Logo
Logo

प्रधानसेनापति शर्मा पनि विवादमुक्त हुन् सकेनन्


630
Shares

काठमाडौं । नेपाली सेनाको ४४औं प्रधानसेनापति बनेका प्रभुराम शर्माको अवकाश हुँदै गदा उनी गुमनाम थिए कि बद्नाम थिए भन्नेबारेमा बहस शुरु भएको छ । विगतमा राजेन्द्र क्षेत्री जस्तो थिए कि उनी भन्दा बद्नाम थिए भन्ने बारेमा पनि बहस भएको छ ।

क्षेत्रीका बारेमा अकुत सम्पत्ति आर्जन गरेको समाचार आएकै थिए । यिनका बारेमा पनि त्यस्ता केही समाचार नआएका होइनन । दु्रतमार्गको ठेक्का प्रकरणदेखि हतियार खरिद प्रकरणसम्म आइपुग्दा प्रधानसेनापति शर्माको बारेका धेरै नै टिका टिप्पणी उठेका छन् । तर, सेनाको विषयमा जसले बाहिर चर्चा गर्यो त्यो राष्ट्रिय सेना विरोधि भएको आरोप लाग्ने भएकाले सञ्चारकर्मीहरू समेत चुपचाप बस्ने गरेका छन् ।

सैनिक अधिकारीहरूको शैक्षिक प्रमाणपत्र र उमेरको विवादको विषयमा भने शर्मा र पूर्वप्रधानसेनापति पूर्णचन्द्र थापा दुवै चुकेको देखियो । थापा र शर्मा मिलेरै सेनामा नक्कली शैक्षिक प्रमाण पत्र र नागरिकता खोज्ने अभियान चलाएका थिए । दुवैले सबै कुरा मिलिसकेको भन्दै पटक–पटक मिडियामा प्रचार गरे ।

तर, कालान्तरमा ती समस्याहरू बाहिर एकपछि अर्को आइरह्यो । जुन संगठनको हितको लागि थिएन ।
ती घटनाहरूले सैनिक संगठनभित्र नेतृत्वले ‘आफ्नालाई काखा र अरुलाई पाखा’ लगाउने प्रवृत्ति बाँकी छ कि भन्ने देखियो । अहिले यही प्रवृत्ति दोहोरिएको छ ।

शर्मा सैनिक नेतृत्वबाट एक महिने घर बिदामा बसिसकेका छन् । तीन वर्षे कार्यकाल सिध्याएर सैनिक परम्परालाई निरन्तरता दिँदै उनी एक महिने घर बिदामा बसेका छन् । नेपाली सेनाको इतिहासमा सम्भवतः ब्राह्मण समुदायबाट प्रधानसेनापति हुने उनी नै पहिलो हुन् । उनले एउटै विवादमा परेका राराध्वज पाण्डेलाई रोकेर अशोकराज सिग्देललाई प्रधानसेनापति बनाए ।

नेपाली सेनाको कमान्ड सम्हालेको बिहीबार तीन वर्ष पूरा भएपछि शुक्रबार शर्मा सैनिक मुख्यालयमा आएनन् । बिदा बस्नु अघिल्लो दिन अर्थात् बिहीबार कामु प्रधानसेनापति सिग्देललाई बुझबुझारथ गरी उनले कमान्ड हस्तान्तरण गरेका थिए ।

बिहीबार नै नेपाली सेनाको कमान्ड कामु प्रधानसेनापति सिग्देललाई हस्तान्तरण गरे पनि उनको औपचारिक अवकाश भने भदौ २५ गते हुनेछ ।

काठमाडौं–तराई÷मधेस द्रुतमार्गका १२ वटा प्याकेजको ठेक्का कार्य सुरु भएको, नौ वटा सुरुङमार्गमध्ये चारवटाको ‘ब्रेक थ्रु’ भइसकेको, पहिलोपल्ट अग्ला पुलको निर्माण कार्य अगाडि बढेकोलगायत विवरण सार्वजनिक गरेका थिए । आफू बिदा हुनुअघि उनले प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री विष्णु पौडेल र रक्षामन्त्री मानवीर राईलाई फास्ट्र ट्रयाकको अवलोकन मात्र गराएनन्, एक कार्यक्रमको आयोजना गरेर सुरुङमार्गको ‘ब्रेक थ्रु’ उद्घाटनसमेत गराए ।

शर्माले पूर्णचन्द्र थापाले नेपाली सेनालाई नयाँ संरचनामा लाने भनी यसअघि गरेको निर्णयलाई खारेज गरिदिएका थिए । यो अत्यन्तै संवेदनशील विषय थियो ।

अविछिन्न उत्तराधिकारीको हैसियतले चारवटा कमान्ड किन स्थापना भएको थियो र अहिले किन खारेज गर्नुप¥यो भन्ने प्रश्नको जवाफ नदिईकन उनले सेनालाई पुरानै संरचनामा फर्काएका थिए । ७ प्रदेशमा पृतना नराखेर कमान्डमा लैजाँदा तत्कालीन प्रधानसेनापति पूर्णचन्द्र थापाले सेनालाई समयसापेक्ष बनाएको दाबी गर्दा शर्मा प्रधानसेनापति बन्ने पक्कापक्कीजस्तै भइसकेको थियो ।

एक वर्षपछि नै सेनालाई पुरानै संरचनामा लगेका शर्मा समन्वयका लागि पृतना र बाहिनीकै संरचना किन आवश्यक प¥यो भन्ने विषयमा भने जवाफविहीन बनेका छन् । नेपाली सेनामा पूर्वी, मध्य, मध्यपूर्वी, उपत्यका, पश्चिम, मध्यपश्चिम, उत्तरपश्चिम र सुदूरपश्चिम गरी आठ पृतना छन् ।

तत्कालीन प्रधानसेनापति थापाले पूर्वी कमान्ड, मध्य कमान्ड, उपत्यका कमान्ड र पश्चिम कमान्ड गरी चार कमान्डको अवधारणा सिर्जना गर्दा ‘वेटिङ’ प्रधानसेनापति मौन बस्नु श्रेयष्कर थिएन । खासमा उनी नेतृत्वमा क्रमभंगता गरे पनि सेनाको संरचनामा यथास्थितिमै फर्केका थिए ।

त्यति मात्र होइन, गत वर्ष उपरथीबाट रथीमा बढुवाका लागि प्रस्ताव गरिएका ताराध्वज पाण्डेको पक्षमा नेपाली सेनाजस्तो अत्यन्तै जिम्मेवार संगठनबाट विज्ञप्ति जारी गर्न लगाई प्रतिरक्षा गरिएको थियो। सैनिक जनसम्पर्क निर्देशनालयका तत्कालीन प्रमुख सहायक रथी कृष्णप्रसाद भण्डारीलाई विज्ञप्ति जारी गर्न लगाइएको थियो। पछि पाण्डेको जन्ममिति विवाद बढ्दै गएपछि राजीनामा दिन किन बाध्य पारियो भन्ने जबाफ प्रधानसेनापतिको हैसियतले कहींकतै दिनुपरेन ।

अर्का उपरथी प्रेमबहादुर शाहीले शर्माकै कार्यकालमा सैनिक हिरासतसम्म बस्नुप¥यो। उमेर विवादकै कारण शाही र सेनाको लडाइँ सर्वोच्चसम्म पुग्यो। दुईथरी उमेर रहेका शाहीलाई सेनाले अघिल्लो उमेरका आधारमा अवकाशको पत्र थमायो । तर, त्यसविरुद्ध शाही सर्वोच्च पुगे । सर्वोच्चले शाहीको पक्षमा फैसला गर्दै जागिर लम्बिने बाटो खोलिदिएपछि सर्वोच्चले दिएको जागिर लम्ब्याउने आदेश शर्माले स्वीकार गरेनन् र शाहीलाई आर्थिक अपचलनको आरोप लगाएर सैनिक हिरासतमा राखिदिए ।

शर्माकै कार्यकालमा एउटा हेलिकोप्टर मर्मतका लागि रुस पु¥याइयो। त्यो फिर्ता आउने कि नआउने भन्ने अहिलेसम्म जानकारी छैन। त्यति मात्र होइन, कूटनीतिक र सैन्य महत्त्वका हिसाबले भारत र चीनसँगको सम्बन्ध समदुरीमा रहनुपर्ने नेपालको मूल नीति हो। तर, सेनाले यसै वर्ष चीनबाट राष्ट्रसंघ शान्ति मिसनका लागि आवश्यक सामान खरिद गरेको विषयमा भारतले चासो लिएको थियो ।

प्रतिक्रिया दिनुहोस्