काठमाडौं । बङ्गलादेशका पूर्व प्रधानमन्त्री शेख हसिनाले आफ्ना समर्थकलाई आफ्नो बुबाको हत्याको वार्षिकोत्सव मनाउन राजधानी ढाकामा सार्वजनिक रूपमा उपस्थित हुन आह्वान गरेका छन् ।
डा. मोहम्मद युनुसको अध्यक्षतामा मंगलबार बसेको सल्लाहकार परिषद्को बैठकले अगस्ट १५ तारिख अर्थात् भोलिको राष्ट्रिय शोकको सार्वजनिक बिदा नदिने निर्णय गरेपछि पूर्व प्रधानमन्त्री हसिनाले आफ्ना सर्मथकलाई स्वफुर्तरुपमा आफ्नो बुबाको हत्याको वार्षिकोत्सव मनाउन सार्वजनिक रूपमा उपस्थित हुन आग्रह गरेका हुन् ।
बङ्गलादेशको सेनाको एक समूहले सन् १९७५ को अगस्ट १५ मा बङ्गलादेशका संस्थापक प्रथम राष्ट्रपति शेख मुजिबुर रहमानसहित उनको परिवारका धेरै सदस्यको हत्या गरेको थियो ।
यसैको सम्झनामा यसअघि हरेक वर्ष अगस्ट १५ मा बङ्गलादेशमा सार्वजनिक बिदा दिने गरिएको थियो । तर, हसिना पदच्युत भएपछि अन्तरिम सरकार प्रमुख बनेका युनुसले उक्त बिदा कटौती गर्ने निर्णय गरेको हो ।