Logo
Logo

भारतीय विदेश सचिवको भ्रमणको रहस्य


पूर्णहरि अमात्य

5.3k
Shares

यो पङ्क्तिकारले मित्र राष्ट्र बंगलादेशको छ दिने भ्रमण गरेको करिब डेढ दशक नाघिसकेको छ । तर पनि उक्त भ्रमणको दौरानमा त्यहाँका पत्रकार मित्रहरूसँगको अन्तरंग वार्ताहरूमा विद्यमान राजनीतिक, आर्थिक, सामाजिक अवस्था बुझ्ने मौका मिल्यो ।

विशेष गरेर राजधानी ढाकामा कार्यरत पत्रकार हुसेन सहरियारसित त्यहाँ मात्र होइन, काठमाडौंमा समेत भेट हुँदा शेख हसिनाको निरंकुश शासनले सर्वसाधारण जनताले अनाहकमा दुःखकष्ट झेलिरहेको कुरा अहिले झल्झली सम्झिरहेको छु ।

विगतमा इरानका तानासाह मोहम्मद रेजा पहल्बीको शासनकालमा उनका अनुचरहरूले श्वेत क्रान्ति (ह्वाइट रिभ्यूलेशन) मच्चाएको सुनिन्थ्यो । त्यसैगरी हसिनाको समर्थकहरुले बंगलादेशमा त्यस्तै आतंक मच्चाएका थिए ।

सत्तामा पुगेपछि हसिना कतिसम्म तानासाही बने भन्ने कुरा अहिलेको घटनाबाट पनि प्रस्ट हुन्छ । त्यति हुँदाहुँदै पनि हसिनाकै कार्यकालमा बंगलादेशले ७.८ प्रतिशत आर्थिक वृद्धिदर हासिल गरेको थियो । अर्थतन्त्र सुधार हुँदैमा जनता सन्तुष्ट हुन्छन् भन्ने छैन । जनतालाई स्वतन्त्रता बढी मन पर्छ भन्ने कुरा अहिलेको विद्रोहले उजागर गरेको छ ।

बंगलादेशमा प्रचण्ड बहुमतले केही महिनाअघि मात्र सत्तासिन शेख हसिनाको सत्ता कसरी तासको पत्ताझैँ ढल्यो । तत्कालीन भारतीय प्रधानमन्त्री इन्दिरा गान्धिले सोभियत संघसित सन् १९७१ मा २० वर्षे शान्ति सम्झौता गरेर हसिनाका पिता शेख मुजिवर रहमानलाई पूर्वपाकिस्तान (हाल बंगलादेश)बाट पृथक् गर्न गरेको आन्दोलनमा खुलेआम समर्थन गरेर त्यहाँको अखण्डता तथा स्वाधीनतामाथि हस्तक्षेप गरिन् ।

अविभाजित पाकिस्तानका नेता जुल्फीकार अलि भुट्टो जसरी भए पनि पाकिस्तानको स्वाधीनता तथा अखण्डतालाई जोगाउने प्रयास गरेका थिए । तर सोभियत संघ तथा वार्साप्याक्ट (रुस समर्थितहरूको संगठन)को सक्रिय समर्थन भारतलाई भएपछि अमेरिकाका मित्र राष्ट्रहरूको सहयोगमा गठित सिआटो तथा सेन्टो मुलुकहरूले पूर्वी पाकिस्तान जोगाउन सकेनन् ।

बंगालको खाडी मुलुक केही दशकअघिसम्म विनाशलीला मच्चाउने गरी बाढी र समुद्री तुफानजस्तो प्राकृतिक विपत्ति हरेक वर्ष भोग्नुपर्ने नियति रहेको थियो । विशाल जनसंख्या, व्याप्त गरिबी, अनि सुशासन नभएको मुलुकका रुपमा बदनाम बंगलादेश स्वतन्त्र त भयो तर गरिबीले जनजीवन अस्तव्यस्त बन्यो । त्यसैले त होला तत्काल अमेरिकी परराष्ट्रमन्त्री हेनरी किसिञ्जरले त्यहाँको दूरावास्था देखेर, इन्टरनेशनल प्रोबलम बास्केट भनी तिखो टिप्पणी गरेका थिए ।

विशेष गरेर भारतीय सञ्चारमाध्यमहरूले बंगलादेशमा उत्पन्न संकटमा खुलेआम पाकिस्तान र चिनियाँहरूको प्रत्यक्ष संलग्नता भएको ठाडो आरोप लगाए । भारतको गोदी मिडिया भनेर कुख्याति कमाएकाहरूको यस्तो अनर्गल प्रचार कुनै नयाँ कुरा होइन ।

त्यहाँका युवा पुस्ताहरूले सरकारी सेवामा बंगलादेशको स्वतन्त्रता आन्दोलनमा भाग लिने परिवारहरूका लागि आरक्षणको विशेष व्यवस्था गरेकोमा व्यापक असन्तुष्टि थियो । तर उक्त असन्तुष्टिलाई दमन गर्न शेख हसिनाले प्रहरी प्रशासन र सेनासमेत लगाई दमन गर्ने प्रयास गरिन् ।

केही महिनाअघि मात्र सम्पन्न आम चुनावमा विएनपी (बंगलादेश नेशनलिष्ट पार्टी जसको नेतृत्व खालिदा जियाले गरिहेकी थिइन्)ले शेख हसिनाको नेतृत्वमा आम चुनाव निष्पक्ष र धाँधलीरहित हुन सक्दैन भनेर विरोध जनाइन् । र, सर्वमान्य व्यक्तिलाई नेतृत्वमा आमचुनाव गराउने अनुरोध गरिन् ।

त्यसलाई लत्त्याई शेख हसिनाले प्रतिपक्षीको बहिष्कारको कुनै वास्ता नगरी प्रहरी प्रशासनको बलमा सत्तामा पुगिन् । र, भारतको मोदी सरकारले विपक्षीहरूको सहभागिताबिना त्यहाँ भएको आम चुनावको परिणामलाई स्वागत गरेर शेख हसिनाको निरंकुशतालाई प्रोत्साहित ग¥यो । त्यसपछि शेख हसिनाको तानासाही प्रवृत्ति झन् झन् बढ्दै गयो । यो भारतीय शासकहरूको दोहोरो चरित्र हो ।

सन् २०१५ मा नेपालले जारी गर्न लागेको संविधानमा मधेस आश्रित दलहरूले माग गरेको विषयहरूको सम्बोधन नगरी संविधान जारी गर्नु हुँदैन भनी प्रशस्त वक्तव्यबाजी भारतले ग¥यो । त्यति मात्र होइन, संविधान जारी हुनु दुई–चार दिनअघि भारतीय विदेश सचिव एस जयशंकर (हाल परराष्ट्रमन्त्री) काठमाडौं आई सबै दलका नेपाली नेताहरूलाई यस्तो संविधान जारी गरेमा तपाईँहरूले नराम्रो नियति भोग्नुपर्ने छ भनी धम्क्याएर गएको कुरा ताजै छ ।

ढाकामा भएको अप्रत्याशित सत्ता परिवर्तन सँगसँगै नयाँ दिल्लीमा भर्खरै बहाली लिएका विदेश सचिव विक्रम मिश्री कार्यभार सम्हालेलगत्तै थिम्पु, त्यसपछि काठमाडौँ आए । उनी पक्कै पनि पशुपतिनाथको दर्शन गर्न आएका होइनन् । छिमेकी मुलुकहरूमा भारतको पकड कमजोर हुँदै गएकोमा त्यसलाई कसरी बलियो बनाउने भनेर भ्रमण गरेका हुन् ।

बंगलादेशको घटनामा अमेरिकाको हात रहेको स्वयं हसिनाले बताइसकेकी छिन् । तर त्यहाँको आन्तरिक राजनीतिक समस्या प्रमुख कारण हो– बंगलादेशमा हाल भएको विद्रोह । बंगलादेश चीनपछि तयारी पोशाकको ठूलो निर्यातक मुलुक हो । तर, त्यहाँका मजदुरहरूले केही महिनाअघि न्यूनतम ज्याला र अन्य सुविधाहरूको माग गर्दै हडताल गर्दा शेख हसिनाको शासनले व्यापक दमन ग¥यो ।

अर्को, हालै पदासीन बंगलादेश सरकार प्रमुख प्राडा मोहम्मद युनुसले ग्रामीण बैंकको माध्यमबाट समूह बनाई विशेषगरी भुइँमान्छे महिलाहरुलाई सस्तो दरमा ऋण प्रदान गरी जीवनस्तर उकास्न गरेको अनुकरणीय कामलाई समेत शेख हसिनाले गरिबहरूको शोषण गरेको आरोपमा जेल चलान गरे ।

त्यसैगरी प्रमुख प्रतिपक्षी नेतृ खालिदा जियालाई जेल कोचिन् । भारत र सोभियत संघको आडमा तत्कालीन पाकिस्तानलाई टुक्रा गरेर बंगलादेश बनाएकोमा त्यहाँका देशभक्त नागरिकहरू असन्तुष्ट थिए । र सबै यिनै कुराहरू एक ठाउँमा गुम्सिएर रहेको असन्तुष्टि ढाकाको सडकमा पोखियो र शेख हसिनाको विरुद्धमा सशक्त आन्दोलनले सेनाको सहयोगमा ज्यान जोगाएर भारतमा निर्वासन हुन बाध्य भइन् ।

शेख हसिनाको बहिर्गमनपछि आन्दोलनकारी विद्यार्थी नेतासमेत सहभागी भएको सरकारको नेतृत्वमा नोबेल पुरस्कार प्राप्त प्रा.डा. युनुसको सरकारले कार्यभार सम्हालिसकेको छ । र, युनुसबाट बंगलादेशले मात्रै होइन, विश्व समुदायले बंगलादेशको सर्वोतोमुखी विकासमा अग्रगामी छलाङ लगाउने छ भन्ने आशा गरेका छन् ।

१७ करोड जनसङ्ख्या, ठूलो क्षेत्रफलका साथै द्रुत गतिमा आर्थिक रूपले बढिरहेको दक्षिण एसियाको शक्ति भारत ढाकामा भएको अनपेक्षित परिवर्तनले हत्प्रभ भएको छ । यो भन्दा अघि माल्दिभ्समा भएको सत्ता परिवर्तनबाट पनि भारत खुसी छैन । किनकि, त्यहाँको चुनावको मुख्य मुद्दा नै भारतीय सैनिकको मालेबाट भारत फिर्ता गर्नुपर्छ भन्ने माग थियो ।

ढाकामा भएको अप्रत्याशित सत्ता परिवर्तन सँगसँगै नयाँ दिल्लीमा भर्खरै बहाली लिएका विदेश सचिव विक्रम मिश्री कार्यभार सम्हालेलगत्तै थिम्पु, त्यसपछि काठमाडौँ आएका छन् । उनी पक्कै पनि पशुपतिनाथको दर्शन गर्न आएका होइनन् । भारतको छिमेकी मुलुकहरूमा पकड कमजोर हुँदै गएकोमा त्यसलाई कसरी बलियो बनाउने भनेर पहिलो भ्रमण छिमेकी देश भुटान र नेपालबाट सुरु गरेका छन् ।
अमेरिकाको प्रसिद्ध हार्बर्ड विश्वविद्यालयमा अर्थशास्त्रको प्राध्यापकजस्तो प्रतिष्ठित पेसालाई तिलाञ्जली दिएर बंगलादेशी निमुखा सर्वसाधारणको उन्नयनमा समर्पित डा. युनुसले अन्तर्राष्ट्रिय कूटनीति पनि पक्कै बुझेको होलान् । ढाकाको सडकमा शान्ति बहाल भइसकेको छ । र, नयाँ सरकार जनताको जीउधनको सुरक्षाको साथै जनजीविकाको सवालमा अघि बढ्ने छ भन्ने सबैको आशा छ ।

हाम्रो पूर्वी सिमाना झापाबाट बंगलादेश १९ किलोमिटर परमात्रै छ । जसको वाञ्छित लाभ हामीले लिन सकेका छैनौँ । बंगलादेशसँग नेपालको दुई पक्षीय व्यापार छ । त्यसैले नेपालले सक्रिय कुटनीतिक माध्यमबाट हाम्रा कृषिजन्य उत्पादनहरू, फलफूल, जडिबुटी र दुग्धपदार्थ निर्यात गर्न विशेष पहलको आवश्यकता छ ।

४० मेघावाट विजुली नेपालबाट बंगलादेशमा निर्यात गर्ने अन्तिम प्रक्रियामा पुगिसक्दा अन्त्यमा आएर हालको राजनीतिक कारणले रोकिएको छ । त्यसतर्फ वर्तमान सरकारसँग यथाशीघ्र सम्पर्क कायम गरी उक्त कार्य सूचारु गर्न पनि त्यतिकै पहलको आवश्यकता छ ।

ढाकास्थित नेपाली दूतावासमा केही वर्ष अगाडि सैनिक सहचारीको दरबन्दी कायम गरियो, जसको कुनै खासै आवश्यकता थिएन । बरु त्यसको ठाउँमा इकोनोमिक काउन्सिलरको आवश्यकता छ, जसले दुई पक्षीय व्यापारमा सक्रिय भएर काम गर्न सकोस् ।

बंगलादेशको उखरमौलो गर्मीबाट त्राण पाउन बंगलादेशको सीमानाबाट नजिक चिसो र प्राकृतिक सौन्दर्यले भरिपूर्ण इलाम, धनकुटा, तेह्रथुम र संखुवासभामा आकर्षित गर्न सकिने ठूलो सम्भावना छ ।

प्रचारप्रसार गर्न मात्र सकिए उनीहरू अवश्य पनि रमाउने छन् । गत हप्ता होटल संघ नेपालले गरेको एउटा पर्यटनसम्बन्धी अन्तर्क्रिरयामा कोशी प्रदेश च्याप्टरका अध्यक्ष राजन श्रेष्ठले यो पङ्क्तिकारलाई विराटनगरस्थित आँखा अस्पतालले चटगाऊ (बंगलादेश) आँखा शिविर सञ्चालन गरेको र त्यसैगरी नेपाल नेत्र ज्योती संघले पनि लालबन्दी (बंगलादेश)मा आँखा शिविर सञ्चालन गरेको बताएका थिए ।

बंगलादेशीहरू आँखाको उपचारका लागि सस्तो हुनुको साथै उत्कृष्ट भएकोले राम्रो संख्यामा नेपाल आउने गरेका छन् । जुन एउटा मेडिकल टुरिजमको पाटो हो । आँखाका बिरामी त औषधोपचारका लागि त आउँछन् नै र, बिरामीसित अन्य मानिसहरू पनि साथमा आउने हुनाले पूर्वाञ्चलका रमणीय पर्यटकीय गन्तव्यहरूको बारेमा आक्रामक प्रचारप्रसार बंगलादेशमा हुनु वाञ्छनीय छ । बंगलादेशको सयदपूरबाट हाम्रो भद्रपूर वा विराटनगर सोझो हवाई सेवा सुरु गर्न सकिए दुई पक्षीय व्यापार तथा पर्यटकको आवतजावतमा ठूलो सहजता हुने थियो । बंगलादेश र नेपालबीच जनता, जनताबीचको सम्बन्ध स्थापित गर्न सकियो भने कृषि, जलस्रोत र पर्यटनमा ठूलो टेवा मिल्नेछ ।

प्रतिक्रिया दिनुहोस्