काठमाडौं, २४ बैशाख ।
कोरोना भाइरसमुक्त भएर घर गएका तीन जनामा पुनः संक्रमण पोजेटिभ देखिएको छ। यसले कोरोना परीक्षणमाथि गम्भीर प्रश्न उठाएको छ ।
डिस्चार्ज हुनुभन्दा अघिका दुई पटकको कोरोना संक्रमण परीक्षण नेगेटिभ आएपछि काठमाडौंस्थित सनसिटी अपार्टमेन्टका ५८ वर्षीय पुरुष र नारायणी अस्पतालबाट डिस्चार्ज भएका २ जना पुरुषमा पुनः कोरोना पोजेटिभ देखिएको हो।
डिस्चार्ज भएपछि फलोअप चेकअपका लागि आउने क्रममा जाँच गर्दा पुनः कोरोना पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। उनीहरु दुई जनालाई पुनः अस्पताल भर्ना गरिएको छ भने एक जना अस्पतालको निगरानीमा रहेको समेत मन्त्रालयले जनाएको छ।
जनस्वास्थ्य विज्ञहरूका अनुसार एकपटक कोरोना संक्रमणमुक्त भएर डिस्चार्ज भएका व्यक्तिमा पुनः कोरोना पोजेटिभ देखिनु थप जोखिमपूर्ण हुन्छ । यसैगरी, कोरोना पोजेटिभ भएका व्यक्तिमा पनि ल्याब परीक्षणका क्रममा त्रुटि हुँदा पनि डिस्चार्ज भएका व्यक्तिमा पुन कोरोना देखिन सक्ने आँकलन गरिएको छ ।
डिस्चार्ज भएर घर गएको व्यक्तिमा अन्य व्यक्तिबाट पुनः संक्रमण सरेको हुन सक्ने संभावना भएका कारण पनि एक पटक कोरोना मुक्त भएका भनिएका व्यक्तिमा पुन कोरोना संक्रमण देखिन सक्छ।
एक जनामा पुनः संक्रमण देखिएपछि काठमाडौंको सनसिटी अपार्टमेन्टमा कोरोना मुक्त भएर फर्केका दुई र थप एकसहित तीन जनालाई फेरि पाटन अस्पतालको आइसोलेसन वार्डमा भर्ना गरिएको छ।
संक्रमणमुक्त भइसकेका सनसिटी अपार्टमेन्टमा बस्दै आएका आमा र छोरामा कोरोना संक्रमण कायमै रहेको आशंका भएपछि उनीहरुलाई आज बिहान पुनस् अस्पताल र्पुयाइएको हो। यी दुईसँगै बुहारीलाई पनि अस्पताल लगिएको हो।