काठमाडौं, २६ बैशाख । एक्शन, द्वन्द्व, मायाप्रेम र हास्यपक्ष मात्र चलचित्रको सबलपक्ष होइन, चलचित्रले समाजमा के सन्देश दिँदैछ भन्ने कुराले महत्व राख्छ । चलचित्र निर्माणका मानवीय वा प्राविधिक पक्षजस्तै निर्माता, निर्देशक, लेखक, पात्र, कथावस्तु, संवाद आदि सबै पक्षमा पुरुष हावी भएको देखिन्छ ।
यस्तो अवस्थामा महिलाप्रधान चलचित्र निर्माण गर्ने वा महिलाका मुद्दालाई न्यायसंगत ढंगले उठाउने सवाल गौण बनेको अवस्थामा निर्देशक बेदप्रसाद भुर्तेलले जातियविभेदको बिषयमा अन्तरजातिय विबाहले समाजमा कस्तो प्रभाव पारिरहेको छ भन्ने बिषयवस्तुमा ‘नदेखिएको जात’ निर्माण गर्दैछन् ।
यतिबेला कोराना भाइरसका कारण विश्व आक्रान्त बनेको छ । र, लकडाउन खुल्नासाथ ‘नदेखिएको जात’को छायाँकन आरम्भ हुने निर्देशक भुर्तेलले जानकारी गराए । उनले चलचित्रमा कार्यकारी निर्माता र कलाकारको रुपमा लिलाबहादुर बम्जन, चन्द्र स्याङतान, विशाल थिङ आदि रहने र राजेश गिरी, श्यामकुमार बन, माधब गिरीको ब्यवस्थापन रहने बताए ।
यसअघि कुर्वान, इन्काउन्टर, सञ्जोग, फेरी भेटौला, अफिसर, बुलेट जस्ता चलचित्र निर्देशन गरिसकेका बेदप्रसाद भुर्तेल भन्छन् ‘ब्यवसायिक हिसाबले मात्र चलचित्र बनाउने नभई चलचित्रकर्मीले समाजमा घटेका विबिध घटनालाई चलचित्रको माध्यमबाट आमरुपमा सकारात्मक सन्देश प्रवाह गर्न सक्नुपर्छ, अनि मात्र उसको कार्य सार्थक बन्न सक्छ ।’
यसो भनिरह“दा आर्थिकपक्ष बलियो बनाउन त ब्यवसायिक चलचित्र बनाउनुपर्ने हुन्छ । समाजभित्र लुकेर रहेका साना, ठूला घटनालाई अध्ययन गरि नाफामूलक चलचित्र पनि बनाउन सकिन्छ । तर, जुनसुकै बिषय उठान गरिएको भएपनि सन्देशमुलक हुनुपर्ने उनको भनाइ छ ।