काठमाडौं, २५ बैशाख
बढ्दै गएको साइबर अपराधलाई नियन्त्रण गर्न गठन भएको नेपाल प्रहरीको साइबर ब्यूरो सामाजिक सञ्जालमा हुने गाली गलौच गर्नेलाई पक्राउमा सिमित भएको छ । स्थापनाको एक वर्ष हुँदा पनि ब्यूरोले संगठित किमिसका साइबर अपराधको अनुसन्धानमा एउटै सफलता पाउन सकेको छैन ।
गत वर्ष बैशाखदेखि नेपाल प्रहरीमा साइबर र मानव बेचबिखन अनुसन्धान ब्यूरोका गरी दुई वटा बिशिष्टिकृत ब्यूरोको औपचारिक स्थापना भएको थियो । डिआईजीको कमाण्डमा स्थापना भएको ब्यूरोले उदेश्यअनुसार सफलता पाउन सकेको छैन ।
एक वर्षको अवधिमा ब्यूरोले ४५ वटा मुद्दा दायर गरेको छ । त्यसमध्ये सबैजसो सामाजिक सञ्जालसँग सम्बन्धित छन् । सामाजिक सञ्जालबाट हुने गाली गलौच, चरित्रहत्या, फेसबुक तथा इन्टाग्राम अकाउन्ट ह्याकिङ सम्बन्धि मुद्दा दायर भएका छन् ।
ब्यूरोले १ साउन २०७६ मा पहिलो मुद्दा दायर गरेको थियो । इमोमार्फत गोप्य तस्वीर सार्वजनिक गरेको अपराध ब्यूरोको पहिलो मुद्दा थियो । पछिल्लो पटक ब्यूरोले पूर्व सचिव भिम उपाध्याय तथा पत्रकार दीपक पाठकलाई पक्राउ गरी मुद्दा चलाएको थियो । दुवै जना धरौटीमा छुटेका छन् ।
एक वर्षमा १८ सय उजुरी, धेरै पीडित महिला
एक वर्षको अवधिमा ब्यूरोमा एक हजार ८ सय भन्दा धेरै उजुरी परेका छन् । आर्थिक वर्ष २०७५÷७६ मा तीन सय ५७ वटा उजुरी परेको थियो । यो आर्थिक वर्षमा एक हजार चार सय ६८ वटा उजुरी परेका छन् ।
धेरै जसो उजुरी महिलाका छन् । १ साउनदेखि १५ बैशाखसम्म परेका एक हजार ६८ उजुरीमध्ये ८ सय ३१ जना महिला तथा पाँच सय ९९ जना पुरुष पीडित छन् । ३७ वटा संस्थागत उजुरी परेका छन् ।
पीडित महिला धेरै भएपनि प्रतिवादीहरुको संख्या भने धेरै पुरुष छ । ब्यूरोले यो अवधिमा ४५ मध्ये एक जना महिला छन् । १८ वर्षभन्दा मुनिका पीडितको संख्या ५८ छ ।
उजुरी परेकामध्ये थोरैमा मात्र मुद्दा दर्ता हुने गर्दछ । पक्राउ परेकाmकतिपयलाई सम्झाएर प्रहरीले छाडिदिने गरेको छ ।
लकडाउनमा दैनिक ६ उजुरी
अन्य अवस्थामा भन्दा लकडाउनको अवस्थामा साइबर अपराधसम्बन्धि उजुरी बढेका छन् । ११ चैतदेखि १५ बैशाखसम्मका एक सय ८९ जनाले उजुरी गरेको ब्यूरोले जनाएको छ । जसअनुसार औसतमा दैनिक ६ वटा उजुरी पर्ने गरेका छन् ।
त्यसमध्ये धेरै जसो फेसबुक सम्बन्धि नै छ । एक सय ८२ वटा फेसबुकसम्बन्धि, तीन वटा युट्युव, एउटा इन्स्टाग्राम तथा तीन वटा वेभसाइट ह्याकिङसम्बन्धि उजुरी परेका छन् । फेसबुकमा चत्रिरहत्या गरेको तथा कोरोना भाइरससम्बन्धि गलत सूचना सम्प्रेषण गरेको उजुरी यतीबेला धेरै परेका छन् । लकडाउनको अवस्थामा धेरै जसो उजुरीहरु अनलाइनमार्फत नै पर्ने गरेका छन् ।
ठूला अपराधको अनुसन्धान रहस्यमै
एक वर्षको अवधिमा पनि ब्यूरोले एउटै पनि ठूलो घटनाको अनुसन्धान गर्न सकेको छैन ।
भयनेटका ग्राहकहरुको विवरण एक महिनाअघि ह्याक भएको थियो । त्यो घटनामा ब्यूरोले सफलता पाउन सकेको छैन ।
नेपालमा एटिएम ह्याकिङमा संलग्न चिनियाँ गिरोहलाई गत भदौमा काठमाडौं प्रहरीले पक्राउ गरेको थियो । उनीहरु हाल जेलमा छन् । उनीहरुले कसरी ह्याकिङ गरे भन्ने अहिलेसम्म अनुसन्धान टुंगिएको छैन । उनीहरुले एटिएमको सिष्टम नै ह्याक गरेका थिए ।
अन्य केही वेभसाइड ह्याकिङ तथा साइबर ठगीका घटना पनि महिनौंदेखि अनुसन्धानमा छ ।
प्रहरी प्रवक्ता डिआईजी निरज शाही साइबर सम्बन्धि अपराधको अनुसन्धान अलि जटिल हुने भएकाले समय लाग्ने बताउँछन् । ब्यूरोले साइबर अपराध नियन्त्रणमा सक्रियता बढाइरहेको उनको भनाई छ ।
न ऐन, न नियमावली
संसदमा विचाराधिन रहेको सूचना प्रविधि बिधेयकमा साइबर ब्यूरो स्थापना गर्ने उल्लेख छ । सो बिधेयकमा ब्यूरोका जिम्मेवारीहरु तोकिएको छ । केही विवादास्पद प्रावधानका कारण सो बिधेयक पास हुन सकेको छैन ।
त्यस्तै ब्यूरोको नियमावली समेत पास भइसकेको छैन । नियमावली पास नहुँदा ब्यूरोले आफैं मुद्दा चलाउन समेत पाएको छैन । महानगरीय प्रहरी वृत्त दरबारमार्गमार्फत उसले मुद्दा चलाउँदै आएको छ ।
स्रोत÷ साधन तथा तालिम पर्याप्त नहुँदा पनि ब्यूरोले अपेक्षाकृत काम गर्न नसकेको एक प्रहरी अधिकृत बताउँछन् । ‘यहाँ सरुवा हुन कोही चाहदैनन्,’ ती प्रहरी भन्छन्,‘संगठनले नै ब्यूरोलाइृ बलियो बनाउनेतर्फ ध्यान दिन सकेको छैन ।’ साइबर अपराधको बारेमा जानकारी नै नभएका प्रहरी ब्यूरोमा सरुवा हुने गरेको छ । उनीहरुले केही अनभुव पाइसकेपछि अन्यत्र सरुवा हुने गरेको छ ।
नेपाल अन्तर्राष्ट्रिय ह्याकरको केन्द्र बन्दै गएको तथा साइबर सुरक्षासम्बन्धि ज्ञान कमजोर भएकाले साइबर अपराधको उच्च जोखिममा रहेको ब्यूरोका एक प्रहरी बताउँछन् । ब्यूरोलाई बिशिष्टकृत सेवाका रुपमा सरकारले नै अघि बढाउनुपर्ने प्रहरीहरुको भनाई छ ।