काठमाडौं, २३ बैशाख ।
सरकारले जेठको पहिलो हप्तासम्म लकडाउन थप्ने भएको छ । उच्चस्तरीय समन्वय समितिको २४ औं बैठकले लकडाउन थप्न सिफारिस गरेको छ । थपबारे बुधबारको मन्त्रिपरिषद्को बैठकले निर्णय गर्ने सचिव नारायण प्रसाद बिडारीले बताए ।
समितिको बैठकमा मंगलबार प्रधानमन्त्री केपी शर्मा ओली समेत थिए । उनले लकडाउनलाई कसरी अघि बढाउने बारे मन्त्रीहरुको सुझाव लिएका थिए । धेरैले जेठपछि मात्र खुकुलो बनाउँदै लैजानुपर्ने बताएका थिए ।
लकडाउनको ४३ दिन हुँदा समेत नयाँ बिरामी बढेका छन् । अर्काेतर्फ लक्षण नदेखिने भएकाले लकडाउन खोल्दा धेरैमा संक्रमण बढ्ने जोखिम छ । यस्तो अवस्थामा पूर्ण रुपमा स्वास्थ्य सुरक्षा अपनाएर जेठपछि केही कार्यालयहरु खोल्न सकिने प्रतिवेदन बनेको छ । ओषधी पत्ता नलागेकोले लकडाउनको अवस्था महिनौं जान सक्ने जोखिम बढेको छ ।