यो कुराले मलाई छोयो । वास्तवमा मेरो सोच पनि यस्तै थियो सुरुमा । एउटै उद्देश्यको आन्दोलनमा भेटेको सरोज र बाहिरका लोग्नेमान्छेहरूमा अवश्य फरक थियो । आफूले खोजेजस्तो मान्छे नभेटेसम्म त म पनि अविवाहित बस्ने नै सोचाई थियो । कामकै दौरानमा भेट भयो । यो ठूलो कुरा थियो मेरो निम्ति ।
कुनै पनि समाज स्वस्थ रहनका निम्ति पुरुष र महिलाको सामाजिक धरातल समान हुनु कति जरुरी हुँदो रहेछ । चीनमा पुगेपछि यो कुरालाई अझ प्रष्ट बुझिरहेकी थिएँ । वास्तवमा संसार नै पुरुष प्रधान छ अझै । जबजब महिलाहरू शिक्षित र सक्षम हुँदै जान्छन्, समाज पनि परिवर्तन हुँदै जान्छ र पुरुष प्रधानता कमजोर हुन थाल्छ ।
अरु विद्यार्थीहरूको दाँजोमा मेरो जिम्मेवारी बढी थियो । पढ्नु मात्र नभएर छोरीलाई पनि पढाउनु पथ्र्यो, छोरीको हेरविचार गर्नु पथ्र्यो, बुढाको पनि ख्याल राक्नु पथ्र्यो ।
दुईवटा होस्टेलमा मेरो बसाइसराई भइरहन्थ्यो । बस चढेर ओहर दोहर गर्नु पथ्र्यो । त्यो बेलाको शाङ्हाईमा बस ज्यादै भीड हुन्थ्यो– साङघाइको घना जनसंख्याको कारण । सिटमा बस्ने अवसर कहिले कहिले मात्र मिल्थ्यो । जस्तै भीड भएपनि पुरुषहरूबाट दुव्र्यवहार भने कहिल्यै भोगिन ।
महिलाहरू भन्दा पुरुषहरूले नै बढी सतर्कता अपनाउँथे । दुव्र्यवहारको रिपोर्ट भएमा सजाय पनि कडा नै भोग्नु पर्ने रहेछ । त्यसैले पनि त्यति लामो समय चीनमा बस्दा ‘बलात्कार’का समाचार सुन्नु परेको थिएन ।
स्वास्थ्यको कारण म झन् झन् चिन्तिन हुन थालेको एउटा ठूलो कारण थियो साङ्घाईमा हेपाटाइटिस् बढ्नु । हेपाटाइटीसलाई चिनियाँ भाषामा ‘कानयान’ भनिन्छ ।
कानयान भनेपछि चिनियाँहरू असाध्यै डराउँथे । म पनि डराउन थालेँ । आफै जचाउन जाउँ भने अझै भाषाको समस्या बाँकी थियो । कहाँ कसरी जाने पनि थाहा थिएन । बुढा आफै डाक्टर तर, मलाई लिएर कुनै ठाउँमा जँचाउन जान पनि समय पाउँदैनथिए । म भने राती पनि त्यही डर र चिन्ताले झन् झन् निद्रा नलाग्ने र गल्न थालेकी थिएँ ।
थकित शरीर र मन बोकेरै हिँडिरहेँ । बुढासँग पनि चित्त दुख्न थाल्यो ‘कति काम काम भनेर बस्ने होला’ भनेर । फोनमा पड्केँ पनि एकपल्ट ।
बुढाले ‘उसोभए भोलि नै जचाउन जाउँला नि त’ भने पछि बल्ल मन सञ्चो भयो । दुखेको महशुस पनि कम हुन थाल्यो । नभन्दै बिचरा बुढा आफ्नो अस्पतालबाट बिदा लिएर खाना पनि नखाई मलाई लिन आए । र, सँगै नजिकैको अस्पतालमा पुग्यौँ ।
डाक्टरहरूले राम्रोसँग जाँच गरे । रगतको पनि जाँच भयो । जचाउने बेला ‘कहाँ दुखेको छ’ भनेर सोध्दा त कतै दुखेकै थिएन । अल्ट्रासाउण्ड गरेर हेर्दा पनि केही थिएन । सब ठीक !
उसो भए म बिरामी भएको हो कि होइन त ? आफैलाई शङका लाग्न थाल्यो । आफैलाई हाँसो पनि उठ्यो– कति आत्तिइछु भनेर ! मैले के के मात्र सोचिन त्यो बेला ! अलि अलि दुखेको जस्तो महशुस हुँदा नै सिङ्गै शाङ्हाईलाई तर्साइरहेको कानयान नै भैसकेको छ जस्तो लागेको थियो ।
छोरीलाई पनि सरे के गर्ने होला, विदेशमा सबै बिरामी भएर बस्नु परे के हालत हुने होला … जस्ता सोँचले त्यसै आत्तिएकी थिएँ ! धन्न केही भएको रहेनछ । कानयानको भूतले पो सताएको रहेछ !