Logo
Logo

धर्मको अर्को रूप ‘हिंसा’


252
Shares

भनिन्छ- धर्म एउटा आस्था हो । र, कसैको आस्थामाथि प्रहार गर्न पाइँदैन । तर, यति भन्न कन्जुस्याइँ गर्नु हुँदैन, धर्मको अर्को रूप हिंसा हो । यो कुरा तीतो लाग्ला, तर सत्य हो ।

अहिले कथा कथावाचिका देवी प्रतिभाको ‘धर्मशास्त्रमा डिभोर्स भन्ने शब्द छैन’ अभिव्यक्ति चर्चामा छ । उनीमाथि महिला हिंसा प्रोत्साहन गरेको आरोप छ । तर, समग्र धर्मले नै हिंसालाई प्रोत्साहन गरिरहेको छ ।

कुनै एक धर्म विशेष कुरा गरिरहेको छैन । यो धर्म राम्रो, त्यो धर्म नराम्रो भन्न पनि होइन । समग्र धर्मको कुरा गरेको हुँ । र, भन्छु– अपवादबाहेक धर्मको सुरुवात सिंहबाट हुन्छ ।

मान्छेमा आफै कुनै धर्म हुँदैन । उसको गुण÷दोषको अनुसार धर्म निर्धारण हुँदैन । पढाइ, पेसा, पद–प्रतिष्ठान, सम्पत्ति, रुपरंगले पनि निर्धारण गर्दैन । उ हुर्केको परिवार, समाज र वातावरणले प्रभाव पार्छ ।

धर्म मान्ने, नमान्ने अधिकार वैयक्तिक स्वतन्त्रता हो । कुन धर्म मान्ने त्यो पनि व्यक्तिकै जिम्मा हो । कुन धर्म राम्रो, कुन धर्म नराम्रो भन्ने मापक छैन । तर, धर्मको नाममा कुसंस्कारलाई अंगीकार नगर्दा राम्रो । नराम्रालाई त्याग्दै राम्रो । र, राम्रालाई अंगल्दा राम्रो ।

धर्म एक नशा हो । जुन नशा भयंकर डरलाग्दो छ । यसको मात लागेपछि जोकोही मदहोस हुन्छन् । के भ्रम, के यथार्थ छुट्टाउन सक्दैनन् ।

जुनसुकै धर्महरू समाज सुधारको उद्देश्यले उदय भएको पाइन्छ । तर, त्यो नै शोषणको औजार बनेको छ । हरेक धर्माधिकारी एवम् तिनका अनुयायीहरूले आ–आफ्नो धर्म सर्वोकृष्ट ठान्छन् । शान्ति र अहिंसा भएको दाबी गर्छन् । तर, विश्वका ठूलठूला युद्ध र काटमारहरू धर्मकै आडमा भएका छन् ।

धर्मशास्त्र अनुसार संसारको सृष्टिको निम्ति भगवान् विष्णुले मधु र कैटभ नामका दुर्य दैत्यहरूको वध गरेका थिए । र, तिनैका रक्त, मांस, मज्जा र हड्डीबाट सृष्टिको प्रारम्भ गरे । त्यस्तै विष्णुले सुदर्शन चक्रको प्रयोग गरी शत्रुको संहार गरे ।

राम र कृष्ण विष्णुका खास अवतार मानिन्छन् । रामले तपस्यारत शूद्र शम्बूकको हत्या गरेका थिए । उनले आफ्नै मित्र बालीलाई समेत बाँकी राखेनन् । रावणसँग युद्ध गरी लङ्का ध्वस्त बनाए ।

कृष्णले अर्जुनलाई आफ्नो अधीनमा राखेर भाइभाइको बीचमा महाभारतको युद्ध गराए । शिवको अर्को नाम रुद्र पनि हो । यसको अर्थ रिस वा क्रोध हुन्छ । अहिले उनको रुद्रमा पनि पूजाअर्चना गर्छौँ । रुद्री यज्ञ लगाउँछौँ ।

नारी देवतामा काली, दुर्गा, लक्ष्मी र सरस्वती छन् । काली र दुर्गा हिंसामा रमाउँछन् । बर्सेनि लाखौँ पशुबलि यसैको नाममा दिइन्छ । केही वर्षअघिसम्म काठमाडौंको कोतमा सयौँ पशुको बलि दिइन्थ्यो । गढीमाई, दुर्गा, काली आदिको नाममा अझै पनि पशुबलि दिन प्रचलन छ । सरकारी कार्यालयमा अहिले पनि दसैँको नवदुर्गामा बोको काटेर पूजा गरिन्छ ।

भगवान्ले निरीह पशुलाई बलि दिएर मलाई खुसी पार्नु भनेका पक्कै छैनन् । हत्या र हिंसा गरेर भगवान्लाई खुसी पार्ने धर्मरूपी प्रचलनलाई पछ्याउँदै जाने हो भने हाम्रो पापरूपी स्वभाव कति निर्दयी र कठोर होला ? हिंसालाई धर्म मान्ने हो भने पापको रूप त झन् के होला ? जति बलि चढाए पनि यहाँ शान्ति छैन । बरु झन्झन् अशान्ति छ ।

जुनसुकै धर्महरू समाज सुधारको उद्देश्यले उदय भएको पाइन्छ । तर, त्यो नै शोषणको औजार बनेको छ । हरेक धर्माधिकारी एवम् तिनका अनुयायीहरूले आ–आफ्नो धर्म सर्वोकृष्ट ठान्छन् । शान्ति र अहिंसा भएको दाबी गर्छन् । तर, विश्वका ठूलठूला युद्ध र काटमारहरू धर्मकै आडमा भएका छन् ।

अरू धर्म पनि हिंसकै रूप हो । इस्लाम धर्म पनि धर्मगुरुहरूको शोषण र उत्पीडनको औजार बनेको पाइन्छ । कुनै देशमा चर्चहरू राज्यका संयन्त्रभन्दा शक्तिशाली छन् । धर्मले शासकीय चरित्र ग्रहण गरेपछि त्यो हत्या, हिंसा र रक्तपातमा मुछिनु नौलो कुरा रहेन । युरोप महाद्विपमा भएका सबै युद्धका चालक र निर्णायक इसाई चर्चहरू नै थिए ।

१२औँ÷१३औँ शताब्दीमा जो कोहीलाई ज्यूँदै जलाउनेसम्मको सजाय दिन सक्ने अधिकार चर्चहरूले राख्दथे । तेह्रौँ शताब्दीमा ब्रिटिस वैज्ञानिक रोजर बेकनलाई ईश्वरलाई चुनौती दिएको अभियोगमा जिन्दगीभर जेलमा सडाइएको थियो ।

त्यस्तै चर्चको भ्रष्टाचारको विरोध गर्ने यान हुसानलाई चर्चकै फैसलामा ज्यूँदै जलाइएको थियो । फ्रान्सेली योद्धा जोन अफ आर्क नामकी युवतीलाई पनि खम्बामा बाँधेर ज्युँदै जलाएका थिए । इलाटीका दार्शनिक, खगोलशास्त्री तथा कविलाई जोर्दानो ब्रुरुनोलाई पनि ईश्वरनिन्दाकै अभियोगमा चर्चले ज्युँदै जलाएको थियो ।

इटालीकै अर्का महान् वैज्ञानिक ग्यालिलियोले पृथ्वीले सूर्यलाई घुम्छ भनी सिद्ध गरेबापत परमेश्वरको वाणी बाइबलमाथि धावा बोलेको अभियोगमा जीवन कैद र गृहबन्दी बनेर बिताउनुप¥यो । उनको मृत्यु सन् १६४२ मा बन्दी अवस्थामा नै भयो ।

सुडानमा २२ वर्ष युद्ध पनि मुस्लिम र क्रिश्चियनबीचको वैमनष्यले भएको थियो । जसमा बीस लाख भन्दा बढीको मृत्यु भयो । त्यति मात्रै नभइ लेबनानको गृहयुद्ध, आयरल्यान्ड र बेलायतको युद्ध धार्मिक आधिपत्यका लागि नै भएको थियो ।

यता, बौद्ध धर्मको मूल मर्म ज्ञान, सत्य र अहिंसा हो । बुद्धको सम्पूर्ण वाणी र कर्म यसैका लागि समर्पित रह्यो । तर, पछिल्ला अनुयायीहरूले यसलाई पनि हिंसाबाट पृथक राख्न सकेनन् । बुद्धको नाम र धर्मलाई नै हतियार बनाएर शोषण गर्नेहरूको कमी छैनन् । आफूलाई प्रकृति पूजक मान्ने किरातहरूले पनि पशु बलि दिएरै प्रकृतिको पूजा गरिरहेको पाइन्छ ।

समाज वर्गहरूमा विभाजित छ । अलग वर्गका अलग अलग स्वार्थहरू छन् । त्यही स्वार्थबाट धर्म पनि विकसित र विस्तारित हुँदै आएको छ । यसरी स्वार्थहरू टकराउँदै जाँदा त्यो युद्ध, हिंसा र रक्तपातमा विकास हुन्छ । धर्मको उत्पत्ति जहाँ, जहिले जसरी र जुन उद्देश्यका साथ भएपनि अन्ततः त्यो शासक वर्ग र तिनका महिमागायकहरूकै हतियार बन्ने गरेको छ ।

धर्म र हिंसा तथा अहिंसाबारे धेरै थरीको बुझाइ छ । कसैले देवता र धर्मको नाम लिएपछि जुनसुकै प्रकारका हिंसालाई पनि छुट दिने गरेको पाइन्छ । त्यो हामीले देखिरहेका छौँ । बलिको नाममा गरिने प्राणी हत्याको विरोध धर्मगुरुहरूले पनि कहिल्यै गरेका छैनन् ।

आजको विश्वमा इराक, अफगानिस्तान, पाकिस्तान र अफ्रिकी मुलुक धार्मिक युद्धकै कारण आगो बलिरहेको छ । त्यसको निर्दोष मान्छेहरू भइसकेका छन् । तर त्यसविरुद्ध धार्मिक संघ संस्थाहरूले कहिल्यै विरोध गरेको पाइँदैन ।

धर्म स्वभाव हो, धर्म प्रत्येक व्यक्तिभित्र हुनुपर्छ । धर्म आफ्नो कर्मबाट प्राप्त हुन्छ, मन्दिरबाट होइन भन्ने कुरा कहिले बुझ्ने ? हो, हामीले हाम्रो धर्म–संस्कारलाई जोगाउनुपर्छ । तर, रुढीवादी भ्रमलाई कहिलेसम्म पालिराख्ने ? कुसंस्कारलाई संस्कारको रूपमा कहिलेसम्म अँगालिराख्ने ?

हामी मानव विकासको उच्चतम युगमा छौँ । हामीसँग कानुन छ । संविधान छ । के असल के खराब छुट्टाउन सक्छौँ । संस्कार र कुसंस्कार छुट्याउने हैसियत छ । तर, पहिलादेखि नै धर्मको नाममा चलिआएको कुसंस्कारलाई हटाउन सकेका छैनौँ । यस्ता कुसंस्कारलाई हटाएर विश्व मानव कल्याणको पक्षमा कर्म गर्नु नै धर्म हो ।

प्रतिक्रिया दिनुहोस्