काठमाडौं । कांग्रेसनिकट कर्मचारी भनेर चिनिएका टोकराज पाण्डेको गृह मन्त्रालयमा सरुवा भएको छ । नक्कली लाइसेन्स र इम्बोष्ट नम्बर प्लेट प्रकरणमा मुछिएका पाण्डेले प्रमुख जिल्ला अधिकारी हुने चाहानाका साथ गृह मन्त्रालयमा सरुवा मागेर आएका छन् ।
हाल सिन्धुली, अर्घाखाँची र सिन्धुपाल्चोकमा प्रमुख जिल्ला अधिकारी खाली रहेको छ । त्यही ताकेर उनी गृह मन्त्रालय आएका हुन् । भन्सार, यातायात जस्ता मालदार ठाउँमा बसेर अकुत कमाएका सहसचिव पाण्डे आफूलाई निकै इमानदार ठान्छन् । तर नक्कली लाइसेन्स र इम्बोष्ट नम्बर प्लेट भुक्तानीमा जोडिएपछि मुख खोल्न सकेका छैनन ।
यातायात व्यवस्था विभागमा मात्रै रुचि भएका पाण्डे २०७९ भदौ २० देखि २०७९ माघ १४ सम्म यातायात व्यवस्था विभागको महानिर्देशक भएका थिए । उनकै पालामा १ हजार ८४ थान लाइसेन्स अवैध ढंगले जारी भएको तथ्य फेला परेको थियो ।
पाण्डे यातायातको महानिर्देशक हुँदा नवराज ढुंगाना नाम गरेका सेवाग्राहीले ट्रायलमा अनियमितता भएको भन्दै विभागमा निवेदन दिएका थिए । तर, पाण्डेले त्यतिबेला निवेदनमाथि छानबिन आवश्यक ठानेनन ।
उनी २०५५ फागुन १६ गते हुलाकको खरिदारबाट सरकारी सेवामा प्रवेश गरेका थिए । ११ वर्ष गोश्वारा हुलाक कार्यालय काठमाडौंमा खरिदारका रूपमा काम गरेका उनी विशेष बढुवा लिएर २०६६ साउन १ गते हुलाकको नायब सुब्बा (नासु) भएका थिए ।
गोश्वारा हुलाक कार्यालयमा दुई वर्ष नासुकै रूपमा काम गरेपछि उनी नेपाल प्रशासन सेवाको शाखा अधिकृतमा नाम निकाल्न सफल भएका थिए ।
२०६८ भदौ २८ गते शाखा अधिकृतको नियुक्ति लिएका पाण्डे एक वर्षभन्दा बढी समय सामान्य प्रशासन मन्त्रालयमा बसेका थिए । २०६९ कात्तिक २६ गते उनी तत्कालीन भौतिक योजना, निर्माण तथा यातायात व्यवस्था मन्त्रालय सरुवा भएका थिए ।
त्यसपछि यातायात व्यवस्था विभाग हुँदै पाण्डेले यातायात कार्यालय साना–ठुला सवारी एकान्तकुनामा पनि काम गरेका थिए । २०६८ भदौ २० देखि २०७४ साउन १९ सम्म करिब ६ वर्ष शाखा अधिकृत रहेका पाण्डे झन्डै पाँच वर्ष त यातायातमै थिए ।
२०७४ साउनमा उपसचिव भएपछि फेरि उनी यातायातमै सरुवा भएका थिए । पाण्डेले सहसचिव भएपछि मात्र यातायात छाडेका हुन् ।
उपसचिव बनेको एक वर्ष नपुग्दै २०७५ जेठ १३ गते सहसचिवमा नियुक्ति लिएका उनी बाराको कलैया उपमहानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत बनेका थिए । त्यसपछि कलैया गएको तीन महिना नबित्दै पाण्डे काठमाडौं महानगरपालिका आएका थिए । २०७५ भदौ १७ गते काठमाडौं महानगरपालिकामा आएका उनी फागुन २८ गते रजिस्ट्रार भएर सहकारी विभागमा पुगेका थिए ।
अहिले सहकारी क्षेत्रमा देखिएको समस्या उनको पनि हात रहेको जानकारहरुको दावी छ । दुई वर्ष बसेपछि उनी रक्षा मन्त्रालय सरुवा भएका थिए । रक्षामा ६ महिना बसेपछि पाण्डे संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय पुगेका थिए । त्यहाँ एक वर्ष पनि नबसी उनी यातायात व्यवस्था विभागको महानिर्देशक भएर करिब ६ महिना बसेका थिए ।
हाल अर्थबाट गृहमा सरुवा भएका छन् । नक्कली लाइसेन्स प्रकरणमा मुछिएका तीन सहसचिवहरु गोगन हमाल, नारायण भट्टराई पाण्डे गृहमा जम्मा भएका छन् ।