जेनेभा । संयुक्त राष्ट्रसङ्घका सङ्गठनहरूले गाजापट्टीमा बालबालिकाहरुलाई पोलियो विरुद्ध दुई चरणको खोप अभियान सञ्चालन गर्न गाजामा चलिरहेको लडाइँमा प्रत्येक चरणका लागि सात दिनको युद्धविरामको आह्वान गरेका छन् ।
संयुक्त राष्ट्रसङ्घको स्वास्थ्य एवं बाल सङ्गठनहरूले यस महिनाको अन्त्यदेखि प्यालेस्टिनी क्षेत्रभरी खोप अभियान चलाउने विस्तृत योजनाहरू तयार पारेको बताएका छन् । तर यसका लागि चलिरहेको इजरायल र हमासबिचको लडाइँमा रोक लगाउन आवश्यक रहेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) र युनिसेफले बताएका छन् ।
डब्लुएचओ र युनिसेफले गाजापट्टीमा पोलियो भाइरस विरुद्ध दुई चरणको खोप अभियानको योजना बनाइरहेको जानकारी गराएका छन् । गत महिना जुन २३ मा गाजामा सङ्कलन गरिएका वातावरणीय निगरानी नमुनामा पोलियो भाइरस पत्ता लागेको घोषणा गरिएको थियो ।
‘डब्लुएचओ र युनिसेफले द्वन्द्वका सबै पक्षलाई गाजापट्टीमा दुई चरणको खोप अभियानलाई अनुमति दिन प्रत्येक चरणमा सात दिनका लागि द्वन्दव रोक्न अनुरोध गर्दछ’, दुई एजेन्सीले आह्वान गरेका छन् । डब्ल्यूएचओका प्रवक्ताले प्रत्येक चरणका लागि सात दिनको युद्धविराम माग गरेको बताएका छन् । मानवीय विरामबिना यो अभियान सम्भव छैन । गाजापट्टी विगत २५ वर्षदेखि पोलियो मुक्त छ ।
‘गाजापट्टीमा जनस्वास्थ्य सुरक्षा सुनिश्चित गर्ने एक मात्र उपाय युद्धविराम हो । अभियानको प्रत्येक चरणमा संयुक्त राष्ट्रका एजेन्सीहरूले गाजाको स्वास्थ्य मन्त्रालयसँग सहकार्य गरेर १० वर्ष मुनिका ६ लाख ४० हजार भन्दा बढी बालबालिकालाई नोवेल ओरल पोलियो खोप (एनओपिभी–२) को दुई थोपा प्रदान गर्नेछ’, डब्लुएचओ र युनिसेफले जनाएको छ ।
पोलियो भाइरस प्रायः ढल र दूषित पानीबाट फैलिन्छ र यो अत्यधिक सङ्क्रामक रोग हो । यसले पक्षाघात निम्त्याउन सक्छ र मुख्यतया पाँच वर्ष मुनिका बालबालिकालाई असर गर्छ ।