Logo
Logo

प्रतिवादीको होटलमा बैठक बसेर एमालेको सुशासनको गफ


1.6k
Shares

काठमाडौं । गत साउन १७ गते भ्रष्टाचार मुद्दा खेपिरहेका विवादास्पद व्यापारी बिशाल पण्डितको बसेरा होटलमा सत्तारुढ दल नेकपा (एमाले) को सचिवालय बैठक बस्यो ।

बसेरा होटलमा बसेको बैठकमा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीसहित सचिवालय सदस्यहरू सहभागी थिए । होटल मालिक पण्डितविरुद्ध अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरे पनि सरकार अभियोजनकर्ता बादी रहन्छ ।

त्यस्तो पृष्ठभूमि बोकेका पण्डितकै होटल रोज्नुको पछाडि एमालेको के बाध्यता होला ? त्यो बैठकमा नेताहरूको कार्यविभाजन गर्न, सरकारमा गएर एमालेले दिने सुशासन र समृद्धि, समसामयिक राजनीतिक घटनाक्रमलगायतबारे छलफल गरियो । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पार्टीका बैठक नराख्ने घोषणा गरेका ओलीले भ्रष्टाचारका अभियुक्त पण्डितको होटलमा बैठक राखेपछि सुशासनका पक्षधरले जिब्रो काढेका छन् ।

अख्तियारले मेडिकल उपकरण खरिदमा अनियमितता गरेको कसुरमा व्यापारी पण्डितसहित संलग्न कर्मचारीलाई प्रतिवादी बनाएर विशेष अदालतमा दायर गरेको भ्रष्टाचार मुद्दा हाल विचाराधीन छ ।

पण्डितले एमालेको आडमा अख्तियार प्रमुख प्रेम राईसँगको सम्बन्ध देखाएर ठूला ठेक्काको सेटिङमा कर्मचारी मिलाउने गरेका चर्चा समेत विगतदेखि सुनिँदै आएका हुन् । कोशी प्रादेशिक अस्पतालका लागि एचडीयू जडान तथा सञ्चालन गर्ने सामाग्री खरिद गर्ने क्रममा कम कबोल गर्नेलाई ठेक्का नदिई बढी कबोल गर्ने पण्डितको कम्पनीलाई जिम्मा दिँदा भ्रष्टाचार भएको दाबी अख्तियारको छ ।

एचडीयू जडान तथा सञ्चालन सामाग्री खरिद प्रकरणमा मात्र नभै पण्डित कोभिडका बेला समेत मेडिकल सामग्री खरिदका क्रममा विवादमा मुछिएका व्यक्ति हुन् । बसेरा होटलकै कारण सिंहदरबारलाई सुरक्षा चुनौती बढेको भन्दै गृह मन्त्रालयले उक्त होटल भत्काउने निर्णय गरिसकेको छ ।

एचडीयू जडान भ्रष्टाचार प्रकरणमा गत चैतमा बसेरा होटलका मालिक पण्डितसहित प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र विराटनगरका बायोमेडिकल इन्जिनियर कुशल दाहाल, स्वास्थ्य निर्देशनालय धनकुटाका तत्कालीन निर्देशक चन्द्रदेव मेहेता, स्वास्थ्य निर्देशनालय धनकुटाका तत्कालीन लेखा अधिकृत डण्डरसिंह विश्वकर्मा, खोप अधिकृत उदेशकुमार श्रेष्ठ, हस्पिटेक इन्टरनेसनलका बजार व्यवस्थापक मनोजकुमार आचार्यलाई अख्तियारले प्रतिवादी बनाइएको छ । उक्त मुद्दामा प्रतिवादीहरुबाट जनही दुई करोड ८९ लाख रुपैयाँ बिगो, बिगो बमोजिमको जरिवाना र जेल सजायको मागदाबी छ ।

ठेक्कामा कम कबोल गर्नेलाई ठेक्का नदिएर बढी कबोल गर्नेलाई सेटिङमा ठेक्का दिँदा सस्तोमा सामान उपलब्ध गराउने कंपनीले दिने सेवा सुविधाबाट कोशी अस्पताल बञ्चित हुनुपरेको, राज्यलाई हानीनोक्सानी भएको प्रश्न अदालतमा उठिरहेको छ ।

कमिसनको लोभमा विक्रेतालाई समेत बजारमूल्यभन्दा बढी फाइदा पु¥याउने गरी सेटिङमा उपकरण तथा सामग्री खरिद आरोप अख्तियारले लगाएको छ ।

पण्डितको कम्पनी हस्पिटेक इन्टरप्राइजेजले कोशीमा एमालेको सरकारसँग ‘सेटिङ’ का आधारमा ठेक्का पाएको भन्दै उजुरी परेको थियो । मधेश प्रदेशमा अस्पताललाई प्रयोग नहुने स्वास्थ्य सामग्री किनेर अर्बौंको अनियमितता गरेको प्रकरणमा पनि पण्डित मुछिएका थिए । अख्तियार स्रोतका अनुसार यो पाटोबाट अख्तियारमा छानविन हुन अझै बाँकी छ । पण्डितलाई स्वास्थ्य उपकरण खरिदमा ‘सेटिङ मास्टर’ का रूपमा हेरिँदै आएको छ ।

उनै अभियुक्तको होटललाई पार्टी बैंकको थलो बनाएपछि एमालेको शुसासन र समृद्धि हात्तिको देखाउने दाँत बन्न पुगेको छ । ओली आफै सरकारको नेतृत्वमा रहेका बेला बसेरा होटलमा नै किन एमाले वैठक बस्नु परेको हो भनेर एमालेले आजका मितिसम्म स्पष्ट जवाफ दिन सकेको छैन ।

यसलाई केबल एउटा संयोग मात्र रहेको भनेर मान्न सकिँदैन । यसो त झापाको गिरीबन्धु टि स्टेट जग्गा काण्डदेखि यति ओम्नी प्रकरणसम्म अनेक घटना प्रकरणमा एमालेको भ्रष्टाचारीसँग श्रृङखलाबद्ध साइनो सम्बन्ध जोडिँदै आएको छ । न्यूनतम् नैतिकताको समेत ख्याल नगरी भ्रष्टाचारीको होटलमा बसेर सुशासन र समृद्धिको छलफल हुँदा देख्नेलाई लाज हुने अवस्था आएको छ ।

प्रतिक्रिया दिनुहोस्