काठमाडौं । बंगलादेश छाडेर भागेकी शेख हसिनाका छोरा सजीव वाजेदले अहिले पनि संविधानअनुसार आफ्नी आमा नै प्रधानमन्त्री भएको बताएका छन् । आफ्नी आमाले प्रधानमन्त्री पदबाट आधिकारिकरूपमा राजीनामा नदिएको दाबी गर्दै उनले यस्तो बताएका हुन् ।
अमेरिकामा रहेका वाजेदले अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्ससँग भनेका छन्, ‘मेरी आमाले आधिकारिक रूपमा राजीनामा दिनुभएको छैन । त्यसका लागि उहाँले समय नै पाउनुभएन । उहाँले वक्तव्य जारी गरेर राजीनामा दिने तयारी गर्नुभएको थियो । तर आन्दोलनकारीहरूले प्रधानमन्त्री निवास घेरेर ¥याली गर्न थाले । उहाँले आफ्नो सामान त सबै प्याकिङ गर्न भ्याउनु भएन । त्यसैले संविधान अनुसार उहाँ अझै पनि देशको प्रधानमन्त्री हुनुहुन्छ ।’
राष्ट्रपतिले सैनिक प्रमुख र विपक्षी दलहरूसँग परामर्श गरेर संसद् विघटन गरेपनि प्रधानमन्त्रीले औपचारिक रूपमा राजीनामा नदिई गठन गरिएको अन्तरिम सरकारविरुद्ध अदालत जान सकिने चेतावनीसमेत उनले दिएका छन् ।
बंगलादेशमा आरक्षण प्रणाली सुधारको माग गर्दै विद्यार्थीहरूको एक महिना लामो आन्दोलनपछि प्रधानमन्त्री हसिना देश छाडेर भारत निर्वासित भएकी छन् । हसिनाको बहिर्गमनपछि बंगलादेशमा नोबल पुरस्कार विजेता तथा अर्थशास्त्री मोहम्मद युनुस नेतृत्वमा १७ सदस्यीय अन्तरिम सरकार गठन भइसकेको छ ।