एजेन्सी । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले आफ्नो हार भएको स्वीकार गरेका छन् । यद्यपि, आन्दोलनमा विदेशी शक्तिको हात रहेको आरोप लगाएका छन् ।
आफ्नो पार्टी अवामी लिगका समर्थकहरुलाई पठाएको सन्देशलाई उदृत गर्दै भारतको द प्रिन्टले लेखेको छ, ‘मैले सेन्ट मार्टिन र बे अफ बंगाल अमेरिकालाई दिएको भए म सत्तामै रहन सक्थें ।’
अमेरिकासँग लामो समयदेखि हसिनाको सम्बन्ध तनावपूर्ण थियो । उनले गएको जनवरीमा एक जना गोरा व्यक्तिले एयरबेसको बदलामा सहजै शक्ति दिने बताएको अभिव्यक्ति दिएका थिए ।
उनले आफ्नो वक्तव्यमा भनेका छन्, ‘मैले राजीनामा दिएँ ताकी मैले शवहरुको जुलुस देख्नु नपरोस् । उनीहरु विद्यार्थीको शरीरमार्फत शक्तिमा आउन चाहन्थे, मैले त्यसलाई अनुमति दिइन, म देशमा थिएँ भने अहिले झन् धेरैको मृत्यु हुन्थ्यो होला, धेरै सम्पत्तिमा क्षति पुग्थ्यो होला ।’
उनले वक्तव्यमा आफू छिट्टै फर्किने भनेको समेत द प्रिन्टले उल्लेख गरेको छ । ‘म छिट्टै फर्किन्छु, हार मेरो हो, तर जित बंगलादेशका नागरिकहरुको हो, मैले आफैंलाई हटाएँ, तर तपाईंहरुको जितका साथ आएँ । तपाईंहरु मेरो शक्ति हुनुहुन्थ्यो, तपाईंहरु मलाई चाहनु हुन्थेन । त्यसैले मैले छाडेँ, राजीनामा दिएँ ।’
उनले अगाडि भनेकी छन्, ‘मेरा जति पनि कार्यकर्ता छन्, उनीहरुको मनोबल गिर्दैन, अवामी लिग पटकपटक उठेको छ ।’ हसिनाले आफ्नो भनाइलाई बंग्याएर प्रस्तुत गरिएको आरोप पनि लगाइन् ।
‘म मेरा युवा विद्यार्थीहरुलाई दोहोर्याउन चाहन्छु, मैले कहिल्यै रजाकर भनेको थिइनँ, मेरो शब्दहरु बंग्याइए’, उनले भनेकी छन्, ‘एउटा समूहले तपाईंहरुको खतराको फाइदा उठायो ।’
दुई महिनादेखि चलेको विद्यार्थी आन्दोलनले उग्र रुप लिएपछि २१ साउनमा राजीनामा दिँदै हसिना प्रधानमन्त्री निवासबाटै हेलिकप्टरमार्फत देशबाहिर निस्किएका थिए ।