Logo
Logo

लुम्बिनी एमालेमा ओली आतंक


3.2k
Shares

काठमाडौं । एमालेभित्र स्पष्ट रुपमा दुई धार देखिएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीलाई अध्यक्ष मानेपनि ओलीकै कारण दुई धार देखिएको हो । जसका कारण अहिले एमाले उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलबीच देशभर नै गुटगत राजनीति अघि बढिरहेका छन् । जसको परिणाम लुम्बिनी प्रदेशमा कसको शक्ति बलियो बनाउने भन्ने होडबाजी चलेको छ ।

पार्टीको आन्तरिक जीवनमै लुम्बिनी प्रदेशमा भाँडभैलो भएको छ । प्रदेश अधिवेशनदेखि नै समस्या रहेको लुम्बिनी प्रदेशमा एमाले उपाध्यक्ष पौडेल र महासचिव पोखरेलबीच आन्तरिक द्वन्द रहेका कारण झन् भाँडभैलो उत्पन्न भएको हो । बुटवलबाट प्रदेश राजधानी देउखुरी सार्दादेखि नै पौडेल र पोखरेलबीच विवाद चर्किएको थियो । पौडेल राजधानी बुटबलमा राख्न चाहन्थे तर, पोखरेलले दाङ पु¥याए ।

उपाध्यक्ष पौडेलनिकट रहेका सांसद लिला गिरीले संसदीय दलको नेताबाट राजीनामा दिएपछि अहिले संसदीय दलको नेतामा चेतनारायण आचार्य चयन भएका छन्् । शनिबार बसेको एमाले लुम्बिनी प्रदेश संसदीय दलको बैठकले मुख्यमन्त्रीसमेत रहेका आचार्यलाई संसदीय दलको नेता चयन गरेको हो ।

पूर्वमुख्यमन्त्री लिला गिरीलाई हटाएर आचार्यलाई दलको नेता चयन गर्ने बेलामा गिरी उपस्थित भएका थिएनन् । आचार्य मुख्यमन्त्री बनेपछि असन्तुष्ट गिरीले गएको ७ साउनमा दलको नेताबाट राजीनामा दिएका थिए । आचार्यलाई संसदीय दलको नेता चयन गरेको बैठकले उपनेतामा रुपन्देहीका भोजप्रसाद श्रेष्ठलाई चयन गरेको छ । श्रेष्ठ एमाले लुम्बिनी प्रदेश कमिटी उपाध्यक्षसमेत हुन् ।

त्यसैगरी बैठकले दलको प्रमुख सचेतकमा रुपन्देहीका तुल्सीप्रसाद चौधरी र सचेतकमा रोल्पाकी यमुना रोका तामाङलाई चयन गरेको छ । यमुना रोका पनि महासचिव पोखरेलनिकट रहेकी छिन् । चौधरी यसअघि पनि प्रमुख सचेतक थिए भने सचेतक रहेकी दाङकी रेखा शर्मालाई हटाएर तामाङलाई चयन गरिएको हो । श्रेष्ठबाहेक सबै महासचिव पोखरेलनिकट रहेका छन् ।

संसदीय दलको बैठकले मुख्यमन्त्रीले ४ गते विश्वासको मत लिन गरेको तयारीका बारेमा पनि छलफल गरेको सांसदहरूले बताएका छन् । ८७ सदस्यीय प्रदेश सभामा एमालेबाट २९ सांसद रहेका छन् । शनिबारको बैठकमा यसअघि दलको नेता रहेका लिला गिरी भने उपस्थित नभएपछि पार्टीभित्रसमस्या रहेको बताइएको छ ।

एमालेका २९ र कांग्रेसका २७ गरी ५६ जनाको समर्थनमा एमाले संसदीय दलका उपनेता आचार्य साउन ७ गते मुख्यमन्त्री नियुक्त भएका थिए । मुख्यमन्त्री आचार्यले मंगलबार विश्वासको मत लिने तयारी गरेका छन् । विश्वासको मत प्रयोजनका लागि प्रदेशसभाको बैठक आहृवान भैसकेको छ ।

विश्वासको मतअघि नै दलको नेता र प्रमुख सचेतकको टुंगो लगाएर दलको तर्फबाट विश्वासको मतका लागि हृवीप जारी गर्नुपर्ने अवस्था रहेकाले एमालेले शनिबार यसको छिनोफानो गरेको हो ।
लुम्बिनीमा पौडेल समूहले पार्टीलाई सहयोग गर्ने तर कुनै पनि जिम्मेवारी नलिने नीति अख्तियार गरेका कारण शनिवार पूर्वमूख्यमन्त्री गिरी उपस्थित नभएको स्रोतको दाबी छ ।

प्रदेश अधिवेशनमा राधाकृष्ण कँडेल र चेतनाथ आचार्यबीच प्रतिस्पर्धा हुँदा आचार्य पराजित भएका थिए । कँडेल पौडेलनिकट हुन भने आचार्य पोखरेलनिकट हुन् । एमाले अध्यक्ष ओलीले लुम्बिनीको विवादमा महासचिव पोखरेललाई च्याप्दा समस्या बल्झिएको हो ।

प्रतिक्रिया दिनुहोस्