काठमाडौं । नेपाल टेलिकमको नाफा ह्वात्तै घटेको छ । संगीता पहाडी निमित्त प्रबन्ध निर्देशक भएपछि टेलिकम धराशायी बन्दै गइरहँदा नाफा १६.४४ प्रतिशतले घटेको हो ।
गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तिय विवरण अनुसार टेलिकमले ६ अर्ब ६१ करोड खुद नाफा कमाएको छ, जुन अघिल्लो आर्थिक वर्षको झण्डै ८ अर्बको तुलनामा डेढ अर्बले कम हो । टेलिकमको शेयर पनि घटेको छ ।
टेलिकमको ठेक्कापट्टामा पनि पहाडीले अझै चलखेल गर्दै आएकी छिन् । उनले सेटिङमा ठेक्कापट्टा विवादास्पद कम्पनीहरुलाई दिदै आएकी छिन् । प्राविधिक छनोटमा योजनावद्ध तरिकाले एउटा कम्पनी मात्र पार्ने र ठेक्का दिलाउने गतिविधि चलिरहेको छ । उनले यो सबै विगतको कमिशनको खेलको निरन्तरता हो ।
संगीताको पालामा विगतमा थाती रहेको ठेक्काहरु धमाधम कमिशनको खेलमा बाँडिएको छ । यो क्रम निरन्तर चलिरहेको छ । ठेक्कापट्टामा उनका श्रीमान् विश्वबन्धु पहाडीको संलग्नता छ । विभिन्न ठेक्काको कमिशन उठाउने जिम्मा विश्वबन्धुकै हो स्रोतले बताएको छ । सेनाकोक फास्ट ट्रयाकबाट अकूत कमाएका विश्वबन्धु अहिले नेपाल टेलिकमको छायाँ प्रबन्ध निर्देशक छन् ।
संगीताको कार्यकालमा बिलिङलगायतका ठेक्कामा सबैभन्दा ठूलो कमिशनको खेल भएको छ । त्यसका लागि उनले बालुवाटारसँग सेटिङ मिलाउँदै आएकी छिन् । प्रचण्ड प्रधानमन्त्री हुँदा जुन रणनीति बनाएकी थिइन् अहिले ओली प्रधानमन्त्री हुँदा पनि त्यही रणनीति अपनाएकी छिन् ।
उनले बालुवाटारकी भित्रियासँग साँठगाँठ बनाउन मान्छे नै खटाएकी छिन् । तर, उनलाई अख्तियारले छानविनको दायरामा ल्याएपछि बालुवाटारको शक्ति पनि संगीताप्रति नकारात्मक भएको बुझिएको छ । संगिता पहाडी संलग्न भएको विभिन्न ठेक्का र बिलिङमा अख्तियारले छानविन गरी बयान लिएपछि बालुवाटारले पनि चासो लिएको हो ।
यसैगरी एमालेको बिल्ला लागेका डिल्लीराम अधिकारी ११औं तहमा बढुवा सिफारिश भए । डिल्लीरामसँगै मिलेर संगिताले ठेक्का पार्दै आएकी छिन् । डिल्लीराम पनि अख्तियारको छानविनमा छन् । श्रीमतीको नाममा घूस लिएको प्रमाण फेला परेपछि उनी समस्यामा परेका छन् ।
गोकुल बाँस्कोटाले डिल्लीरामलाई महाप्रबन्धक बनाएर उनीमार्फत् टेलिकममा ठूलै चलखेल गरेका थिए । डिल्लीरामले पनि खुबै लाभ लिए र उनले पत्नी इन्दु ढकालको नाममा जापानको ओसन टेक्नोलोजी लिमिटेडले घुसबापत हरेक महिना २ हजार ९२४ डलर लिदै आए । घुसको उक्त रकमको भौचर समेत फेला परेपछि अख्तियारले छानविन बढाएको हो । अधिकारी र ढकालसँग अख्तियारले पटक पटक बयान लिइसकेको छ ।
टेलिकममा विगतमा दिलाइएका ठेक्का र कमिशनको खेलबारे डिल्लीराम खुबै जानकार छन् । उनै डिल्लीरामसँग संगिताको साँठगाँठ देखिएको छ । विगतमा संगिताले विकल पौडेलले एमडी बनाएका सुनिल पौडेलसँग पनि त्यस्तै साँठगाँठ बनाएर काम गरेकी थिइन् । उनी विकलको पालामा भएका अनियमितताको खेलमा पनि संलग्न भएको खुलेको छ । यसबारे पनि छानविन चलिरहेको छ ।