Logo
Logo

लकडाउनमा व्यापारीद्वारा घरेलु कामदारमाथि पटक पटक बलात्कार


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, २५ बैशाख ।
लकडाउनको समयमा आफ्नो घरमा कार्यरत घरेलु कामदार बलात्कार गरेको अभियोगमा एक व्यापारी पक्राउ परेका छन् । पक्राउ पर्नेमा ४६ वर्षीय भारतीय नागरिक रमाकान्त सरावगी रहेका छन् । महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरी टोलीले उनलाई जैसीदेवलबाट पक्राउ गरेको हो । उनीमाथि बाग्लुङकी १८ वर्षीया एक किशोरीलाई पटकपटक बलात्कार गरेको आरोप छ ।

महानगरीय परिसरका प्रवक्ता एसपी सोमेन्द्रसिंह राठौरले पीडित किशोरीको जाहेरीपछि सरावगीलाई पक्राउ गरेको जानकारी दिए । ‘बलात्कार अभियोगमा एक भारतीय नागरिक पक्राउ परेका छन् । घरेलु कामदारका रूपमा राखिएका एक किशोरीमाथि उनले पटकपटक बलात्कार गरेको अनुसन्धानबाट खुलेको छ । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको छ,’ उनले भने ।

प्रहरीका अनुसार पीडित किशोरीलाई सरावगीले गत फागुनमा घरेलु मजदुरका रूपमा राखेका थिए । जैसीदेवलमा बस्ने उनले किशोरीलाई मासिक आठ हजार रुपैयाँ दिने प्रलोभन दिएका थिए । सरावगी कुकुरका सोखिन थिए । उनले घरमा ६ वटा कुकुर पालेका थिए । तिनै कुकुरको स्याहार गर्न भन्दै उनले किशोरीलाई काममा राखेका थिए ।

किशोरी काठमाडौंमा धर्मदाजुको परिवारसँगै बस्दै आएकी छिन् । घरको आर्थिक अवस्था कमजोर भएकाले उनले सरावगीको प्रस्ताव स्वीकार गरेकी थिइन् । काममा राखेको तीन दिनपछि नै सरावगीले आफूमाथि यौन शोषण सुरु गरेको उनले प्रहरीलाई बयान दिएकी छिन् । आफूमाथि अत्याचार हुँदा पनि सुरुसुरुमा उनले घटना गुपचुप नै राखेकी थिइन् । तर, सरावगी झन्झन् आक्रामक भएर प्रस्तुत हुन थालेपछि किशोरी काम छाडेर आफ्नै कोठामा फर्केकी थिइन् ।

अचानक काम छाडेर उनी फर्केपछि परिवारले उनीसँग सोधपुछ गरेका थिए । उनले काममा लगाउने सरावगीबाट आफू पटकपटक बलात्कार भएको तथ्य खोलेपछि धर्मदाजुका परिवारले प्रहरीमा जाहेरी दिन सुझाब दिएका थिए । त्यसपछि किशोरीले कालीमाटीस्थित महिला सेलमा सरावगीविरुद्ध जोहरी दिएकी थिइन् । त्यसलगत्तै प्रहरीले उनलाई पक्राउ गरेको हो ।

बलात्कार आरोपी सरावगीलाई अहिले काठमाडौं प्रहरी परिसरको हिरासत कक्षमा राखिएको छ । ‘उनले किशोरीलाई पटक–पटक बलात्कार गरेको देखिन्छ । किशोरीको मेडिकल परीक्षण भइसकेको छ । रिपोर्ट पनि पोजेटिभ नै आएको छ । अनुसन्धानलगत्तै अब सरकारी वकिल कार्यालयमा मुद्दा पेस हुनेछ,’ एसपी राठौरले भने ।
लकडाउनको समयमा बलात्कार तथा महिलामाथिको हिंसाको घटना केही कम भएपनि रोकिएका छैनन् ।

प्रतिक्रिया दिनुहोस्